हजुरबुवाले सय वर्षअघि चोरेको पुरानो मूर्ति , नातीले गरे फिर्ता


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख १८, २०७६

  • काठमाडौं, १८ वैशाख । भारतको मदुरै भन्ने स्थानमा रहेको मेलोर मन्दिरबाट सन् १९१५ मा चोरिएको मूर्ति पुलिसले फेला पारेको छ । सात सय वर्ष पुरानो द्रौपदीको मूर्तिलाई मन्दिरका पुजारी करप्पास्वामीले चोरेका थिए तर भगवानको प्रकोपको डरले उनका नाती मुरुगसेनाले उक्त मूर्ति  मन्दिर प्रशासनलाई जिम्मा लगाइदिएका छन् । मूर्तिलाई अब पुनः मन्दिरमा स्थापना गरिने भारतीय संचार माध्यमले बताएको छ ।

    परिवारले निकै संकट झेल्नुपर्योः मुरुगसेना

    नाती मुरुगसेनाका अनुसार मूर्तिका कारण उनको परिवारमाथि बज्रपात आइलाग्यो । परिवारका धेरै सदस्यको असामयिक मृत्यु भयो भने कति बिरामी भए । मूर्तिका कारण यस्तो समस्या आइरहेको हो कि भन्ने उनलाई बारम्बार लागिरहन्थ्यो ।

    भारतीय मिडियाका अनुसार मेलोर मन्दिरमा दुई पुजारी थिए । करप्पास्वामीको अन्य पुजारीसँग विवाद भएको थियो जसका कारण उनले मूर्ति चोरेका थिए । चोरीबारे सन् १९१५ मा बेलायती पुलिसलाई पनि उजुरी दिइएको थियो ।

    हजुरबुवाले पूजा गरिरहेको देखेर शंका लाग्योः मुरुगसेना

    ६० वर्ष पुगिसकेका मुरुगसेनाका अनुसार बाल्यकालमा उनले हजुरबुवालाई भित्तातिर मुख फर्काएर पूजा गरिरहेका देख्ने गर्दथे । सुरुमा उनलाई यो सामान्य जस्तो लाग्थ्यो तर केही समयपछि आफूलाई शंका लाग्न थालेको उनले बताए । उनले यसबारे मन्दिर प्रशासनलाई जानकारी दिए ।

    मन्दिर प्रशासनले पुलिससँग मिलेर भित्ता फोड्दा त्यहाँ १.५ फिट लामो दुर्लभ मूर्ति बरामद गर्यो । यो करिब सात सय वर्ष पुरानो मूर्ति हो । मेलोरको मन्दिर लगभग ८ सय वर्ष पुरानो हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार