सावित्राको दुई गोलमा नेपाल विजयी


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र २६, २०७५

  • काठमाडौं, चैत २६ ।  सन् २०२० को ओलम्पिकको एशियाली छनौटमा नेपालले इन्डोनेसियालाई पराजित गरेको छ । सावित्रा भण्डारीको दुई गोलको मद्दतले नेपालले समुह चरणको अन्तिम खेलमा २–१ को जित निकाल्न सफल भयो । यसअघि भारत र म्यानमारसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरिइ सकेकोले यो जित सान्त्वना उपाधी मात्र बन्न सक्यो ।

    आज म्यानमारको बाथो मैदानमा भएको खेलमा नेपालको लागि सावित्राले अद्भुद प्रदर्शन गरिन् । खेलको ३६ औं मिनेटमा उनले शानदार गोल मार्फत् नेपाललाई अग्रता दिलाइन् ।
    पहिलो हाफमा एकमात्र गोल नेपालको तर्फबाट भयो ।

    दोश्रो हाफको सुरुवातमै इन्डोनेसियाले जवाफी गोल फर्काएको थियो । ४७ औं मिनेटमा बेइक अभियाटन सालिहाले गोल गरेपछि खेल १–१ को अवस्थामा पुगेको थियो ।  त्यसपछिको अवधि प्रतिस्पर्धात्मक बनेपनि दुबै पक्षले गोल गर्न सकिरहेका थिएनन् । खेलको ८९ औं मिनेटमा सावित्राले १ गोल थप्दै नेपाललाई २–१ गोल अन्तरको जित दिलाइन् ।

    समूह ए बाट एउटा मात्र टोली अर्को चरणमा पुग्ने नियमअनुसार म्यानमारले ओलम्पिक फुटबलको अर्को चरणमा स्थान बनायो । आजै भएको अर्को खेलमा म्यानमार र भारत ३–३ गोलको बराबरी खेलेका थिए । समग्रमा म्यानमारको गोल अन्तर बढि भएपछि म्यानमारनै अर्को चरणमा पुग्न सफल भयो ।

    यो सँगै नेपाल, भारत र इन्डोनेसिया टोकियोमा आयोजना हुने ओलम्पिक फुटबलमा पुग्न असफल भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार