आलोचकहरुलाई मात्रै हो सरकारको काम मन नपरेको : प्रधानमन्त्री ओली


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन २३, २०७५

  • काठमाडौं , फागुन २३ ।  काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम आलोचकलाईमात्रै मन नपरेको टिप्पणी गरेका छन् । पार्टीका नेता एवम् पूर्व उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारी, मन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जली सभामा उनले भने, “मन्त्री रवीन्द्र अधिकारीले एकवर्षे कार्यकालमा बिर्सनै नसकिने र उपेक्षा गर्न नसकिने गरी काम गरेका छन् ।”

    संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री रहेका अधिकारीले विषयगत क्षेत्रमा उल्लेख्य काम गरेको प्रधानमन्त्रीले चर्चा गरेका हुन् । “केही मानिसलाई सरकारका काममा आलोचना, टिप्पणीमात्रै गर्ने बानी परेको छ,” प्रधानमन्त्री ओलीको दाबी थियो, “तर रवीन्द्र अधिकारीले पनि आफ्नो क्षेत्रमा असाधारण काम गर्नुभएको थियो ।”

    बुधबारमात्रै अस्पताल भर्ना भएका प्रधानमन्त्रीले सभामा सङ्क्षिप्त मन्तव्य राख्दै हेलिकोप्टर दुर्घटनामा दिवंगत सातै जनाले मुलुकको लोकतन्त्र, राजनीतिक स्थायित्वका लागि अहम् भूमिका खेलेको चर्चा गरेका थिए ।

    पर्यटन व्यवसायीले त छोटै समयमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै मुलुकको सिंगो आर्थिक क्षेत्रले सदैव सम्झिइरहने बताए । पूर्वअर्थमन्त्री अधिकारीको यही फागुन १८ गते निधन भएको थियो भने मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको यही फागुन १५ गते ताप्लेजुङको दारेढुंगामा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार