चैत १० , काठमाडौं । चार पटकको विश्व विजेता टोली इटालीले युरो कप छनोटको पहिलो खेलमा जित हात पारेको छ । शनिबार राति भएको खेलमा इटालीले फिनल्याण्डलाई २–० गोलले पराजित गरेको हो ।
इटालीका लागि खेलको सातौं मिनेटमा निकोलो बरेलाले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको इटालीका लागि मोइज किनले खेलको ७४ औ मिनेटमा गोल गर्दै जित पक्का गरे । त्यस्तै शनिबार राति नै भएको अर्काे खेलमा स्पेनले नर्वेलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
स्पेनका लागि रोड्रिगोले खेलको १६ औँ मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोल भएको खेलमा नर्वेका लागि यहोशु किंगले खेलको ६५ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।
एक गोलले अग्रता बनाएको स्पेनका सर्जियो रामोस खेलको ७१ औँ मिनेटमा गोल गर्दै स्पेनलाई जित दिलाए ।
एजेन्सी ।