‘केटी हुँ, फ्रक लगाएर लजाउँदै हिँड्नुपर्छ भन्ने मनमा कहिल्यै आएन’ : सावित्रा भण्डारी


  • Frontline Nepal

काठमाडौं, चैत १५ ।   सावित्रा भण्डारी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर हुन्। सावित्रा फुटलबमा ‘साम्बा’ नामले पनि चिनिन्छिन्। नेपाली फुटबल टोलीकी ‘गोल मेसिन’ साम्बाले अहिलेसम्म २६ अन्तराष्ट्रिय गोल गरिसकेकी छन्। गत फागुन २८ देखि चैत ८ गतेसम्म भएको साफ च्याम्पियनसिप महिला फुटबलमा साम्बाले ४ गोल गरिन्।

भारतविरूद्धको फाइनल खेलमा उनले एक गोल हानिन्। नेपाल प्रतियोगिताको उपाधि जित्नबाट भने बञ्चित भयो। फाइनल खेल नेपालले ३-१ ले गुमायो। महिला फुटबलमा साम्बाले सफल खेलाडीको परिचय बनाए पनि उनको फुटबल यात्रा भने सहज रहेन।

लमजुङको सिम्बाली गाउँमा जन्मिएर हुर्किएकी सावित्राले फुटबल खेल्नका लागि घरमै संघर्ष गर्नुपर्‍यो। स्कुलका केटासँग फुटबल खेल्दा परिवारको गाली खानुपर्‍यो। आमाको पिटाइ सहनुपर्‍यो। बाबाको ‘घरमै बसेर पढ’ भन्ने आदेश पालना गर्नुपर्‍यो।

परिवारसँग मनमुटावबीच उनले घरको आँगनमै खाली खुट्टा मोजाको बलमा आफ्नो फुटबल सपनालाई जीवन्तता दिइरहिन्।  ‘चप्पल लगायो भने च्यातिन्थ्यो’, साम्बा ती दिन सम्झँदै भन्छिन्, ‘मम्मीले कराउनुहुन्थ्यो। त्यसैले खाली खुट्टा खेल्थें।’

साम्बाका चार दिदीबहिनी छन्, दुइ दाजुभाइ। बुवाको नोकरीले मात्र परिवार चलाउनै मुस्किल भैरहेको देखेकी उनका लागि फुटबल जर्सी किन्नु सपना थियो। उनलाई फुटबलको भोकले छाडेन। विद्यालयको टिफिन टाइममा खाजा खाइनन्। फुटबल खेलिन् त्यो पनि केटाहरूसँग।

‘म छोरी मान्छे हो लजाएर हिँड्नुपर्छ, फ्रक लगाउनुपर्छ, लजालुपन हुनुपर्छ भन्ने मेरो मन मस्तिष्कमा आएन पनि’, साम्बा सम्झिन्छन्। केटाजस्तो भएर हिँडेको देखेर छिमेकीले कुरा काटे। तर साम्बाले परवाह गरिनन्।  ‘परिवारबाट दबाब थिएन’, साम्बा भन्छिन्, ‘पढाइ र खेलकुद दुबै राम्रो हुँदै गयो।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट