‘अवतार’ को रेकर्ड तोड्दै ‘एभेन्जर्सः एन्ड गेम’ बन्यो संसारकै धेरै कमाइ गर्ने फिल्म


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन ६, २०७६

  • काठमाडौं । साउन ६ ।  हलिउड फिल्म ‘एभेन्जर्सः एन्ड गेम’ संसारकै सबभन्दा धेरै कमाइ गर्ने फिल्म बनेको छ। गत अप्रिल २२ मा रिलिज भएको ‘एभेन्जर्सः एन्ड गेम’ ले आइतबारसम्म २ अर्ब ८० करोड डलर कमाएसँगै यो हालसम्मकै धेरै कमाउने फिल्म बनेको हो।

    यसअघि सबभन्दा धेरै कमाउनेको रेकर्ड सन् २००९ को ‘अवतार’ को थियो। यसले विश्वव्यापी बजारबाट करिब २ अर्ब ७९ करोड डलर कमाएको थियो।

    एक दशकसम्म कमाइमा आफ्नो वर्चश्व कायम राख्न सफल फिल्म ‘अवतार’ अस्कार अवार्ड विजेता फिल्म हो। ‘एभेन्जर्सः एन्ड गेम’ले यसलाई उछिनेसँगै यो अब दोस्रो नम्बरमा परेको छ।

    ‘एभेन्जर्सः एन्ड गेम’ ले यसअघि नै कमाइका विभिन्न रेकर्ड तोडेको थियो। रिलिजको दुई साता नबित्दै फिल्मले दुई अर्ब बीस करोड डलर कमाएको थियो। योसँगै ‘एभेन्जर्सः एन्ड गेम’ सबभन्दा छिटो दुई अर्ब डलर कमाउने फिल्मको रेकर्ड पनि राखेको छ।

    ‘एभेन्जर्सः एन्ड गेम’ मार्भल कमिक्सको २२ औं श्रृंखला हो। यसमा सबैजसो श्रृंखलाका सुपरहिरोहरू एकैसाथ देखिएका छन्। यो श्रृंखला सन् २००८ मा ‘आइरन म्यान’ बाट सुरू भएको थियो। ‘एभेन्जर्सः एन्ड गेम’ पछि मार्भलको २३ औं श्रृंखलाका रूपमा ‘स्पाइडर म्यान फार फ्रम होम’ पनि रिलिज भइसकेको छ। यसले पनि हालसम्म ९७ करोड डलरभन्दा बढी कमाइसकेको छ।

    यो फिल्म हिन्दी, तेलेगु र तमिल भाषामा पनि रिलिज भएको थियो। भारतमै पनि यसले सबै बलिउड/तेलेगु/तमिल फिल्मका रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बनिसकेको छ। भारतमा साढे तीन सय करोड भारू कमाउने ‘एभेन्जर्सः एन्ड गेम’ नै हो।

    फिल्ममा रोबर्ट डउनी जुनियर, क्रिस इभान्स, मार्क रफालो, क्रिस हेम्सवर्थ, स्कार्लेट जोहनसन, ब्रि लार्सन, जेरेमी रेनर, डन चिडल, पल रूड, क्यारेन गिलान, डनाइ गुरिरा, काडविक बोसम्यान, ब्रयाड्ली कुपर र जोस ब्रोलिनको मुख्य भूमिका छ।

    अहिलेसम्म सबभन्दा धेरै पैसा कमाउनेमा पनि एभेन्जर्स श्रृंखलाका पूर्ववर्ती फिल्मकै वर्चस्व छ।

    ‘एभेन्जर्सः एन्ड गेम’ पहिलो नम्बरमा परेसँगै दोस्रोमा ‘अवतार’ परेको छ भने २० वर्ष पुरानो फिल्म ‘टाइटनिक’ तेस्रो नम्बरमा छ। यसले २ अर्ब १९ करोड डलर हाराहारी कमाएको छ।

    चौथो नम्बरमा करिब २ अर्ब डलर कमाउँदै सन् २०१५ को ‘स्टार वार्सः द फोर्स अवेकन्स’ छ। पाँचौंमा भने ‘एभेन्जर्सः इन्फिनिटी वार’ छ जसको कमाइ ‘स्टार वार्सः द फोर्स अवेकन्स’ भन्दा अलिकति मात्र कम छ।

    त्यस्तै छैठौं स्थानमा एक अर्ब ६७ करोड डलर कमाउने सन् २०१५ को ‘जुरासिक वर्ल्ड’ छ। सातौंमा सन् २०१२ को ‘एभेन्जर्स’ नै छ। यसले पनि करिब एक अर्ब ५२ करोड डलर कमाएको थियो।

    आठौंमा ‘फास्ट एन्ड फ्युरियस’ को सातौं श्रृंखला ‘फ्युरियस ७’ छ। नवौंमा ‘एभेन्जर्सः एज अफ अल्ट्रोन’ ले एक अर्ब ४० करोड डलर हाराहारी कमाएको थियो।

    दसौं स्थानमा पनि मार्भलकै श्रृंखलामध्येको एक ‘ब्ल्याक प्यान्थर’ छ जसले एक अर्ब ३५ करोड डलर कमाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार