छैटौं पटक विश्वकप क्रिकेट जित्ने दाउमा अष्ट्रेलिया….


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ १४, २०७६

  • काठमाडौं, चैत १४ । कुनै पनि खेलकुद स्पर्धामा साविकको विजेता टोलीलाई अर्को संस्करण शुरु हुँदा उपाधि दाबेदार नै मानिन्छ। क्रिकेटमा त झन अष्ट्रेलिया नै साविकको विजेता भएपछि यस संस्करणको उपाधि दाबेदार उसलाई मान्नु सामान्य हो।

    क्रिकेटमा नयाँ मान्छेलाई इंग्ल्याण्डमा नयाँ संस्करणको विश्वकप शुरु हुनुअघि २०१५ को विश्वकप विजेता अष्ट्रेलियाका बारेमा बताउँनु परे ‘ब्राजिल अफ क्रिकेट’ भने पुग्छ। ब्राजिलले फुटबलमा जस्तै अष्ट्रेलियाले क्रिकेटमा पाँच पटक विश्वकपको उपाधि उचालिसकेको छ। सन् १९९९, २००३ र २००७ मा लगातार उपाधि उचालेको अस्ट्रेलियाले पहिलो १९८७ र अन्तिम उपाधि २०१५ मा जित्दै विश्वकै सर्वाधिक सफल टोलीका रुपमा आफूलाई उभ्यायो।

    विश्वकपको ११ संस्करणको इतिहासमा नजर डुलाउँने हो भने अष्ट्रेलिया दुई पटक विश्वकपको उपविजेता(१९७५ र १९९६) समेत रह्यो। तीन पटक(१९७९,१९८३ र १९२२)मात्र उसले नकआउट चरण पार गर्न सकेन। सन् १९९९ मे २७ देखि २०११ मार्च १८ सम्म भएका चार विश्वकपका ३४ खेलमा अष्ट्रेलिया अपराजित रहेको थियो। २०११ मा अष्ट्रेलिया च्याम्पियन टोली भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै बाहिरिएको थियो। तर त्यसको चार वर्षपछि अष्ट्रेलियाले पूनरागमन गर्दै उपाधि नै उचाल्यो।

    बिहीबारबाट शुरु हुने विश्वकपको १२औं संस्करणमा जसरी आयोजक इंग्ल्याण्ड र भारतलाई बलियो उपाधि दाबेदारको रुपमा हेरिएको छ। त्यसरी अष्ट्रेलियालाई भने हेरिएको छैन। विगत दुई वर्ष अन र अफफिल्डमा अष्ट्रेलियन टोलीमा भएको ठूलो उथलपुथल त्यसको कारण हो।

    एक समय लगातारको प्रभुत्व पश्चात सफल टोलीमा उतार चढाव देखिनु असामान्य हैन। अष्ट्रेलियन टोलीमा पनि ठिक त्यस्तै भयो। २०१५ देखि २०१६ को अन्त्यसम्म उनीहरुले ७ मध्ये ६ एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) शृंखला जिते। यसअवधिमा उनीहरुसँग श्रीलंका, न्यूजिल्याण्ड, इंग्ल्याण्ड, इण्डियाले माथ खाए।

    दुई देशीय मात्रै हैन, त्रिदेशीय शृंखलामा पनि उनीहरुको नै दबदबा रह्यो। फेब्रुअरी २०१५ मा भएको इंग्ल्याण्ड र भारतसँगको २०१६ मा वेष्ट इण्डिज र दक्षिण अफ्रिकासँग भएको त्रिकोणात्मक शृंखलामा पनि कसैले अस्ट्रेलियालाई रोक्न सकेन।

    तर, सेप्टेम्बर २०१६ देखि डिसेम्बर २०१८ सम्म अष्ट्रेलियाले ७ ओडिआई शृंखला गुमायो। उनीहरुले च्याम्पियन्स ट्रफीमा एकपनि खेल(दुई खेल वर्षाले रद्द) नजितेरै बाहिरिनुपर्यो। विश्वकप विजेता भए पनि टोली आइसिसी वरियतामा तल झर्दै गयो। २०१८ को मार्चमा दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा लज्जास्पद बल छेडछाड काण्डले अष्ट्रेलियन क्रिकेटले संसारभरबाट आलोचना खेप्नु पर्यो। उक्त घटनामा दोषी मान्दै कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि एक वर्षको प्रतिबन्ध लाग्यो।

    यसैवर्षको शुरुमै घरेलु मैदानमा अस्ट्रेलियाले हार चाख्नु पर्यो। त्यसपछि पाकिस्तानविरुद्धको शृंखला ५–० ले क्लिन स्विप गरेलगत्तै यसै वर्षको मार्चमा भारतविरुद्धको शृंखलामा शुरुको दुई खेल हारे पनि पछाडिका लगातार तीन खेल जित्दै शृंखला जितेको अस्ट्रेलिया लयमा फर्कने प्रयासमा छ। उसले विश्वकप अघिका दुई अभ्यास खेलमा समेत इंग्ल्याण्ड र श्रीलंकालाई पराजित गरिसकेको छ।

    यस विश्वकपमा अष्ट्रेलियालाई बल छेडछाड काण्डपछि आफ्नो छवि सुधार्ने र विश्व क्रिकेटमा पूरानै दबदबा कायम राख्ने राम्रो अवसर छ। अर्कातिर यसपटक मुख्य उपाधि दाबेदारमा नपरेपछि उसलाई इंग्ल्याण्ड र भारत भन्दा दबाब पनि कम छ।

    भलै आइसिसी र्याकिंङमा अष्ट्रेलिया हाल पाँचौं नम्बरमा छ तर प्राविधिक रुपमा भने टोली निकै बलियो छ। स्मिथ र वार्नरको पूनरागमनसँगै ब्याटिङ लाइनअप शसक्त बनेको टोलीमा मिचेल स्टार्क, पेट कमिन्स, नाथन लायन र एदम जम्पाको बलिङमा भेराइटी र गहिरोपना छ। अलराउण्डरहरु ग्लेन म्याक्सवेल, मार्कुस स्टोनिज, कुमिन्स र स्टार्कले टोलीलाई ब्यालेन्स बनाएका छन्।

    बिहीबारदेखि १० उत्कृष्ट टोलीहरु विश्व च्याम्पियन बन्ने उदेश्यसहित भिड्नेछन्। त्यसमा खेलाडीहरु मानसिक रुपमा कति सशक्त छन् भन्ने समेत जाँच हुनेछ। अष्ट्रेलियाको अहिलेको टोलीमा २०१५ को विश्वकप जित्दाका ६ अनुभवी खेलाडीहरु फिन्च, स्मिथ, वार्नर, म्याक्सवेल, कमिन्स र स्टार्क छन्। उनीहरुसँग विश्वकपमा जित निकाल्न के आवश्यक पर्छ भन्ने राम्रो अनुभव छ। इङ्लिस कण्डिसनमा स्टार्क र कमिन्स किफायती बलर बन्दै आएका छन्। यस्तै स्पिनर लायन र जम्पाले पनि आफ्नो प्रदर्शनले लगातार प्रभावित पारेका छन्।

    अस्ट्रेलियाको एक मात्र चिन्ताको विषय भनेको उसँग इंग्ल्याण्ड, भारत र वेस्ट इन्डिजजस्तै गुणस्तरका फिनिसर छैनन्। त्यसैले म्याक्सवेल र स्टोनिस, जोसँग लामो प्रहार गर्ने क्षमता छ, उनीहरु यसपटक परीक्षण हुनेछन्। १९ ओडिआईको मात्रै अनुभव भएका एलेक्स केरे अन्तर्राष्ट्रिय क्रिकेटमा अझै नयाँ छन्, उनको प्रदर्शनले समेत खेलमा प्रभाव पार्नेछ।

    एक से एक खेलाडी भएको अस्ट्रेलियन टोलीलाई हेर्दा आगामी जुन १ मा हुने अफगानिस्तान विरुद्धको पहिलो खेलमा राम्रो टोली छान्न प्रशिक्षक जस्टिन ल्यांगर र सिकि पोन्टिङका लागि त्यति टाउको दुखाईको विषय हुने देखिदैँन्। मानिसहरुले यसपटक उपाधिका लागि भारत र इंग्ल्यान्डमाथि बाजी लगाउलान् तर अस्ट्रेलियामा भरोसा गर्ने हो भने यसपटक यो चतुर निर्णय हुनसक्छ। –एजेन्सी

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार