 
                            काठमाडौं । साउन ६ । आन्तरिक राजश्व कार्यालय भरतपुरले अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष आठ अर्ब २१ करोड ५४ लाख नौ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको छ ।
सो कार्यालयले गत आर्थिक वर्षमा ३० अर्ब दुई करोड ९० लाख सात हजार रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्षको ३५ करोड राजश्व थपिने क्रममा रहेको छ । अघिल्लो आर्थिक वर्षमा रु २१ अर्ब ८१ करोड ३५ लाख ९८ हजार राजश्व संकलन भएको थियो ।
कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार संकलित राजश्वमध्ये सबैभन्दा बढी अन्तशुल्कको छ । अन्तशुल्कमा २६ अर्ब दुई करोड ७४ लाख ९९ हजार संकलन भएको छ ।
त्यसैगरी आयकर दुई अर्ब २१ करोड ३४ लाख ९५ हजार, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ५७ करोड ८६ लाख ३१ हजार, ब्याज करतर्फ १० करोड ३९ लाख तीन हजार, वहाल करतर्फ पाँच करोड ९३ लाख ४९ हजार राजश्व संकलन भएको छ । यस्तै स्वास्थ्य सेवा करतर्फ तीन करोड, ३४ लाख १९ हजार, शिक्षा सेवा शुल्क एक करोड २७ लाख ११ हजार राजश्व संकलन भएको छ । कार्यालयलाई विभागले तोकेको लक्ष्य पूरा गर्न सफल भएको उनले जानकारी दिए ।
उनका अनुसार विभागले कार्यालयलाई ३० अर्ब एक करोड ३६ लाख ५३ हजार राजश्व संकलनको लक्ष्य तोकेको थियो । उनका अनुसार विभागले तोकेको लक्ष्य प्राप्तिका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, करदाता शिक्षा कार्यक्रमलाई गाउँ/गाउँमा पुर्याउने, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउने, कर दातालाई कर दाखिला गराउनका लागि पटक-पटक ताकेता गर्ने लगायतका काम गरिएको थियो ।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    