फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, माघ २२, २०८०

  • चैनपुर (बझाङ), २२ माघ : आकाशतिर नजर लगाउन थालेको तीन महिना भइसक्यो । मडारिएको बादल देख्यो कि कञ्चनाको अनुहार उज्यालो भइहाल्छ । फेरि एकछिनमै आकाशे बादल हराउँछ, कञ्चनामाथि बादल मडारिन्छ । यो क्रम दुई सातायता लगातार चलिरहेको छ ।

    आइतबार बिहान पनि त्यस्तै भयो । झिसमिसेमै उठेर आकाश हेर्दा “आज त पक्का हिउँ आउँछ”, भनेर विश्वस्त भएको एक घण्टा नबित्दै आकाश खुलेर आयो । बादलले कञ्चनालाई पटक–पटक झेली गरिरहेको छ । “बिहानै उठ्दा पानी पर्ला–पर्ला जस्तो हुने मौसम देखिन्छ । दिउँसो फेरि घाम लाग्छ । आजभोलि त प्रकृतिले जिस्काएजस्तै लाग्न थालेको छ”, उहाँ भन्नुहुन्छ ।

    प्रकृतिले आफ्नो आहारा खोसेको कञ्चनाको ठम्याई छ । उहाँ भन्नुहुन्छ, “बारीको उब्जनीले तीन महिना पनि खान पुग्दैन । हिउँदे सिजनमा त झनै सुख्खा हुन्छ । चरम गरिबीको पीडाको भागेदार हुनुपरेको छ ।” कञ्चना आफू गरिब हुनुको दोष प्रकृतिलाई दिनुहुन्छ । “मागेरै खानुपर्ने, श्रमको मूल्य नपाइने, बारीबाट लाभ लिन नसक्नुमा सबै दोषी हाम्रा लागि प्रकृति भएको छ ।” भूकम्पको क्षतिले गर्दा यस वर्ष बढी संकट आइलागेको उहाँले बताउनुभयो ।
    कञ्चनाको परिवारले हिउँको पर्खाइमा बस्दा बस्दै स्वास्थ्य समस्या पनि झेल्नु परेको छ । तीन वर्षमा लगातार तीन सन्तान जन्मिएपछि खानपानको कमीले बालबालिका कुपोषणका सिकार भएका छन् । “यिनीहरू बिरामी परिरहन्छन्”, आफ्ना बालबालिका देखाउँदै उहाँले भन्नुभयो, “अस्पताल जाँदा डाक्टरले भिटामिनको कमी, हरियो सागपातको कमी, खानपानमा ध्यान दिनु भन्नुहुन्छ । यता खडेरीले हरियो पात देखिने अवस्था नै छैन । लगाएको तरकारी पनि दुई दिन टिक्दैन, सुकिहाल्छ ।”

    सात सदस्यीय कञ्चनाको परिवारले चरम गरिबी भोगिरहेको छ । भूकम्पले भत्काउन नसकेको, तेस्रो पारेको घरमै बस्नुपरेको छ । श्रीमान् खडक कठायतले भारतमा मजदुरी गरेर पठाएको पैसाले ‘पु¥याएर’ खाना खाइरहेको उहाँले बताउनुभयो ।

    द्वारीमा चार सय परिवारको बसोबास छ । दोघरी (दुई घर भएका), तेघरी (तीन घर भएका) भएका गरिखाने परिवार सबै खडेरीकै मारमा परेका छन् । “जीवनकालभर यो पछिल्लो दशकको जस्तो सङ्कट कहिल्यै भएन”, ७२ वर्षीय जोगगिरी कडायतले भन्नुभयो, “बर्खेबाली अलिकति हुन्छ । हिउँदभरि भोकमरी हुन्छ । समयमै पानी, हिमपात परेको भए सिस्नो पनि पलाउथ्यो । त्यसले पनि केही दिन त गुजारा हुन्थ्यो । पहिलेपहिले त्यस्तै गथ्र्यौँ ।”

    जोगगिरीलाई गाउँलेको भोक मेट्ने काम नगरेकोमा सरकारप्रति गुनासो छैन । उहाँको गुनासो त प्रकृतिले सम्पूर्ण प्राणीजगतको हत्या गर्न लागेकोप्रति छ । “हाम्रो द्वारीमा पर्याप्त खानलाई अन्न उत्पादन त कहिल्यै भएन । तर, यस्तो भोकमरीको अवस्था पनि कहिल्यै हुँदैन थियो । बेसिजनमा कन्दमुलको बन्दोबस्दो पनि हुन्थ्यो । अहिले रूणा (पानी नपर्नु) परेर त्यो पनि छैन ।” उहाँले भन्नुभयो ।

    केदारस्यूँ गाउँपालिका–६ त्याँडीगाउँकी बाटुली बोहरालाई भामचौरमा ९ गजौन (फिट) हिउँ पर्छ भन्ने कथन सम्झनामा ताजै छ । ८५ वसन्त पार गर्नुभएकी बाटुली आफ्नो बाल्यकालमा भामचौर लेकमा सेताम्य हुने गरेको सम्झनुहुन्छ । “त्यो बेलामा भामचौरमा वन्यजन्तुसमेत बस्न सक्दैनथे । बाक्लो हिमपातले गर्दा गाउँ गाउँमा वन्यजन्तुको बासस्थान हुन्थ्यो । अहिले कता गयो हिउँ !” उहाँ भन्नुहुन्छ ।

    बाटुलीका अनुसार अहिले भामचौर लेकले समेत हिउँ देख्न पाएको छैन । करिब दुई हजार पाँच सय मिटर अग्लो ठाउँमा रहेको भामचौरमा अहिले लेकाली बस्ती छ । “बुवाको पालामा लेकको माथितिर गर्मीको बेला सिकारीहरू मात्रै जान्थे । हिउँदमा कोही जान नसकेर लेक आफ्नै गतिमा हुन्थ्यो । अहिले त्यहाँ हिउँ देख्न वर्षौं कुर्नुपर्छ ।” उहाँले भन्नुभयो । बाटुलीको सम्झनाअनुसार करिब चार दशक यता गाउँमा बाक्लो हिमपात भएको छैन । “हिउँ परे पनि थोरै पर्ने र जमिन नभिज्दै बिलाउने गर्छ,” उहाँले भन्नुभयो, “बाली सुकेर भोकमरीको अवस्था सिर्जना भइसक्यो ।”

    त्याडीगाउँका ४२ परिवार नै खाद्य संकटमा परेको सोही ठाउँकी दिक्षा बोहराले बताउनुभयो । दिक्षाका अनुसार कुल्याउन मिल्ने (सिँचाई लाग्ने) खेतबाहेक भुवाँ (भिरालो खेतीयोग्य जमिन) को बाली सबै सुकिसक्यो ।

    हिमाली क्षेत्रमा हिउँ नपर्दाको प्रत्यक्ष घाटा सबै प्राणीलाई भएको छ । “बालीनाली मात्रै होइन, माटोमा समेत आगो लगाए बल्ने अवस्था भइसक्यो,” सुर्मा गाउँपालिका–४ का पूर्णबहादुर बोहराले भन्नुभयो, “यो बेलामा त गाउँमा हिमपातले बाहिर आउन नसकिने अवस्था हुन्थ्यो । बालीनाली सप्रन्थ्यो, बोटबिरूवाले प्रर्याप्त पानी पाउँथे । अहिले जताततै खडेरी छ । माटोमा पनि आगलागी होला कि जस्तो भइसक्यो ।”

    बोहराका अनुसार सुर्माको जमिन माघ–फागुनमा हरियाली हुन्थ्यो । “यो समयमा फलफूल तथा बालीनाली मुस्कुराइरहेको देखिन्थ्यो । तर, मध्यमाघ पुग्दा पनि जताततै सुकिल्याउट (सुख्खा) देखिन्छ ।” विगतमा स्थानीय उत्पादन चार महिनालाई पुग्ने भए पनि यस वर्ष भने महिना दिनसमेत नपुग्ने उहाँले बताउनुभयो ।

    मङ्सिरमा छरेको गहुँ माघको मध्यतिर पनि नउठेपछि पालिकाबासी नै भोकमरीको संकटमा परेका छन् । “पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । खेतबारी नै हरियाली हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “केही वर्षयता उत्पादनमा निकै ह्रास आइरहेको छ । गहुँमय हुने खेत गहराहरू धुलाम्य छन् । तोरी पनि रहरलाग्दो हुन्थ्यो । पोर–परार यता भने दशा (दुःख) लाइगया ।”

    साइपाल गाउँपालिकाको आयस्रोत यार्सागुम्बा जडिबुटी नै हो । अन्नबाली एक महिनालाई पनि नपुग्ने साइपालबासीको जिविकोपार्जन यार्साबाटै हुन्छ । तर, केही वर्षयता यार्सा उत्पादनमा कमी आउँदा अर्थतन्त्र डामाडोल भएको गाउँपालिकाका अध्यक्ष मानबिर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सिजनमा एकै जनाले संकलन गरेको यार्साबाट वर्षभरिलाई खान पुग्थ्यो । तर, अहिले परिवारका सबै सदस्य यार्सा टिप्न गए पनि वर्षभरि खान पुगनपुग हुन्छ ।”

    समयमा हिमपात नहुँदा बाह्रैमास सेताम्य भइरहने साइपालका डाँडाकाँडा कालापहाड भएको उहाँले बताउनुभयो । “पुसको महिना हिमपात भएमा चैतदेखि नै यार्सा उम्रन थाल्छ,” अध्यक्ष बोहराले भन्नुभयो, “जटामसी, वन प्याज, सेतकचिनीजस्ता जडिबुटी पनि समयमै हिमपात नभए धेरै कम पाइन्छ ।” फागुनको महिना हिमपात भए जडिबुटी संकलन गर्न जानेलाई पनि वनहरू जोखिममा हुुने गरेको उहाँले बताउनुभयो । “पुसमै परेको हिउँ चैतसम्म बिलाउँछ । वन जानेलाई पनि सजिलो हुन्छ । तर, फागुनमा हिउँ परेमा चैतको महिना वन जानेलाई जोखिम हुन्छ । हिउँ बिलाएको हुँदैन, तलतिर हिउँ निकाल्दै जडिबुटी खोज्दा माथिबाट हिमपहिरो आएर पुर्ने सम्भावना बढी हुन्छ ।” साइपालमा हिमपहिरोमा परी दर्जनौँ मानवीय घटना भएको उहाँले बताउनुभयो ।

    थलारा गाउँपालिकामा खडेरीले किसान निकै चिन्तित छन् । खाद्यबालीको उत्पादनमा कमी आएको भन्दै नगदेबाली सुरू गरेको कृषकलाई अहिले निल्नु न ओकल्नु भएको छ । थलारा गाउँपालिका–८ का यज्ञराज जोशी भन्नुहुन्छ, “धान, गहुँ फल्नै छाड्यो भनेर जग्गाभरि फलफूल रोप्यौँ । अहिले परिणाम दिनुपर्ने बेला पानी नपाएरै बगैचामा बोट सुक्न थाले ।” जिवित बोटमा विभिन्न रोग लागेर ओइलाउन थालेको उहाँले बताउनुभयो ।

    गाउँघरमा अधिकांशको जमिन वन्यजन्तुले नोक्सान गर्ने तथा हिउँदे पानी नपर्ने भएपछि बाँझो बढ्दै गएको छ । जोशीले भन्नुभयो, “हिउँ पर्न छोड्यो, वन्यजन्तुले उस्तै नोक्सान । त्यसैले बाँझो जमिन बढ्या बढ्यै छ ।” उहाँका अनुसार गाउँमा ९० परिवारको करिब पाँच सय रोपनी जमिनमा हिउँदे खेती हुन छाडिसक्यो ।

    केही वर्षयता समयमा पानी नपर्ने, लामो समय खडेरी पर्ने, जमिन भिज्नेगरी हिउँ नपर्ने हुँदा बालीनालीमा समेत रोग लाग्ने गरेको जोशीको अनुभव छ । उहाँ भन्नुहुन्छ, “जुनसुकै खेती गरे पनि रातो कमिला, धिउरा (धमिरा), खुर्मुलाजस्ता किराले बालिनाली सखाप पार्ने गरेका छन् ।”

    मौसम परिवर्तनले बालीनालीको उत्पादनमा ह्रास आउने र खाने मुखहरू बढ्दै जाँदा भोकमरीको जोखिम बढेको पालिकाको बुझाई छ । थलारा गाउँपालिका कृषि शाखा प्रमुख प्रदीप नेपाली पालिकाभरको बाँझो जमिन सदुपयोग गर्न निःशुल्क फलफूलका विरुवा वितरण गरेको तर मौसम परिवर्तनकै समस्याले हुर्कन नपाएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गत वर्ष मात्रै ९ वटै वडामा पालिकाले ८ हजार विरुवा निःशुल्क वितरण गरेको थियो । त्योमध्ये ४० प्रतिशत पनि हुर्केका छैनन् ।”

    उहाँका अनुसार केही कृषकको लापरबाही भए पनि समयमा सिचाँई नहुँदा विरुवाहरू सुकेका देखिए । “बगैचा अनुगमनमा जाँदा फलफूलका विरुवा पानी नपाई सुकेका देख्यौँ । फल्ने बोटहरू पनि पानी नपाएर सुक्न थालेका छन् ।” उहाँले भन्नुभयो । थलारालाई सुन्तला खेतीको केन्द्र बनाउने भनेर तयारी गर्दा कहिले मौसम त कहिले कृषकको लापरबाहीले गर्दा उत्पादनमा कमी भइरहेको उहाँले बताउनुभयो ।

    नेपालीका अनुसार थलाराबाट गत वर्ष ८० क्विन्टल बराबरको सुन्तला बाहिर गएको थियो भने यो वर्षमा ५० क्विन्टलको हाराहारीमा मात्रै उत्पादन भएको छ । मौसमले उत्पादनमा पनि समस्या भएको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट