चिनियाँ कम्पनी वीच्याट र अलिपे नेपालमा दर्ता हुने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार ५, २०७६

  • काठमाडौं,  असार ५ ।  डिजिटल भुक्तानी प्रणाली वीच्याट र अलिपेले नेपालमा वैधानिक भई कारोबार विस्तार गर्ने भएका छन्। यी दुबैले नेपाल राष्ट्र बैंकमा कारोबारलाई वैधानिकता दिन आवेदन दिएका छन्।

    राष्ट्र बैंक विदेशी विनिमय विभाग प्रमुख सरिता भट्टले दुबै कम्पनीले कारोबारलाई वैधानिकता गराउने उद्देश्यले अनुमति माग गरेको जानकारी दिइन्।

    ‘वीच्याट, अलिपे र यूनिपे गरी तीन वटाले डिजिटल कारोबारका लागि अनुमति मागेका छन्,’ भट्टले भनिन्, ‘अहिले आवेदन तथा सिस्टमको अध्ययन भइरहेको छ।’

    यसअघि राष्ट्र बैंकले अनुमति नलिइकन कुनै पनि डिजिटल भुक्तानी प्रणाली सञ्चालन हुन नपाउने भन्दै सार्वजनिक सूचना जारी गरेको थियो। सार्वजनिक सूचनापछि यी चिनियाँ कम्पनीले दर्ता हुन आवेदन दिएका हुन्।

    ‘डिजिटल प्रणालीमार्फत् हुने कारोबारको एकीन विवरण राष्ट्र बैंकसँग हुनुपर्छ,’ भट्टले भनिन् ‘अनुमति पाइसकेपछि वीच्याट, अलिपे र यूनिपे वैधानिक हुन्छन्।’

    ठमेल, बसन्तपुर तथा पोखराजस्ता पर्यटकीय क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट, गेष्ट हाउस, ट्राभल एजेन्सीजस्ता ठाउँमा वीच्याट र अलिपेबाट भुक्तानी हुने गरेपछि राष्ट्र बैंकले सार्वजनिक सूचना जारी अनुमतिबिना कारोबार गरे कारबाही गर्ने चेतावनी दिएको थियो।

    खासगरी चिनीयाँ पर्यटकले नेपालमा यी प्रणालीमार्फत भुक्तानी गर्ने गरेका थिए। राष्ट्र बैंकको सूचनापछि काठमाडौंस्थित चिनियाँ दूतावासले पनि त्यस्ता डिजिटल भुक्तानी गर्ने कम्पनीलाई बन्द गर्नुको साटो वैधानिक बनाउनु पर्ने बताएको थियो।

    यी डिजिटल प्रणालीले वैधानिकता पाइसकेपछि हुने कारोबारले रेमिट्यान्समा योगदान देखिनेछ भने व्यवसायीको कारोबारमार्फत राजश्वमा टेवा पुग्नेछ।

    नेपाल बाहिर निकै प्रचलनमा रहेका तर नेपालमा अनुमति नलिएका भुक्तानी सेवाप्रदायकको प्रणालीलाई नेपाल राष्ट्र बैंकको रोक लगाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार