टाइटनिकलाई उछिन्यो एभेन्जर्सः एन्ड गेमले, अवतारलाई जित्ला त ?


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख २३, २०७६

  • काठमाडौं, २३ वैशाख ।  हलिउड फिल्म ‘एभेन्जर्सः एन्ड गेम’ दुई साता नबित्दै दुई अर्ब बीस करोड डलर कमाएको छ। यो कमाइसँगै ‘एभेन्जर्सः एन्ड गेम’ सबभन्दा छिटो दुई अर्ब डलर कमाउने फिल्म बनेको छ। यो सँगै ‘एभेन्जर्सः एन्ड गेम’ सबभन्दा धेरै कमाउने दोस्रो फिल्म बनेको छ।

    अहिलेसम्म सबभन्दा धेरै कमाउने फिल्म भने सन् २००९ को ‘अवतार’ हो जसले विश्वव्यापी बजारबाट करिब २ अर्ब ७९ करोड डलर कमाएको थियो। त्यस्तै दोस्रो नम्बरमा २० वर्ष पुरानो फिल्म ‘टाइटनिक’ थियो जसले २ अर्ब १९ करोड डलर हाराहारी कमाएको छ। यसलाई उछिन्दै ‘एभेन्जर्सः एन्ड गेम’ रफ्तारमा बढिरहेको छ। ‘एभेन्जर्सः एन्ड गेम’ को रफ्तार हेर्दा यसले सबै रेकर्ड तोड्ने अनुमान विश्लेषकहरूको छ।

    ‘एभेन्जर्सः एन्ड गेम’ मार्भल कमिक्सको २२ औं श्रृंखला हो। यसमा सबैजसो श्रृंखलाका सुपरहिरोहरू एकैसाथ देखिनेछन्। यो श्रृंखला सन् २००८ मा ‘आइरन म्यान’ बाट सुरू भएको थियो।  यो फिल्म हिन्दी, तेलेगु र तमिल भाषामा पनि रिलिज भएको छ। भारतमै पनि यसले सबै बलिउड/तेलेगु/तमिल फिल्मका रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बनिसकेको छ। भारतमा साढे तीन सय करोड भारू कमाउने ‘एभेन्जर्सः एन्ड गेम’ नै हो। यसले चार सय करोड क्लब बनाउने बलिउड विश्लेषहरूले अनुमान गरेका छन्।

    फिल्ममा रोबर्ट डउनी जुनियर, क्रिस इभान्स, मार्क रफालो, क्रिस हेम्सवर्थ, स्कार्लेट जोहनसन, ब्रि लार्सन, जेरेमी रेनर, डन चिडल, पल रूड, क्यारेन गिलान, डनाइ गुरिरा, काडविक बोसम्यान, ब्रयाड्ली कुपर र जोस ब्रोलिनको मुख्य भूमिका छ। अहिलेसम्म सबभन्दा धेरै पैसा कमाउनेमा पनि एभेन्जर्स श्रृंखलाका पूर्ववर्ती फिल्मकै वर्चस्व छ।

    ‘अवतार’ र ‘एभेन्जर्सः एन्ड गेम’ पछि तेस्रो नम्बरमा करिब २ अर्ब डलर कमाउँदै सन् २०१५ को ‘स्टार वार्सः द फोर्स अवेकन्स’ छ। चौथोमा भने ‘एभेन्जर्सः इन्फिनिटी वार’ छ जसको कमाइ ‘स्टार वार्सः द फोर्स अवेकन्स’ भन्दा अलिकति मात्र कम छ। त्यस्तै पाँचौं स्थानमा एक अर्ब ६७ करोड डलर कमाउने सन् २०१५ को ‘जुरासिक वर्ल्ड’ छ।

    छैठौंमा सन् २०१२ को एभेन्जर्स नै छ। यसले पनि करिब एक अर्ब ५२ करोड डलर कमाएको थियो। सातौंमा ‘फास्ट एन्ड फ्युरियस’ को सातौं श्रृंखला ‘फ्युरियस ७’ छ। आठौंमा ‘एभेन्जर्सः एज अफ अल्ट्रोन’ ले एक अर्ब ४० करोड डलर हाराहारी कमाएको थियो। नवौं स्थानमा पनि मार्भलकै श्रृंखलामध्येको एक ‘ब्ल्याक प्यान्थर’ छ जसले एक अर्ब ३५ करोड डलर कमाएको छ। दसौंमा भने ‘ह्यारी पोटर एन्ड द डेथ्ली हलोज्-२’ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार