जोखिम मोलेर यात्रा गर्न बाध्य


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, अशोज ३, २०७६

  • सिन्धुली । कमलामाई नगरपालिकास्थित माडी बजारबाट तिनपाटन गाउँपालिका हिँडेका मणिराज गुरुङ बीच बाटोमा नै अलपत्र परे । बजारबाट बिहान ७ बजे हिँडेका गुरुङलाई तिनतले पुग्न झण्डै १ घण्टा लाग्यो । “पहिले बाइकमा १ घण्टामा बेलघारी नै पुगिन्थ्यो,” उनले भने, “यो चोटि त बेलघारी पुग्न ३ घण्टा लाग्यो, तिनतलेबाट बाइक नगएपछि हिँडेरै गएँ ।” जसरी पनि जानै पर्ने नगए जागिरै जाला भन्ने डर मौसमको ख्यालै नगरी बाटो खन्दा हामी समस्यामा छौं, उनले भने ।
    उनीसँगै गएका देविप्रसाद गौतम पनि तिनतलेमा नै बाइक थन्क्याएर भीमस्थानका लागि पैदल नै बाटो तताए । “गाउँपालिका जाने मुख्य बाटो नै यही हो, वैकल्पिक बाटोको व्यवस्था गरेर काम थालेको भए राम्रो हुन्थ्यो ।” गौतमले भने, “पानी पर्ने बित्तिकै बाटो हिलाम्मे हुन्छ, ज्यानै जोखिम मोलेर हिँड्नु परेको छ ।”

    यही बाटो हुँदै दिनमा ठुला–साना सयौँ सवारीसाधन आवतजावत गर्छन् । कमलामाई नगरपालिका र तिनपाटन गाउँपालिकाको सिमानामा पर्ने तिनतलेमा अहिले धमाधम सडक सम्याउने काम भइरहेको छ । जसले गर्दा १२ नम्बर वडा र गाउँपालिकाका स्थानीयलाई माडी बजार आउन र यताबाट जान समस्या भएको छ ।
    तिनपाटन गाउँपालिकाका कर्मचारी रवीन्द्र पूर्वछाने मगर सिन्धुलीमाडीबाटै आउजाउ गर्छन् । २ घण्टामा कार्यलय पुग्ने मगरलाई अहिले तिनतलेको ओरालो र उकालो चढ्न र झर्न नै २ घण्टा लाग्छ । “पानी पर्ने बित्तिकै माटो बगेर बाइक चलाउनै सकिँदैन,” उनले भने, “घरबाट कार्यालय पुग्दा खेतबाट निक्लिएर आएको जस्तै हुइन्छ ।” कच्ची बाटो त्यही पनि पानीले बिगारेर खाल्डै खाल्डा छ, जसोतसो हिँडिन्थ्यो, अहिले त तिनतलेबाट उत्ता कट्नै मुस्किल पर्छ, उनले भने ।

    लामो समयदेखी यही बाटोमा सवारी चलाउँदै आएका लक्ष्मण आले मगर बाटो हिलाम्मे भएपछि सवारी चलाउनै असहज भएको बताउँछन् । हाम्रोजस्तो डबल क्याप गाडी जसोतसो चलिरहेका छन् । उनले भने, “ठूला गाडी त पानी परेपछि बन्दै हुन्छन्, एक साता हुन लाग्यो यो बाटोमा ठूला गाडी चलेका छैनन् ।” साना डबल क्याप गाडीलाई पनि धकेलेर वा ट्रयाक्टर लगाएर तान्नु पर्ने अवस्था रहेको उनले सुनाए । एकचोटि उकालो तानेको ट्रयाक्टरले २ हजार लिन्छ, कमाउनलाई गाडी चलाएको नाफा जति ट्रयाक्टरमै खर्च भएको उनले सुनाए । “दसैं नजिकिएसँगै गाडीको चाप हुने बेलामा यसरी बाटो बिग्रिँदा सिजनमा पनि आम्दानी गर्न नसकिएला जस्तो छ,” उनले भने । ढुवानी समस्याका कारण गाउँमा सामान महंगिएको उनले बताए ।

    १२ नम्बर वडाध्यक्ष लतिलबहादुर आले मगर पनि बाटोले समस्या निम्त्याएको भन्दै वैकल्पिक बाटोका लागि आफूले पहल गरिरहेको बताउँछन् । उनले भने, “बुधुनेबाट अर्काे बाटो खुलाउन पनि पानीले दिएको छैन ।” दसैंका लागि पनि अर्काे बाटोको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
    तिनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर मगर भने बाटो बनाउनु अघि गाउँपालिकासँग समन्वय नगरेको भन्दै गाउँपालिकाबासी निकै समस्यामा परेको बताउँछन् । चाडपर्व नजिकिँदै गर्दा बाटो अवरुद्ध भएपछि स्थानीय झनै मर्कामा परेको मगरले बताए । उनले भने, “यात्रुहरू बीच बाटोमा नै अलपत्र परेका छन्, बिरामी बोकेर गएको एम्बुलेन्स घण्टौं बाटोमा नै रोकिनु परेको छ । यस्तो सास्ती हँुदा पनि लगानीकर्ताको ध्यान गएको देखिँदैन ।” पहिलेको ठाडो बाटो सम्याउदा खनिएको माटो पनि व्यविस्थित ढंगले नपन्छ्याउदा झनै समस्या भएको उनले बताए ।
    सो सडक प्रदेश नम्बर ३ सरकारको करिब ३२ लाख रुपैयाँ लागतमा सम्याइएको हो । गत वर्षकै लागि बजेट छुट्याइएको भए पनि अघिल्लो वर्ष विभिन्न कारणले काम गर्न नसकिएको भन्दै प्रदेशसभा सदस्य विनोद खड्काले काम गर्दै जाँदा त्यस्तो अवस्था आएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार