लिभरपुलसंग ४–० ले हारपछि स्वारेज भन्छन् : ‘हामी त स्कूले टिम जस्तै देखियौँ ‘


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख २५, २०७६

  • काठमाडौं, २५  वैशाख । ऐतिहासिक पुनरागमन गरेर च्याम्पियन्स लिग फुटबलको फाइनलमा स्थान पक्का गरेको लिभरपुलमा उत्सवको अवस्था छ भने पहिलो लेगमा उत्कृष्ट जित निकालेर पनि दोस्रो लेगमा नराम्रोसँग हारेको बार्सिलोनामा पीडाको अवस्था छ ।

    बार्सिलोनाका स्ट्राइकर लुइस स्वारेजले आफूहरु लिभरपुल सामु दोस्रो लेगमा ‘स्कूले टिम’ जस्तै देखिएको बताएका छन् ।

    पहिलो लेगमा ३–० ले पराजित भएको लिभरपुलले मंगलबार राति भएको दोस्रो लेगमा ४–० को जित निकाल्दै समग्रमा ४–३ ले बार्सिलोनालाई हराएर फाइनलमा स्थान बनाएको हो । लिभरपुलको यो जितमा डिभोक ओरिजी र जोर्जिनियो वाइनाल्डमले दुई–दुई गोल गरेका हुन् ।

    हारपछि स्वारेजले भनेका छन्, ‘हामी सबै आलोचनाहरुका लागि तयार हुनु पर्छ ।’ उनले अघि भने, ‘हामी निकै निराश छौँ र भयानक पीडामा पनि ।’

    विशेष गरि लिभरपुलको विजयी गोल अर्थात चौथो गोलका बेला आफूहरु पूर्णतः स्कूले टिम जस्तै देखिएको स्वारेजको भनाई छ । उनले भनेका छन्, ‘उनीहरुको चौथो गोलमा हामी त स्कूल ब्वाइज जस्तै भयौँ ।’ गएको सिजन क्वाटरफाइनलमा अवे गोलका आधारमा रोमाले बार्सिलोनलाई नकआउट गरेको थियो । यो सिजन लिभरपुलले सेमिफाइनलमा पराजित गरेको हो ।

    हारपछि बार्सिलोनाका प्रशिक्षक एर्नेस्तो भाल्भेर्देले हारको जिम्मेवारी आफूले लिने बताएका छन् । उनको प्रशिक्षणमा दुवै सिजन बार्सिलोनाले ला लिगाको उपाधि जितेको छ । तर बार्सिलोना सन् २०१५ यता च्याम्पियन्स लिगको फाइनलमा पुग्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार