आईसीसी विश्वकप क्रिकेट : बंगलादेश र श्रीलंकाले बाँडे अंक


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, जेष्ठ २८, २०७६

  • काठमाडौं, जेठ २८ ।  इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा निरन्तरको वर्षाले गर्दा खेलहरु अवरुद्ध हुँदै आएपछि प्रतियोगिता नै खल्लो बन्न थालेको छ ।

    केही खेलहरु वर्षा हुँदा ओभर घटाएर भएपनि ‘डकवर्थ लेविस’ नियमानुसार निर्णय हुँदै आएकामा अहिलेसम्म तीन खेल वर्षाले पूरा नै हुन सकेनन् ।

    जसका कारण मंगलबार श्रीलंका र बंगलादेशबीच टससमेत हुन नसकेपछि खेल रद्द हुँदा एक/एक अंक बाँड्न पुगे ।

    यसअघि, श्रीलंका र पाकिस्तान तथा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल पनि रद्द भएको थियो ।

    कुनैपनि विश्वकपमा तीन खेल रद्द भएको यो पहिलोपटक हो । यसअघि, तीन विश्वकपमा दुई खेल वर्षाका कारण रद्द भएका थिए ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले वैकल्पिक व्यवस्था गर्न सकेको छैन । सेमिफाइनल र फाइनलका लागिमात्र ‘रिजर्भ’ दिन राखिएको छ ।

    रिजर्भ दिनमा पनि खेल हुन नसके लिग चरणको स्थानका आधारमा सेमिफाइनलबाट फाइनल पुग्ने व्यवस्था आइसीसीले गरेको छ ।

    फाइनलको रिजर्भ दिनमासमेत खेल हुन नसके दुवै टिमलाई विजेता घोषणा गरिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार