फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

अदालतको आदेशपछि खुल्यो उपकुलपतिको कार्यकक्ष


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, माघ ६, २०८०

  • इनरुवा (सुनसरी), ६ माघ : सुनसरीको धरान उपमहानगरपालिकामा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गरेको तालाबन्दी उच्च अदालत विराटनगरको आदेशपछि खुलेको छ ।

    उच्च अदालतले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हडताल, तालाबन्दी नगर्न÷नगराउन आदेश जारी गरेपछि उपकुलपतिको कार्यकक्षमा गरेको तालाबन्दी शुक्रबार खुलेको हो । उपकुलपतिको कार्यकक्षमा नगरप्रमुख साम्पाङले तालाबन्दी गरेपछि परेको रिटमाथि सुनवाइ गर्दै उच्च अदालतले कारण देखाऊसहित आदेश जारी गरेपछि ताला खुलेको हो ।

    अदालतको आदेशपछि नगरप्रमुख साम्पाङले ताला खोल्न सचिवालयका कर्मचारी सुदर्शन लिम्बूलाई पठाउनुभएको थियो । रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरी र धरानका नगरप्रमुख साम्पाङसहित नौ विपक्षीका नाममा अदालतले अन्तरिम आदेशसहित कारण देखाऊ आदेश जारी गरेको हो ।

    सञ्जीवकुमार साहद्वारा उत्प्रेषणयुक्त परमादेश माग गर्दै दायर रिटमा जिल्ला प्रशासन कार्यालय सुनसरीसमेत नौ विपक्षीविरुद्ध उच्च अदालतका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट