‘गोल मेसिन’ सावित्रा भण्डारी


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १२, २०७५

  • ‘उनी दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड हुन्। र खेलप्रति समर्पित खेलाडी। उनको गति यस क्षेत्रमा कसैसँग पनि तुलना हुन सक्दैन्।’ आफ्नो जमानाका सर्वोत्कृष्ट फरवार्ड एवं हाल नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्का नेपाली स्टार स्ट्राइकर सावित्रा भण्डारीबारे यसो भन्छन्।

    पाँच वर्षअघि तेस्रो साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्धको डेब्यू खेलको दुई मिनेटमै गोल गरेयता सावित्रा अहिले नेपालका लागि सबैभन्दा बढी गोल गर्ने दोस्रो महिला खेलाडी बनिसकेकी छिन्।

    यसअघि पूर्वकप्तान जमुना गुरुङको नाममा रहेको २५ गोलको कीर्तिमानलाई भंग गर्दै सावित्राले अघिल्लो साता विराटनगरमा सम्पन्न पाँचौं साफ महिला च्याम्पियनसिपसँगै राष्ट्रिय टोलीका लागि २६ गोल पूरा गरिन्। गोलको कीर्तिमानमा उनीभन्दा अघि अब वर्तमान कप्तान अनु लामा(३५ गोल) मात्र छिन्। २२ वर्षीय सावित्राको खेल जीवन अझ धेरै बाँकी छ।

    ‘कीर्तिमान भंग गर्नुभन्दा पनि मेरो लागि खेल जिताउँनु महत्वपूर्ण कुरो हो,’ सावित्रा भन्छिन्, ‘पाएका अवसरहरुलाई म सम्भव भएसम्म सदूपयोग गर्दै टिमलाई जिताउँने प्रयास गर्छु। मैले टिमलाई योगदान दिन सकिन भने कीर्तिमानको खासै अर्थ हुन्छ जस्तो लाग्दैन।’

    सावित्रा यस पटकका चारै खेलमा गोल गर्दै साफको एउटै संस्करणका सबै खेलमा गोल गर्ने पहिलो नेपाली खेलाडी समेत बनिन्। भारतकी इन्दुमथी काथिरेसनसँगै यो साफको सर्वाधिक (४) गोलकर्ता भए पनि पाएका घरेलु मैदानमा टिमलाई उपाधि दिलाउन नसक्दा भने उनी दुखी छिन्।

    ‘पाएका अवसरहरुलाई सदूपयोग गर्न नसक्नु नै हाम्रा लागि टर्निङ प्वाइन्ट रह्यो,’ पुनः एकपटक फाइनलमा भारतसँग पराजित हुँदै उपाधिविमुख भएको स्मरण गर्दै उनले सुनाइन्, ‘पहिलो हाफ हामीले डोमिनेट गरेर खेलेका थियौं। त्यतिबेला स्कोर आएन। त्यसले दोस्रो हाफमा दबाब बनायो। त्यही भएर रिजल्ट हाम्रो पक्षमा भएन।’

    फाइनल खेलको २६औं मिनेटमा भारतले अग्रता बनाएको थियो। तर, सावित्राले अग्रतालाई धेरैबेर रहन दिइनन्। त्यसको ७ मिनेटपछि नै उनले हेडरमार्फत बराबरी गोल फर्काएकी थिइन्। त्यही गोलबाट नै उनी जमुनाको कीर्तिमान भंग गर्दै नेपालबाट सर्बाधिक गोल गर्ने सुचीमा दोस्रो नम्बरमा पुगेकी थिइन्।Image may contain: 4 people, people smiling, people standing and crowd

    यसपटक हारेपनि अन्तिमसम्म दर्शकहरुले गरेको सपोर्टबाट भने उनी अझै हौसिएकी छिन्।

    ‘मैले गोल गरौंला, कीर्तिमान राखौंला भन्दा पनि टिमका लागि खेलेको थिएँ। पाएका चान्सहरु मिस गरेँ,’ उनले भनिन्, ‘आफ्नै ठाउँमा हार्दा नराम्रो फिल हुन्छ। धेरैले आशा गरेका थिए तर दर्शकहरुले हार्दा पनि हामीलाई अन्तिमसम्म सपोर्ट गर्नुभयो। त्यसले हौसला थपिएको छ। आगामी दिनमा अझै मेहनत गरेर देशलाई उपाधि दिने अठोट लिएकी छु।’

    मोजामा बल खेल्दै उठेको फुटबल जिन्दगी
    लमजुङको पामचोक गाउँमा चार दिदीबहिनी र दुई दाजुभाईको परिवारमा हुर्किएकी सावित्रा सानैदेखि साथीभाईसँग मोजाको बल बनाई खाली खुट्टाले फुटबल हान्थिन्। बुबा स्वास्थ्य चौकीको कर्मचारी थिए। बुबाको कमाईले घरपरिवार धान्न ठिक्क थियो। सावित्रालाई फुटबल किन्न मन लाग्थ्यो तर पारिवारक स्थिति बुझेकी उनी जिद्दि गर्दिनथिन्।

    घरमाथि उनी पढ्ने सरस्वती निम्न माध्यामिक विद्यालय थियो। स्कुलको चौरमा स्थानीय दाईहरु फुटबल खेल्थे। सुरुमा सावित्रा कान्लामा बसेर उनीहरुले खेलेको हेरेर बस्थिन्।

    सावित्रालाई चौरमा खेलिरहेको बल कहिले तल गह्रामा झर्ला र हानौंला भन्ने प्रतिक्षा हुन्थ्यो। बल जब चौरबाट खसेर गह्रामा जान्थ्यो त्यसबेला कुदेर बल समात्दै एक लात हानेर पुनः दाईहरुकोमा नै पुर्याउँथिन्। साच्चकै बल छुन पाउँदा सावित्रालाई औधी आनन्द आउँथ्यो।

    गाउँबाट युवाहरु बैदेशिक रोजगारका र अध्ययनका लागि विदेश तथा काठमाडौं पलायन हुन्थे। फूटबलका लागि केटाहरुको टिम नपुग्ने हुन्थ्यो र उनीहरुले सावित्रालाई खेल्न बोलाउन थाले। स्थानीय दाईहरुसँग सुरुमा सावित्राले खाली खुट्टामै बल हानिन्।

    ‘गाउँमा महिला फुटबल हुन्थेन्। केटाहरुको टिम नपुग्दा मात्रै खेल्न पाइन्थ्यो,’ सावित्राले विगत स्मरण गर्दै भनिन्, ‘म पहिलैदेखि बलियो थिएँ। सितिमिती दाईहरुले पनि लडाउँन सक्दैन थिए। पाएको बेला गोल पनि हान्दिथे। विस्तारै दाईहरुसँग घुलमिल हुन थालेँ र उनीहरुसँगै स्थानीय प्रतियोगिताहरुमा सहभागिता जनाउँन थालेँ।’

    शुक्र लामाको नजरमा परेपछि
    २०७० साल दशैँमा लमजुङको घले गाउँमा भएको स्थानीय प्रतियोगिताको दौरान एन्फा रेफ्री शुक्र लामाको नजरमा परेपछि भने सावित्राको फुटबल जिन्दगीले नयाँ मोड लियो।

    दशैँमा गाउँ गएका शुक्रले सावित्रालाई पहिलोपटक उक्त प्रतियोगितामा देखेपछि उनको खेलबाट प्रभावित हुदैँ भने, ‘यहाँ मात्रै खेलेर हुँदैन। तिम्रो गेम राम्रो छ। म काठमाडौं गएर कुराकानी गर्छु। उताबाट मिल्यो भने खेल्न आउँछौ?’

    सावित्रालाई फुटबलको लत छदैँ थियो। त्यसमाथि काठमाडौंमै राम्रो फुटबल खेल्न पाउँने भए किन नाई भन्थिन्। उनले ‘हुन्छ’ भनिन्।

    शुक्रले सावित्राबारे सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा कुरा गरेपछि २०७१ साल असारतिर उनलाई काठमाडौं बोलाए। शुरुमा एपीएफले दुई महिना उनको ट्रायल लिने भयो।

    ‘काठमाडौंमा शुरुका दिनहरु कष्टकर थिए। म आफन्तकोमा बनस्थलीमा बस्थेँ,’ संघर्षका दिन सम्झदै उनले भनिन्, ‘ट्रायलका लागि एपीएफ मैदान हल्चोक जानुपथ्र्यो। पैसा हुदैँन थियो। एक्लो कमाईले सुयुंक्त परिवार पालिरहनु भएकाले बुबासँग माग्ने अवस्था थिएन। म गाडी नचढेरै बनस्थलीबाट हल्चोक जान्थे। त्यसबाट बचेको पैसाले डाइट खान्थे।’

    डेब्यू गरेको दुई मिनेटमै गोल
    दुई महिनाको ट्रायलपछि सावित्रासँग एपीएफले मासिक पाँच हजार करारमा सम्झौता गर्यो। त्यहीबाट सावित्राको व्यवसायिक फुटबल यात्रा शुरु भयो।

    एपीएफबाट घरेलु लिगमा राम्रो प्रदर्शन गर्दै गएपछि सन् २०१४ को साफ महिला च्याम्पियनको बन्द प्रशिक्षणमा पहिलो पटक उनी परिन्। बन्द प्रशिक्षण हुदैँ उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाइन्।

    पाकिस्तानमा भएकोे तेस्रो साफ महिला च्याम्पियन्ससिपको समूह चरणमा भुटानविरुद्ध ८६ औं मिनेटमा अनु लामाको स्थानमा मैदान प्रवेश गरेकी उनले त्यसको दुई मिनेटमै पहिलो डेब्यू गोल गरिन्। त्यसपछि भने उनले कहिल्यै पछि फर्केर हेनुपरेको छैन्।

    २०१६ मा भारतको सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुदबाट उनी पहिलो रोजाईकी फरवार्ड बनेकी हुन्। त्यहीवर्ष भारतमै भएको चौथो साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गर्ने क्रममा उनले ६ गोल गरेकी थिइन् यस्तै माल्दिभ्सविरुद्ध ९–० को जित हात पार्ने क्रममा उनले ५ गोल गरेपछि उनलाई गोलमसिन भन्न थालियो।

    सावित्राको लक्ष्य आफू सक्रिय फुटबल खेलिरहँदा नेपाललाई जसरी पनि साफ च्याम्पियन बनाउने रहेको छ। अरू देशहरूलाइ पराजित गरे पनि भारतीय टोलीलाइ नेपालले जित्न सकेको छैन। साफ महिला फुटबलको पाँचमध्ये चार उपाधि भारतले फाइनलमा नेपालबाट नै खोसेको थियो।

    पछिल्लोपटक गत फागुनमा हिरो गोल्डकपमा भारतलाई पहिलोपटक नेपालले २–१ले हराउँदा सावित्राले दुवै गोल गरेकी थिइन्। उनी भन्छिन्, ‘हामीले पाएका अवसरहरु सदूपयोग गर्दै उत्कृष्ट खेल्यौं भने भारतमात्रै हैन जस्तोसुकै टिमलाई हराएर पनि नेपाललाई उपाधि दिलाउन सक्छौं। मेरो व्यक्तिगत लक्ष्य पनि उत्कृष्ट टिमलाई हराउँदै नेपाललाई ऐतिहासिक उपाधि दिलाउँने छ।’

    Source : Nepalkhabar

    प्रतिक्रिया
    सम्बन्धित समाचार