राष्ट्रिय फुटबल टिममा पाँच खेलाडीले गरे डेब्यू …


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र ८, २०७५

  • चैत ८ , काठमाडौं । कुवेतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालका पाँच खेलाडीले राष्ट्रिय टिममा डेब्यू गरेका छन्।

    बिहीबार राति कुवेतमा भएको खेलमा पाँच खेलाडीलाई प्रशिक्षक योहान कालिनले डेब्यू गराएका हुन्। जसमा अजित भण्डारी, रवि पासवान, विमल राना, सन्तोष तामाङ र सुरज विक रहेका छन्।

    अजित भण्डारीले पहिलो रोजाइमै रहेर डेब्यू गरेका छन्। रविले सुमन लामाको स्थानमा ६१ मिनेटमा मैदान छिरेर देशका लागि पहिलो खेल खेले। यस्तै विमल नवयुग श्रेष्ठको स्थानमा ७४ मिनेटमा मैदान छिरेका थिए। सन्तोष तामाङ ८० मिनेटमा मैदान छिरेर डेब्यू गरे। उनी भरत खवासको स्थानमा मैदान प्रवेश गरेका थिए। सुजर विक ८२ मिनेटमा अजित भण्डारीलाई प्रतिस्थापन गर्दै डेब्यू गरेका थिए।

    खेलमा नेपालले गोलरहित बराबरी खेलेको थियो। नेपालका लागि गोलकिपर किरणकुमार लिम्बुले उत्कृष्ट खेल पस्केका थिए। यस्तै कुवेतले दोस्रो हाफमा पाएको पेनाल्टी सदुपयोग गर्न असफल भएको थियो।

    मलेशियासँगको मैत्रीपूर्ण खेल स्थगित भएसँगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको थियो।  नेपाली टोलीले आगामी मङ्गलबार दोस्रो खेल खेल्नेछ। फिफा बरियतामा कुवेत नेपालभन्दा तीन स्थान मात्र माथि छ  नेपाल १६१ स्थानमा रहँदा कुवेत १५८औँ स्थानमा रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार