म्यानमार जाँदै महिला फुटबल टोली


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १७, २०७५

  • काठमाडौं, चैत १७ ।  ओलम्पिक छनोटको दोस्रो चरणमा सहभागि हुने नेपाली राष्ट्रिय महिला फुटबल टोली आज म्यानमार जाँदैछ । थाइ एयरबाट टोली दिउँसो ३ बजे त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
    अखिल नेपाल फुटबल संघ एन्फाले टोलीलाई आजै बिदाइ गरेको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, नेपालस्थित कतार दूतावासका डेपुटि चिफ जसिम सली अलि तथा एन्फाका पदाधिकारीले टोलीलाई बिदाइ गरे ।

    बिदाइ कार्यक्रममा अध्यक्ष शेर्पाले पाँचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा भारतमाथि भएका कमजोरीलाई सुधार्दै खेल प्रदर्शन गर्न सुझाव दिए । उनले भारतलाई हराउँदै फेरी पटक इतिहास दोहोर्याउन खेलाडीलाई आग्रह गरे । ‘उडिसास्थित भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपको नतिजा दोहोर्याउनेमा म विश्वस्त छु । इखका साथ खेल्नुहोला । जित्न अवश्य सक्नुहुनेछ । साफमा भोगेको हारको बदला लिने अवसर छ,’ अध्यक्ष शेर्पाले भने । अध्यक्ष शेर्पाले महिला फुटबल विकासका लागि दिर्घकालिन योजना बनाइरहेको उल्लेख गरे ।

    कतार दूतावासका डेपुटि चिफ जसिम सली अलिले टोलीलाई जितका लागि शुभकामना दिए । नेपालले दोस्रो चरणमा घरेलु टोली म्यानमार, भारत र इन्डोनेशियासँग खेल्नेछ । हरी खड्काको प्रशिक्षणमा रहेको नेपालले यसअघि पहिलो चरणमा म्यानमार, बंगलादेश र भारतसँग बराबरी खेल्दै दोस्रो चरणमा स्थान बनाएको थियो ।
    नेपालले हालै विराटनगरको सहिद रंगशालामा सम्पन्न पाँचौं महिला साफ च्याम्यिनसिपको फाइनलमा भारतसँग हार ब्यहारेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार