‘रोनाल्डो नै विश्वका उत्कृष्ट खेलाडी हुन्’ : प्रशिक्षक फर्नान्डो सान्तोष


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ २५, २०७६

  • काठमाडौं। ‘यो स्पष्ट एवम् अटल सत्य हो, उनी विश्वकै उत्कृष्ट खेलाडी हन्,’ क्रिस्टियानो रोनाल्डोको गरेको ४ गोलपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले उनको प्रशंसा यसरी गरे।

    लिथुवानियाविरुद्ध मंगलबार राति पोर्चुगलले ५–१ को जित हासिल गर्दा व्यक्तिगत ४ गोल गरेका रोनाल्डो २५ गोलसहित युरोपियन च्याम्पियनसिप छनोटका सर्वकालिन उच्च गोलकर्ता बने।

    उमेरले ३५ वर्ष छुनै लागेका रोनाल्डोले समूह ‘बी’अन्तर्गतको खेलमा पोर्चुगलबाट करियरको आठौं ह्याट्रिकको खुशी मनाउँदै अन्तर्राष्ट्रिय खेलमा गरेको गोल संख्या ९३ पुर्‍याएका छन्।

    अद्भुत खेल जीवनमा पाँच पटकका बालन डी‘अर विजेता रोनाल्डो र बार्सिलोनाका कप्तान लियोनेल मेसीबीत को उत्कृष्ट भन्ने तुलना हुने गरेको छ। तर पोर्चुगिज प्रशिक्षक सान्तोष रोनाल्डो उत्कृष्ट हुन् भन्नेमा कुनै शंका नरहेको बताउँछन्।

    ‘क्रिस्टियानो रोनाल्डोका लागि ताली नबजेको विश्वको कुनै पनि रंगशाला छैन,’ सान्तोषले भने, ‘उनी विश्वकै उत्कृष्ट खेलाडी हुन्।’

    ‘मेरो (प्रशिक्षणमा) पहिलो खेलका लागि हामी पेरिस गएका थियौं। सडकको नजिकै होटलमा हामी पुग्दा रोनाल्डो कै समर्थनका लागि त्यहाँ हजारौंको संख्यामा मानिसहरू जम्मा भएका थिए,’ सान्तोषले भने, ‘उनले गोल नगर्नु भनेको आश्चर्य हो। मानिसहरूले यो अन्त्य हो भन्दैछन्, तर यो अन्त्य होइन, र, अन्त्य हुँदैन पनि।’

    समूह ‘बी’कै अर्को खेलमा सर्बियाले लक्जमबर्गमाथि ३–१ को जित हासिल गरेको छ। सर्बियका लागि अलेक्सान्डर मिट्रोभिचले दुई तथा निमानिया राडोनजिचले एक गोल गरेका थिए। लक्जमबर्गको तर्फबाट डेभिड ट्रुपेलले एक गोल फर्काएका थिए।

    कोसोभोविरुद्ध सान्चोको दुई गोल

    युरोपियन च्याम्पियनसिप २०२० छनोट अन्तर्गतकै समूह ‘ए’को खेलमा जाडोन साञ्चोको दुई गोलप्रेरित इङ्ल्यान्डले कोसोभोविरुद्ध ५–३ गोलको जित हासिल गरेको छ।

    खेलको पहिलो मिनेटमा भालोन बेरिसाले गरेको गोलबाट लिएको अग्रता जोगाउन नसकेको कोसोभोले पहलिो हाफमै ५ गोल खाएको थियो। आठौं मिनेटमा रहिम स्टर्लिङको गोलबाट खेलमा फर्किएको इङ्ल्यान्डका लागि १९औं मिनेटमा कप्तान ह्यारी केन र पहिलो हाफको अन्तिम दुई मिनेटमा सान्चोले दुई गोल गरेका थिए।

    ३८औं मिनेटमा कोसोभोका मेर्गिम भोजभोडाले आत्मघाति गोल गरेको थिए। दोस्रो हाफमा बेरिसाले व्यक्तिगत दोस्रो गोल तथा भेडाट मुरिक्वीले एक गोल गरे पनि कोसोभोलाई हारबाट जोगाउन सकेनन्। सोही समूहको अर्को खेलमा मोन्टेनेग्रोमाथि चेक गणतन्त्रले ३–० को जित हासिल गरेको छ।

    फ्रान्सको सहज जित

    समूह ‘एच’अन्तर्गत मंगलबार राति नै भएको खेलमा घरेलु टोली फ्रान्सले एन्डोरामाथि ३–० को सहज जित हासिल गरेको छ।

    स्टेड डी फ्रान्स रंगशालामा भएको खेलमा फ्रान्सलाई जित दिलाउन किङ्ग्ले कोमान, क्लिमेट लङ्लेट र विसाम बेन येडरले गोल गर्दा एन्टोनी ग्रिजम्यानले पेनाल्टी खेर फालेका थिए।

    सोही समूहका अन्य दुई खेलमा आइसल्यान्डविरुद्ध अल्बानिया ४–२ले विजयी हुँदा माल्डोभाले घरेलु मैदानमा टर्कीसँग ४–० को पराजय बेहोरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार