अर्जेन्टिनाको खेलकुद अदालतद्वारा मेस्सीलाई माफी माग्न आग्रह


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, साउन १, २०७६

  • काठमाडौं । साउन १  । अर्जेन्टिनाको खेलकुद अदालतले कोपा अमेरिका कप दौरान रेफ्रीविरुद्ध नकारात्मक अभिव्यक्ति दिएका कप्तान लियोनेल मेस्सीलाई माफी माग्न आग्रह गरेको छ ।

    एक साताअघि ब्राजिलमा सम्पन्न कोपा अमेरिकाअन्तर्गत सेमिफाइनल खेलमा ब्राजिलविरुद्ध पराजित भएपछि मेस्सीले रेफ्रीले सही निर्णय लिन नसकेको आरोप लगाउँदै नकारात्मक अभिव्यक्ति दिएका थिए । त्यसपछि तेस्रो स्थानका लागि भएको खेलमा चिलीविरुद्ध मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मेस्सीले रेफ्रीले ब्राजिललाई सहयोग गरेको भन्दै अभिव्यक्ति दिएका थिए । सोही कारण मेस्सीलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले कारबाहीको तयारी गरिरहेको छ ।

    यस क्रममा कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टका सदस्य गुस्टाभो अब्रिउले मेस्सीलाई माफी माग्न निर्देशन दिएका छन् । उनले मेस्सीलाई कडा कारबाही टार्नका लागि माफी माग्न भनेका हुन् । ‘म मेस्सीलाई लामो कारबाहीबाट वञ्चित हुन मन छ भने माफी माग भन्न चाहन्छु । अर्जेन्टिनी फुटबल संघले पनि मेस्सीलाई यस्तै निर्देशन दिनुपर्छ । उनले जे भने त्यो सही थिएन र यसका लागि लामो कारबाही हुन सक्छ,’ उनले प्रस्ट पारे । मेस्सीले चिलीविरुद्ध जितका बाबजुद पनि तेस्रो स्थानको पदक लिन अस्वीकार गरेका थिए । मेस्सीले अर्जेन्टिनाबाट अझै पनि उपाधि जित्न सकेका छैनन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार