काठमाडौं , फागुन २३ । काठमाडौँ –रक्तदान कार्यक्रममार्फत संकलन गरिएको रगतमा एचआईभी र भिरिङ्गीलगायतका रोगका जीवाणु भेटिएका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सार्वजनिक गरेको राष्ट्रिय ‘हमोभिजिलेन्स’(रक्तसुपरिवेक्षण) नामक प्रतिवेदन-२०१८ ले संकलन भएको रगतमा एचआईभी र भिरिङ्गीलगायतका रोगको जीवाणु भेटिएको देखाएको हो। सुरक्षित रगत संकलन, भण्डारण, परीक्षणलगायत बिरामीले प्राप्त गर्ने अवस्थालाई ‘हेमोभिलिजेन्स’भनिन्छ।
प्रयोगशालले दुईवटा सरकारी अस्पताल र दुईवटा निजि अस्पताल गरी चारवटा अस्पताललाई छनोट गरेको थियो। छनोटमा पर्ने अस्पतालहरुमा सरकारीतर्फ परोपकार प्रसूतिगृह र सहिद गंगालाल हृदय केन्द्र छन् भने निजीतर्फ ओम अस्पताल र नेसनल क्यान्सर अस्पताल रहेको छ। तर ती चार अस्पतालमध्ये परोपकार प्रसुति गृह र नेसनल क्यान्सर अस्पतालले मात्र तथ्याकं बुझाएका थिए।
ती दुई अस्पतालबाट एक हजार दुई सय रगतको नमुना परीक्षणको अध्ययन गरिएको थियो। जसमध्ये १२ वटा नमुना शंकास्पद देखिएको थियो। प्रयोगशालाअन्तगर्तको रक्तसञ्चार शाखाले २०१७ देखि ‘हमोभिजिलेन्स’ कार्यक्रम सुरु गरेको हो।
शंकास्पद नमुनामा पुन परिक्षण गर्दा १० वटा नमुनामा चिलाउने, ज्वरोलगायतको समस्या देखिएको थियो भने दुईवटा नमुनामा एचआईभी र भिरिङ्गीजस्ता रगतजन्य सरुवा रोग भेटिएको ब्यूरोकी प्रमुख डा. रेखा मानन्धर बताउँछिन्।
त्यसैगरी जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा हरिशचन्द्र उप्रेतीले रगत संकलनदेखि विरामीलाई नचडाएसम्म कस्तो रगत छ ? कसरी दिने सबै कुरामा ध्यान दिनुपर्ने बताए। वार्षिक कति रगत संकलन हुन्छ, कुन प्रकारको रगत संकलन हुन्छ कति खपत हुन्छ त्यसको सम्पुर्ण विवरणको तथ्यांक सबै अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउनुपर्ने प्रावधान छ। तर अहिलेसम्म दुई अस्पताल बाहेक कुनैले पनि तथ्यांकहरु नपठाएको प्रयोगशालका निर्देशक डा उप्रेतीले बताए।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी पूर्व निर्देशक डा गीता शाक्यले रगत संकलन गर्ने बढी खपत हुने अस्पतालले यस्तो कुरामा ध्यान दिनुपर्ने बताइन्। उनले भनिन्, “रगत लिँदा र दिँदा लापरबाही गर्नुहुदैन्।
रगतको तत्व बिरामीका शरीरमा नमिलेमा अकालमै मृत्युसमेत हुने रक्तसंचार विज्ञ डा विपिन नेपाल बताउँछन्।
“रगतमा कहिल्यै लापरबाही गनुहुँदैन्। रगतको गुणस्तर डोनरबाट लिएदेखि बिरामीलाई नचडाएसम्म दायित्व ब्लड बैंक, चिकित्सक, अस्पताल, ब्लड बैंक प्राविधिकलगायतको जिम्मेवारी हुने हुन्छ”, उनले भने, “रगत लिँदा र बिरामीलाई दिँदाको कस्ता-कस्ता समस्या आउँछन् त्यसमा धेरैलाई थाहा हुँदैन्। जसले गर्दा गुणस्तरहीन रगतको प्रयोग बढीरहेको छ।” रक्तसंचार केन्द्र प्रत्येक अस्पताल भित्र हुनुपर्दछ। तर केही अस्पतालले मात्र रक्त संचार केन्द्र स्थापना गरेको उनले जानकारी दिएका छन्।