फ्रन्टलाईन नेपाल शनिबार, साउन १२, २०८१

लोकगायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मान


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ २८, २०८१

  • काठमाडौँ — लोकगायक कुमार बस्नेतलाई दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) बाट सम्मान गरिने भएको छ । दरबार रोधी क्लबको १६ औं वार्षिकोत्सवको अवसरमा गायक बस्नेतलाई जेठ ३२ मा कार्यक्रम आयोजना गर्दै सम्मान गर्ने भएको हो । 

    ‘छोरीभन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’जस्ता चर्चित लोकगीत गाएका ८१ वर्षीया बस्नेतले समाजका विकृति, विसंगति, कुसंस्कारलाई लोकगीतमार्फत प्रस्तुत गर्दै आइरहेकाले सम्मान गर्ने भएको क्लबका अध्यक्ष अशोक गिरीले बताए ।

    बस्नेतलगायत लोकदोहोरी क्षेत्रका अन्य गायक बद्री पंगेनी, सुनिता दुलाल र कृष्ण आँशुलाई पनि विशेष सम्मान प्रदान गरिने बताइएको छ ।

    पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ प्रमुख अतिथि र चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विशेष अतिथिका रुपमा सम्मान कार्यक्रममा सहभागी हुने बताइएको छ । दोहोरी साँझ नै लोकदोहोरी कलाकारको पहिलो खुड्किलो हुने हुँदा क्लबले लोकगीत गायक/गायिकालाई सम्मान गर्ने भएको अध्यक्ष गिरी बताउँछन् ।

    हरेक वर्ष आफ्नो वार्षिकोत्सवका अवसरमा सर्जकलाई सम्मान गर्दै आएको रोधीले यसपटकबाट कलाका क्षेत्रमा कलम चलाउने पाँच जना पत्रकारलाई समेत दरबार रोधी पत्रकारिता पुरुस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो । पत्रकारहरु विष्णु शर्मा, अन्वेषण अधिकारी, सुशिल नेपाल, नरेन्द्र रौले र आयशा दाहाललाई समेत पुरस्कृत गर्ने निर्णय क्लबले गरेको छ ।

    ‘दोहोरी साँझ लोकदोहोरी कलाकारको करिअरको पहिलो खुड्किलो हो, लोकदोहोरी संगीतको पहिलो पाठशाला र रियाज गर्ने थलो पनि हो । हामीले हाम्रो वार्षिकोत्सवलाई लोकदोहोरी संगीतको उत्सवका रुपमा मनाउने निर्णय गरेका छौं । त्यही अवसरमा संगीत र पत्रकारितामार्फत लोकदोहोरी क्षेत्रमा योगदान पुर्‍याउनेलाई सम्मान गर्ने निर्णय गरेका हौं,’ दरबार रोधी क्लबका अध्यक्ष गिरीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट