काठमाडौं, १७ वैशाख । यूरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलका खेल मंगलबारदेखि शुरु हुँदैछ । आज हुने पहिलो सेमिफाइनल लेगमा टोटनह्याम हट्सपर र आयाक्स भिड्दै छन्। खेल नेपाली समय अनुसार राति पौने १ बजे टोटनह्यामको घरेलु मैदानमा हुनेछ ।
यी दुई टोलीबीच ३८ वर्ष पछि खेल हुन लागेको हो। पछिल्लो पटक यी टिमले सन् १९८१को २९ सेप्टेम्बरमा यूएफा युरोपियन कप विनर्समा भिडेका थिए। जसमा आयाक्स टोटनह्यामसंग ३-० ले पराजित भएको थियो ।
जर्मनीको बोरुसिया डर्टमन्डलाई प्रि क्वार्टरफाइनलमा पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको टोटनह्यामले क्वाटरफाइनलमा भने म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै अन्तिम चारमा स्थान बनाउन सफल भयो। त्यस्तै स्पेनको रियल मिड्रड र इटलीको युभेन्टसलाई हराउँदै आयाक्सले सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो।