‘एभेन्जर्सः एन्ड गेम’ ले ५ दिनमै कमायो एक अर्ब डलर,


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख १६, २०७६

  • काठमाडौं, १६ वैशाख । हलिउड फिल्म ‘एभेन्जर्सः एन्ड गेम’ ले पाँच दिनमै एक अर्ब बीस करोड डलर कमाएको छ। यो कमाइसँगै ‘एभेन्जर्सः एन्ड गेम’ सबभन्दा छिटो एक अर्ब डलर कमाउने फिल्म बनेको छ।

    अमेरिकामा मात्र यसले ३५ करोड डलर र चीनमा ३४ करोड डलरभन्दा बढीको व्यापार गरिसकेको छ।

    ‘एभेन्जर्सः एन्ड गेम’ मार्भल कमिक्सको २२ औं श्रृंखला हो। यसमा सबैजसो श्रृंखलाका सुपरहिरोहरू एकैसाथ देखिनेछन्। यो श्रृंखला सन् २००८ मा ‘आइरन म्यान’ बाट सुरू भएको थियो।

    यसअघि सबभन्दा छोटो समयमा धेरै कमाउने रेकर्ड पनि मार्भलकै ‘एभेन्जर्सः इन्फिनिटी वार’ को थियो। यसले ११ दिनमा एक अर्ब डलर नघाएको थियो।

    अहिलेसम्म सबभन्दा धेरै कमाउने फिल्म

    अहिलेसम्म सबभन्दा धेरै कमाउने फिल्म भने सन् २००९ को ‘अवतार’ हो जसले विश्वव्यापी बजारबाट करिब २ अर्ब ७९ करोड डलर कमाएको थियो।

    त्यस्तै दोस्रो नम्बरमा २० वर्ष पुरानो फिल्म ‘टाइटनिक’ छ जसले २ अर्ब १९ करोड डलर हाराहारी कमाएको छ । तेस्रो नम्बरमा करिब २ अर्ब डलर कमाउँदै सन् २०१५ को ‘स्टार वार्सः द फोर्स अवेकन्स’ परेको छ । चौथोमा भने मार्भलकै अघिल्लो श्रृंखला ‘एभेन्जर्सः इन्फिनिटी वार’ छ जसको कमाइ ‘स्टार वार्सः द फोर्स अवेकन्स’ भन्दा अलिकति मात्र कम छ ।

    त्यस्तै पाँचौं स्थानमा एक अर्ब ६७ करोड डलर कमाउने सन् २०१५ को ‘जुरासिक वर्ल्ड’ छ। छैठौंमा सन् २०१२ को एभेन्जर्स नै छ। यसले पनि करिब एक अर्ब ५२ करोड डलर कमाएको थियो। सातौंमा ‘फास्ट एन्ड फ्युरियस’ को सातौं श्रृंखला ‘फ्युरियस ७’ छ।

    आठौंमा फेरि मार्भलकै श्रृंखलाले स्थान ओगटेको छ। ‘एभेन्जर्सः एज अफ अल्ट्रोन’ ले एक अर्ब ४० करोड डलर हाराहारी कमाएको थियो ।  नवौं स्थानमा पनि मार्भलकै श्रृंखलामध्येको एक ‘ब्ल्याक प्यान्थर’ छ जसले एक अर्ब ३५ करोड डलर कमाएको छ। दसौंमा भने ‘ह्यारी पोटर एन्ड द डेथ्ली हलोज्-२’ छ ।

    यसरी ‘एभेन्जर्स’ का पूर्ववर्ती फिल्महरूको रेकर्ड र ‘एभेन्जर्सः एन्ड गेम’ को अहिलेको रफ्तार हेर्दा यसले सबै रेकर्ड तोड्ने अनुमान विश्लेषकहरूको छ । फिल्मको बजार ठूलो हुनाले यसले पाँच दिनमै एक अर्ब डलर बढी कमाइसकेको छ। यही रफ्तारका आधारमा अघि बढे पूरा अवधिमा यो सबभन्दा धेरै कमाउने फिल्म बन्न सक्ने अनुमान गरिएको छ ।

    यो फिल्म हिन्दी, तेलेगु र तमिल भाषामा पनि रिलिज हुनेछ। यी भाषाका फिल्मका लागि भारतीय संगीतकार एआर रहमानले संगीत कम्पोज गरेका छन् । फिल्म नेपालमा पनि रिलिज भइसकेको छ ।

    फिल्ममा रोबर्ट डउनी जुनियर, क्रिस इभान्स, मार्क रफालो, क्रिस हेम्सवर्थ, स्कार्लेट जोहनसन, ब्रि लार्सन, जेरेमी रेनर, डन चिडल, पल रूड, क्यारेन गिलान, डनाइ गुरिरा, काडविक बोसम्यान, ब्रयाड्ली कुपर र जोस ब्रोलिनको मुख्य भूमिका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार