लगातार ४५ दिनसम्म पब्जी खेलेपछि युवकको मृत्यु !


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १०, २०७५

  • चैत १० , काठमाडौं ।  पछिल्लो समय पब्जी खेल मोबाइल प्रयोगकर्तामा यतिधेरै लोकप्रिय बनेको छ कि धेरै मानिसहरु यसको लतमै फसेका छन् ।

    खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि प्रतिबन्ध लगाउनुपर्ने आवाज पनि विश्वमा उठ्न थालेको छ ।

    छिमेकी मुलुक भारतका केही सहरमा त यो गेमलाई प्रतिबन्धित गरिएको छ भने गुजराँतमा यो गेम खेल्ने केही युवाहरुलाई पक्राउ गरिएको छ । भारतमै पब्जी खेलको कुलतका कारण एकजना २० वर्षीय युवकको मृत्यु भएकेा घटना पनि सार्वजनिक भएको छ ।

    भारतीय मिडियाहरुमा आएको खबरअनुसार तेलंगानास्थित जगित्यालमा करिब ४५ दिनदेखि लगातार पब्जी मोबाइल गेम खेलिरहेका ती युवकको गर्धनमा अत्यधिक दुखाइका कारण मृत्यु भएको हो ।

    गर्धनमा असह्य पीडा भएपछि ती युवकलाई उपचारका लागि हैदरावादस्थित एक अस्पतालमा लगियो । उपचारकै क्रममा त्यहाँ उनको मृत्यु भयो ।

    निकै लामो समयसम्म लगातार मोबाइलमा पब्जी गेम खेल्नाले ती युवकको गर्धन तथा घाँटीका मांशपेशीमा गम्भीर क्षति पुगेको थियो । जसका कारण उनले ज्यान गुमाउनु पर्‍याे ।

    यद्यपि विज्ञहरुले चाहीँ केवल मोबाइल गेमका कारण मांशपेशीमा समस्या उत्पन्न हुँदा ज्यानै गएको भन्न नसकिने र उनमा अरु नै स्वास्थ्य समस्या पनि रहेको हुनसक्ने बताएका छन् । उनको उपचार गरेका एकजना डाक्टरले चाहीँ ती युवकमा संक्रमण समेत देखिएको र सोही संक्रमणका कारण ज्यान गएको बताएका छन् ।

    भारतको नयाँदिल्लीमै पब्जी गेमको लतमा फसेका एकजना १५ वर्षका किशोर घर छाडेर बेपत्ता भए । पब्जी गेमले आफ्नो छोराको ब्रेनवास गरेका कारण बहुलाएर हिँडेको आरोपमा उनका बुवाआमाले लगाउँदै पुलिसमा उजुरी गरेका छन् । पब्जी गेममाथि प्रतिबन्ध लगाउनुपर्ने भन्दै खासगरी विद्यार्थीका अभिभावकहरुले भारतमा चर्को माग गरिरहेका छन् ।

    यो अनलाइन गेम निर्माता पब्जी कर्पोरेसनले पनि भारतमा भैरहेको आलोचनालाई मध्यनजर गर्दै एक दिनमा एकजना व्यक्तिले ६ घण्टाभन्दा बढी समय पब्जी खेल्न नपाउने गरी बन्देज लगाएको छ । अर्थात् गेमप्ले टाइममा ६ घण्टाको सीमा तय गरेको छ । यो बन्देज केवल भारतमा मात्र लागू गरिएको हो र विश्वका अरु देशमा चाहीँ जो जति समयसम्म पनि पब्जी खेल्न पाउँदछ ।

    पब्जीबारेका केही तथ्य

    दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले यो अनलाइन गेमको उत्पादन गरेको हो । पब्जीको पूरा रुप PlayerUnknown’s Battlegrounds(PUBG)  ‍‍‍‍‍‍ हो ।

    पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ ।

    आइओएस र एन्ड्रोइड प्लेटफर्ममा मात्र पब्जी २४ करोड पटक डाउनलोड भएको छ । सन् २०१८ मा पब्जी गेमबाट कम्पनीले कूल १ अर्ब ३ करोड डलर आम्दानी गरेको तथ्यांक छ । पब्जी गेमका मोबाइल प्रयोगकर्तामध्ये साढे २२ करोड चिनियाँ रहेका छन् । त्यस्तै अमेरिकी प्रयोगकर्ता ११ प्रतिशत र भारतीय प्रयोगकर्ता ८ प्रतिशत रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार