पढाइमा अब्बल रोनाल्डो……


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १७, २०७५

  • काठमाडौं, चैत १७ ।  भाइबहिनी हो, तिमीहरूले क्रिस्टियानो रोनाल्डोको नाम सुनैकै हौला । रोनाल्डोको पूरा नाम क्रिस्टियानो रोनाल्डो डस सान्तोस हो । उनी सबैभन्दा चर्चित र धेरै कमाउने फुटबल खेलाडी हुन् । उनको जन्म ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको फन्चल, म्याडेइराको एक बस्तीमा भएको हो । आमा मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तान हुन् उनी । रोनाल्डोका एक दाइ र दुई दिदी छन् । उनका बुवा होजे डिनिस अभेइरो नगरपालिकाको माली थिए भने आमा कुकको काम गर्थिन् ।

    रोनाल्डो पढाइमा निकै अब्बल थिए । तर एउटा रोचक कुरा के छ भने, एकपटक रोनाल्डोले शिक्षकलाई कुर्सीले हानेका कारण उनी स्कुलबाट निकालिएका थिए । उनलाई आमाले फुटबल खेल्न प्रेरित गर्थिन् । उनले त्यतिबेला आमालाई म सम्पूर्ण ध्यान फुटबलमा केन्द्रित गर्नेछु भन्दै फुटबल सुरु गरेका थिए ।

    सन् १९९५ मा स्पोर्टिङ सिपीबाट क्लब खेल जीवन आरम्भ गरेका रोनाल्डोले आफ्नो उत्पादनशील समय म्यानचेस्टर युनाइटेड र रियल म्याड्रिडमा बिताए ।पोर्चुगलको राष्ट्रिय फुटबल टिमको युवा समूहबाट रोनाल्डोले सन् २००१ मा खेल्न थाले । उनले १४ वर्षकै उमेरमा व्यावसायिक खेल सुरु गरेका हुन् ।

    उनले १५ वर्षमुनिको उमेरसमूह, १७ वर्षमुनिको उमेरसमूह, २० वर्षमुनिको उमेरसमूह, २१ वर्षमुनिको उमेरसमूह र २३ वर्षमुनिको उमेरसमूहमा जम्मा ३४ खेल खेलेर १८ गोल गर्न सफल भएका थिए । रोनाल्डो १६ वर्षको हुँदा उनको ड्रिबलिङ क्षमताबाट प्रभावित भएर स्पोर्टिङ सिपीका प्रशिक्षकले उनलाई युवा टिमबाट मुख्य टिममा बढुवा गरेका थिए । उनले एकै सिजनमा क्लबको १६ वर्षमुनिको उमेरसमूह, १७ वर्षमुनिको उमेरसमूह, १८ वर्षमुनिको उमेरसमूह, बी टिम र मुख्य टिमबाट खेल्ने पहिलो खेलाडी बन्न सफल भएका थिए ।

    उनले २००३ अगस्ट २० मा १८ वर्षको उमेरमा आफ्नो राष्ट्रिय टोलीको लागि पहिलो खेल काजकिस्तानविरुद्ध खेलेका थिए । उक्त खेल पोर्चुगलले १–० ले जितेको थियो ।

    पोर्चुगलमै भएको यूईएफए युरोकप २००४ को समूह चरणको खेलमा ग्रिसविरुद्ध राष्ट्रिय टोलीका लागि पहिलो गोल उनले गरे । उक्त खेलमा पोर्चुगल २–१ ले पराजित भएको थियो । सन् २००६ को विश्वकप छनोटको युरोपियन खेलमा उनले सात गोल गरेका थिए । उनी दोस्रो सर्वाधिक गोलकर्ता घोषित भएका थिए । २००६ को विश्वकपमा उनले आफ्नो पहिलो विश्वकप गोल इरानसँगको समूह चरणको खेलमा पेनाल्टीमार्फत गरेका थिए ।

    उनी चारपटक युरोपियन गोल्डेन बुट जित्ने पहिलो खेलाडी पनि हुन् । सन् २०१५ मा आफ्नो खेल वनको ५०० औं गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ६ सयभन्दा धेरै गोल गरिसकेका छन् ।

    उनीलाई विश्व फुटबलका सबैभन्दा महान् खेलाडीहरूमध्येका एक मानिन्छ । उनलाई सन् २०१५ मा पोर्चुगलको फुटबल संघद्वारा पोर्चुगलको इतिहासमा हालसम्मको सबैभन्दा महान् खेलाडी घोषणा गरिएको थियो । रोनाल्डोले पोर्चुगल राष्ट्रिय फुटबल टोलीबाट सात प्रमुख प्रतियोगिताहरू खेल्दै देशलाई पहिलो प्रमुख अन्तर्राष्ट्रिय उपाधिको रूपमा यूईएफए युरो २०१६ जिताए । उनी पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनलाई सन् २०१६ र २०१७ मा ईएसपीएन र फोर्बसले क्रमशः सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए ।

    सन् २००७ फेब्रुअरी ६ मा ब्राजिलसँगको मैत्रीपूर्ण खेलमा रोनाल्डोले पहिलोपल्ट पोर्चुगलको कप्तानी गरेका थिए । त्यतिबेला उनी २३ वर्षका थिए । यूईएफए युरोकप २००८ को पूर्वसन्ध्यामा रोनाल्डोलाई राष्ट्रिय टोलीमा पहिलोपटक ७ नम्बरको जर्सी दिइयो ।

    त्यस्तै पोर्चुगलको राष्ट्रिय टोलीबाट युरोकप जितेका रोनाल्डोको नाममा पोर्चुगल, युरोप, र विश्व फुटबलमा विभिन्न कीर्तिमानहरू कायम गरिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार