थामे बाढी र प्रभावित क्षेत्रको अध्ययन गर्न प्राविधिक टोली पठाइने


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ५, २०८१

  • काठमाडौँ, ५ भदौ : सरकारले हिमताल फुटेर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को थामे खोलामा आएको बाढी र क्षतिग्रस्त बस्ती क्षेत्रको विस्तृत अध्ययन गर्ने भएको छ । आज राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रभावित क्षेत्रको विस्तृत अध्ययनका लागि विज्ञसहितको प्राविधिक टोली पठाउने तयारी भइरहेको जनाएको हो ।

    प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अध्ययन टोलीले घटनाको कारणसहित बाढीग्रस्त क्षेत्रमा बस्न मिल्ने हो वा बस्ती अन्तै सार्नु पर्ने हो भन्नेबारे पनि अध्ययन गर्ने जानकारी दिनुभयो । यही साउन ३२ गते आएको गेग्य्रान र ठूला ढुङ्गासहितको बाढीले थामेमा ठूलो क्षति भएको थियो । थामेका २४ घरसहित स्कुल, क्लिनिकलगायत बस्तीमा क्षति पुगेको थियो ।

    बाढीलगत्तै रक्षामन्त्री मानवीर राई नेतृत्वमा विज्ञसहितको टोलीले मुहान क्षेत्रमा हवाई निरीक्षण गरी प्रारम्भिक जानकारी लिएको थियो । प्रारम्भिक निरीक्षणमा सहभागी पोखरेलले जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि भई ग्लेसियर र पर्माफ्रोस्ट पग्लिएर हिमताल फुटेको जानकारी दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट