कैफियत देखिएका २० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ६, २०८१

  • सुदूरपश्चिम, ६ साउन : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीले २० वटा व्यापारिक फर्मविरुद्ध मुद्दा दायर गरेको छ । कार्यालयले कैफियत देखिएका खाद्यपदार्थका नमूनाको अनुसन्धान प्रक्रिया पूरा गरी खाद्य ऐन तथा दाना ऐन बमोजिम कारबाही गर्न जिल्ला प्रशासन कार्यालय कैलालीमा नौ, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा सात, जिल्ला अदालत कैलालीमा तीन र जिल्ला अदालत कञ्चनपुरमा एक गरी २० वटा व्यापारिक फर्ममाथि मुद्दा दायर गरेको जनाएको छ ।

    यसबाहेक थप १९ उद्योगी व्यवसायीसँग बयान लिने काम भइरहेको कार्यालयले जनाएको छ । खाद्यपदार्थको स्वच्छता र गुणस्तर नियमन गर्नका लागि कार्यालयले गत वर्ष खाद्यबजार तथा रेस्टुरेण्ट अनुगमन गर्ने क्रममा कैफियत देखिएका रु १५ लाख ८७ हजार आठ सय नौ मूल्य बराबरका सामान जफत गरी नष्ट गरिएको कार्यालय प्रमुख हरेराम प्रधानले जानकारी दिनुभयो ।

    कार्यालयले आज यहाँ आयोजना गरेको प्रगति समीक्षा गोष्ठीमा उहाँले गत वर्ष कार्यालयले गरेको गतिविधिले खाद्यवस्तुको स्वच्छता एवं गुणस्तर कायम गर्न टेवा पुगेको बताउनुभयो । कार्यालय प्रमुख प्रधानले गत वर्ष तीन सय ४९ वटा खाद्य तथा दाना उद्योगको दर्ता सिफारिस, अनुज्ञापत्र जारी तथा नवीकरण गरिएको जानकारीसमेत दिनुभयो । कार्यालयले खाद्य स्वच्छता एवं गुणस्तर कायम गर्न खाद्य ऐन तथा दाना ऐनअनुरूप उद्योग, बजार तथा होटेल रेस्टुरेण्ट अनुगमन गर्ने क्रममा शङ्कास्पद नमूना सङ्कलन गरी कारबाही प्रक्रियाअघि बढाउँदै आएको छ ।

    खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले अनुगमन निरीक्षणका लागि साधनस्रोत अभाव तथा प्रयोगशाला व्यवस्थापनका लागि स्थान अभावले उपलब्ध उपकरण प्रयोगमा ल्याउन नसकिएल थप कार्य गर्न कठिनाइ भएको बताउनुभयो । सुदूरपश्चिम प्रदेश कार्यक्षेत्र रहेको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलाली मातहतमा डडेल्धुरा, डोटी र बैतडीमा डिभिजन कार्यालय सञ्चालनमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट