आइपिएलमा अश्विनको मानकडले विश्वक्रिकेटमा तरंग


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र १३, २०७५

  • चैत १३ , काठमाडौं । विश्वभरिका फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्ये सबैभन्दा ठूलो इन्डियन प्रिमियर लिग (आइपिएल) जारी छ। भारतमा भइरहेको यो प्रतियोगितामा भएको एक घटनाबारे  सोमबारदेखि भने विश्वभरका क्रिकेटप्रेमी बहसमा उत्रिएका छन्।

    सोमबार राति भएको किंग्स इलेभेन पञ्जाब र राजस्थान रोयल्सबीचको खेलमा  पञ्जाबका कप्तान रविचन्द्रन अश्विनले राजस्थानका ओपनर जस बट्लरलाई बलिङ एन्डमा  रन आउट गरेको विषयमा खेलाडी, प्रशिक्षक, विश्लेषक र क्रिकेटप्रेमी दुई ध्रुवमा बाँडिएका हुन्।

    घरेलु मैदान जयपुरमा  जितका  लागि १८५ रनको लक्ष्य पछ्याइरहेको राजस्थान १३ औं ओभरमा १ विकेटको क्षतिमा १०८ रनको अवस्थामा थियो।  बलिङ गरिरहेका कप्तान अश्विनले सो ओभरको पाँचौ बलमा बलिङ नगरेर त्यो एन्डमा रहेका बट्लरलाई रन आउट पारेपछि उनको यो कदमले क्रिकेट जगतमा तरंग ल्याएको हो। आइसिसीले अश्विनले गरेको त्यो काम सही थियो कि गलत भन्ने ट्वीटरको मत सर्वेक्षणमा २२ प्रतिशतले सही र ७८ प्रतिशतले गलत भनेका छन्।

    ४३ बलमा ६९ रन हानेका बट्लर आउट भएपछि राजस्थानले जित्ने स्थितिबाट खेल गुमाएको थियो।

    अश्विनले गरेको त्यो रन आउट क्रिकेटको नियमअनुसार सही नै हो। विवाद बढेपछि क्रिकेटको अभिभावक मानिने बेलायतको मेरिलिबोन क्रिकेट क्लब (एमसिसी)ले विज्ञप्ति निकालेर अश्विनले गरेको आउटलाई स्वभाविक भनेको छ।

    उक्त क्षणमा टिभीमा कमेन्ट्री गरिरहेका प्रख्यात कमेन्टेटर हर्ष भोग्लेले ट्वीट गर्दै अश्विनको बचाउ गरेका छन्।  उनले ट्वीटरमा लेखेका छन्- बट्लरको रनआउटबारे धेरै हल्लीखल्ली भयो। बट्लर एकदमै रिसाए तर त्यसबारे नियम प्रष्ट छ। यदि ब्याट्सम्यान ननस्ट्राइकर एन्डको क्रिजभन्दा बाहिर छ भने उसलाई आउट पार्नु बलरको अधिकारभित्र पर्छ।

    अश्विनको त्यो कदमलाई धेरैले खेलभावना विपरित भएको भन्दै आलोचना गरेका छन्। अष्ट्रियाका पूर्वलेगस्पिनर सेन वार्नले अश्विनको सो कदमलाई लज्जाजनक भनेका छन्। आइपिएलको पहिलो संस्करणमा कप्तान बनेर राजस्थानलाई उपाधि जिताएका वार्नले ट्वीट गरेका छन्- कप्तानको रूपमा तपाईंको टिमले कसरी खेल्न चाहन्छ र केका पक्षमा उभिन्छ भन्ने कुराको मानक स्थापना गर्नुपर्छ। आज राति किन त्यस्तो शर्मनाक र निच काम गर्नुपर्‍यो? तपाईंले आफ्नै रूपमा बाँच्नुपर्छ। र तपाईंको जानकारीका लागि अब माफी माग्ने बेला पनि गइसक्यो। अश्विनजी, तपाईंलाई यो निच कामका लागि चिनिनेछ।

    के हो मानकड?

    पहिलो पटक भारतका विनु मानकडले टेस्टमा सन् १९४७ मा अष्ट्रेलियाका ब्याट्सम्यान बिल ब्राउनलाई बलिङ एन्डमा रन आउट गरेपछि उनैको नाममा यस्तो आउटलाई मानकड  भनिन थालिएको हो। भद्र खेल भनिने क्रिकेटमा यस्तो आउट बिरलै हुन्छ। यसरी आउट पार्नुलाई खेलभावना विपरित मानिन्छ।

    बलिङ एन्डको ब्याट्सम्यान बलरले बल नफालीकनै अगाडि बढे  रन लिनलाई अनुचित फाइदा हुने भएकाले क्रिकेटमा यस्तो नियम राखिएको हो।  नियममा बलरले ब्याट्सम्यानलाई बल नफाल्दै क्रिज नछोड्न चेतावनी दिनुपर्ने लेखिएको नभए पनि कुनै ब्याट्सम्यानले त्यसो गरेमा बलरले चेतावनी दिने अघोषित नियमजस्तै छ। तर सोमबारको खेलमा अश्विनले चेतावनी नदिई बट्लरलाई आउट पारे।

    बिरलै हुने यो किसिमका रन आउटका अरू घटनामा ब्याट्सम्यान निकै अघि बढेका हुन्थे। तर बट्लर भने अनुचित फाइदा लिने किसिमले बढेको देखिन्न।  अश्विनले नरोकिकन स्वभाविक रूपमा बलिङ गरेको भए उनको हातबाट बल छुट्दा बट्लर क्रिजभित्रै हुन्थेजस्तो देखिन्छ।

    इंग्ल्याण्डका ब्याट्सम्यान बट्लर यसअघि  सन् २०१४ मा भएको एकदिवसीय  खेलमा श्रीलंकाका बलर सचित्रा सेनानायकद्वारा पनि यसरी नै आउट भइसकेका थिए।

    सन् २०१७ को अक्टोबरमा एमसिसीले मानकड आउटको नियम परिवर्तन गरेपछि ठूला फ्रेन्चाइज र अन्तर्राष्ट्रिय प्रतियोगितामा यस्तो घटना भएको यो सम्भवत: पहिलो पटक हो।

    पूरानो नियममा बलरले बल फाल्न अन्तिम फड्को मारेपछि मात्रै यसरी आउट पार्न पाइन्थ्यो। अहिलेको नियममा बलरले ‘बल फाल्ने अपेक्षा गरिएको क्षणसम्म’ आउट पार्न सक्छन्।

    सोमबारको खेलमा अश्विनले बल फाल्ने अन्तिम फड्को नमारी बट्लरलाई आउट थिए।

    नियम परिवर्तन गर्दा यस्तो रन आउटलाई ‘बलरले बल नफालीकनै ननस्ट्राइकरलाई आउट पार्ने प्रयास’ बाट बदलेर ‘ननस्ट्राइकरले अघि नै क्रिज छोडेको’ पारिएको थियो।  यसले  पनि प्राविधिक रूपमा अश्विनले गरेको आउटमा बट्लरकै गल्ती भएको देखिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार