 
                            काठमाडौं । साउन २ । प्यान नम्बर दर्ता लिने ग्राहकको संख्या २२ लाख पुगेको छ। पछिल्लो एक आर्थिक वर्षमा प्यानमा करिव १७ प्रतिशतले दर्ता बढेपछि २२ लाख पुगेको आन्तरिक राजस्व विभागले जनाएको छ। आर्थिक वर्ष २०७४/७५ को असारमसान्तसम्म १९ लाख नेपालीसँग प्यान नम्बर भएकोमा आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्म तीन लाखले बढेको हो।
सरकारले कर्मचारी तथा साना व्यवायीहरूलाई पनि अनिवार्य प्यान लिनु पर्ने व्यवस्था गरेको छ। चालु आर्थिक वर्षबाट निजी तथा सरकारी क्षेत्रमा कार्यरत सबै कर्मचारीले अनिवार्य व्यक्तिगत पान नम्बर लिनुपर्ने छ।
यो सँगै सरकारी र निजी क्षेत्रमा कार्यरत सबै कर्मचारीलाई प्यान नम्बरबिना तलब पाउने छैनन्। प्यान नभएका श्रमिकलाई वितरण गरेको पारिश्रमिक, ज्याला एवं स्थायी लेखा नम्बर उल्लेख नभएको एक हजार रुपैयाँभन्दा बढी मूल्यको बिजकबापतको खर्च कट्टी गर्न नपाउने आर्थिक ऐनमा व्यवस्था गरेकाले पान अनिवार्य गरिएको हो। चालु आर्थिक वर्षको सुरुवातबाट ९४५ रुपैयाँभन्दा बढीको सामान बिक्री गर्दा प्यान विल दिनु पर्ने व्यवस्था गरिएको छ।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    