कसले जित्लान् त यूईएफए वर्ष खेलाडीको अवार्ड ?


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, भदौ १२, २०७६

  • काठमाडौं । यूईएफए वर्षको पुरुष खेलाडीको घोषणा बिहीबार राति हुँदैछ । यो पटक युरोपको उत्कृष्ट फुटबल बन्ने होडमा तीन जना खेलाडी छन् ।

    बार्सिलोनाका फरवार्ड लियानल मेस्सी र युभेन्टसका स्टार क्रिष्टियानो रोनाल्डो पुरानै अनुहार हुन् । गोल गर्ने खेलाडीहरुको सूचिमा यो पटक गोल बचाउने खेलाडीको नाम समावेश भएको छ । अर्थात् लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले अन्तिम तीनमा स्थान बनाउन सफल भएका छन् ।

    यो अवार्डमा मेस्सी र रोनाल्डोको अधिपत्यलाई तोड्दै गएको वर्ष लुका मोड्रिच युरोपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । अघिल्लो वर्षकै जस्तो नतिजा दोहोर्‍याउन अर्थात मेस्सी र रोनाल्डोको अधिपत्य तोड्न सक्नेमा डच डिफेन्डर भान डाइक आशावादी छन् ।

    पछिल्लो एक दशक जस्तै मेस्सी र रोनाल्डो यो अवार्डका दाबेदार रहँदै आएका छन् । विश्व फुटबल जगत नै यी दुई खेलाडीमा वर्गीकरण भएको छ । सन् २०११ मा सुरु भएको यो अवार्ड रोनाल्डोले तीन पटक (२०१४, २०१६, २०१७) जितेका छन् भने २ पटक (२०११, २०१५) मेस्सीले जिते । जुलाई ३१, २०१८ देखि जुलाई ३१, २०१९ बीचमा मेस्सी आफ्नो क्लब र देशका लागि प्रमुख गोलकर्ता रहँदै आएका छन् ।

    १२ महिनाको समयमा मेस्सीले ५४ गोल गरेका छन् भने रोनाल्डोले ३१ गोल गरेका छन् । समयको रेसियोको कुरा गर्ने हो भने मेस्सीले प्रत्येक ८६ मिनेटमा एक गोल गरेका छन् भने रोनाल्डोलाई एक गोल गर्नका लागि १२७ मिनेट लागेको छ । मेस्सीले यो समयमा धेरै अनपेक्षित गोल गरेका छन् । यसको अर्थ हामीले अपेक्षा गरेभन्दा बाहिरको स्थानबाट मेस्सीले यो वर्षमा धेरै गोल गरेका छन् । उनको १५ गोल अनपेक्षित थियो ।

    यो सूचिमा पर्नका लागि युरोपको सर्वाधिक गोल कर्ता रोबर्ट लेवान्दोस्की भन्दा ११ गोल बढी गरेका थिए । लेवान्दोस्कीले यो सिजन ४० गोल गरेका थिए भने मेस्सीको गोल संख्या ५१ छ । साउथह्याम्टनबाट लिभरपुलमा आवद्ध भएपछि डच डिफेन्डर भान डाइकको प्रदर्शन अविश्मरणीय रह्यो । लिभरपुललाई च्याम्पियन्स लिग जिताउनका लागि उनको भूमिका सबैभन्दा महत्वपूर्ण रह्यो ।

    यस्तै, प्रिमियर लिगमा पनि उनको प्रदर्शन उत्तिकै महत्वपूर्ण थियो । अहिलेसम्म यो अवार्ड कुनै पनि डिफेन्डरले जितेको छैन । यो संस्करणको अवार्ड जित्नका लागि भान डाइकले दुई जना गोलस्कोरिङ प्रतिद्वन्द्वीलाई उछिन्नु पर्नेछ । के उनी मेस्सी र रोनाल्डोलाई पछि पार्न सक्छन् ? उनको पछिल्लो एक वर्षको प्रदर्शन यस्तो छ ।

    भान डाइकले आफ्नो क्लब र देशका लागि गत वर्ष कुल ५९ खेल खेले । त्यसमा उनले नौ गोल गरे र चारवटा एसिस्ट समेत भ्याए । उनले लिभरपुलका लागि कुनै पनि खेलाडीभन्दा धेरै समय (४,४६५) मैदानमा बिताए । लिभरपुल तथा डच डिफेन्सको मुटु मानिएका भान डाइकले आफूअघि आएका ७० प्रतिशतभन्दा बढी बल क्लियर गर्न सफल भए ।

    गएको सिजन प्रिमियर लिगमा सबैभन्दा कम गोल खाने टिम लिभरपुल थियो । जम्मा २२ गोल खाएको लिभरपुलको डिफेन्समा भान डाइकको प्रदर्शन यति बलियो थियो की उनको अगाडिबाट बल ड्रिबल गरेर कमैले मात्र बल बढाउन सक्थे । लिभरपुलका प्रशिक्षक जर्जेन क्लोप भान डाइकको प्रशंसा गरेर कहिले पनि थाक्दैनन् ।

    जर्मन क्लब बोरुसिया डोर्टमण्डका पूर्व प्रशिक्षक क्लोपले युरोपको उत्कृष्ट खेलाडीको ताज डिफेन्डरलाई दिने यो नै सबैभन्दा राम्रो समय हो भनेका छन् । टिमलाई जित दिलाउनका लागि भूमिका जति गोल गर्ने खेलाडीको हुन्छ त्यति नै गोल बचाउने खेलाडीको पनि । ‘आधुनिक फुटबल केही उदार हुनु आवस्यक छ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार