काठमाडौं, २५ वैशाख । बार्सिलोनालाई स्तब्ध पार्दै च्याम्पियन्स लिग फाइनलका लागि यात्रा तय गर्ने ऐतिहासिक खेलमा मैदानमा थिएनन् लिभरपुलका स्टार खेलाडी मोहम्मद सालह । तर उनी मंगलबार राति भएको दोस्रो लेगमा ऐतिहासिक जित निकालेपछि मैदानमा उत्सव मनाउन पुगे ।
चोटका कारण मैदान बाहिर रहेका सालहले साथी खेलाडीले टिमका लागि गरेको ऐतिहासिक योगदान नियाले । बार्सिलोनालाई समग्रमा ४–३ ले हराएपछि लिभरपुलको ड्रेसिङ रुममा उत्सव छाएको थियो । खेलाडीहरु कोही नाच्दै थिए त कोही आफूले गरेको उपलब्धिमा अझै विश्वास गर्न खोज्दै थिए ।
सालह पनि खुशी साट्न ड्रेसिङ रुममा थिए । उनले साथी खेलाडी जेम्स मिल्नरलाई व्यंग्यात्मक रुपमा ‘तय गरेको बिदा रद्द गर्नु पर्यो ?’ सोधेका छन् । पहिलो लेगमा ३–० ले पराजित भएकाले लिभरपुल दोस्रो लेगमा त्यसलाई उल्ट्याएर फाइनल पुग्ने सम्भावना कम थियो ।
तर सम्भावना कम भएकैलाई वास्तविकता बनाएर लिभरपुलले ऐतिहासिक सफलता हात पारेको हो । लिभपुलको आधिकारिक टेलिभिजनले जारी गरेको भिडियोमा सालहले मजाकको रुपमा मिल्नरलाई ‘तिमीले बिदामा जाने तयारी गरेका थियौ ?’ भनेका छन् ।