
काठमाडौँ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा फोटो सर्कलको आयोजनामा “नदीनाला कसका हुन् ?” शिर्षकमा फोटो प्रदर्शनी चलिरहेको छ । शुक्रवारदेखि सुरु भएको उक्त प्रदर्शनी पुस ७ सम्म चल्नेछ ।
विकास निर्माणका कार्यको प्रचलित भाष्यले नदीनाला, वनजंगल र जमिनको कुन हदसम्म दोहन र क्षय भएको छ भन्नेबारेमा पुनर्विचार गर्नुपर्ने अवस्था आईसकेको जनाउ दिदै यस विषयमा ध्यानाकर्षण गराउन खोजेको छ ।
प्रदर्शनीमा गोदावरी विकासको कथा, त्यहाँ मार्बल उत्खनन् गर्न सिङ्गो डाँडा नै ओगटिएका डाँडाकाँडा कसका हुन् ? मुक्कुमलुङमा विकासको कथा के हो ? त्यहाँ नयाँ केबल कार परियोजना निर्माणका लागि फाँडेर सर्वनाश पारिएको जंगल जोगाउन स्थानीयबासीहरु अझै लडिरहेका छन् । यो वन कसको हो ? जोगीदहमा विकासको कथा के हो ?
पछिल्लो ३० वर्षदेखि यहाँका राजनीतिक दलका नेताहरुले आफ्ना मतदातालाई नयाँ एअरपोर्ट बनाईदिने वाचा गर्दै आए पनि त्यसका लागि १५६ हेक्टर जंगलका रूखविरुवा फडानी गरेर आएको काठपात बेच्ने बाहेक अरु केही गरेका छैनन् । ती रुखबिरुवा कसका हुन् ? सुनकोशीमा विकासको कथा के हो ? यस नदीलाई सिंचाई र जलविद्युतका लागि बाँध लगाउने र अन्तै डो¥याउने काम मात्रै भएको छ । यो नदी कसको हो ? लगायत प्रश्नका जवाफ फोटोमार्फत अघि सारेको आयोजकले जनाएका छन् ।
प्रर्दशनीमा अमन शाही, अमित मचामसी, दीपा श्रेष्ठ, किशोर महर्जन, सारा दुनिय कोइव, प्रियंका तुलाचन, समग्र शाह, सुण्डुप दोर्जे लामा, संजय अधिकारी र श्रीना नेपालका फोटो र मल्टिमिडिया सामग्री प्रर्दशनीमा राखिएको छ ।
