स्मार्टवाच निर्माता फिटबिट किन्दै गुगल


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, कार्तिक १६, २०७६

  • अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी गुगलको मातृकम्पनी अल्फावेटले स्मार्टवाच निर्माता कम्पनी फिटबिट किन्न सहमति जनाएको छ ।

    शुक्रवार कम्पनीले २ अर्ब १० करोड डलरमा फिटबिट किन्ने घोषणा गरेको हो । गुगलले आफ्नो मुख्य व्यवसायलाई अनलाइन सर्च इञ्जिनबाट अन्यत्र मोड्न खोजिरहेको छ । साओमी, एप्पल लगायत कम्पनीहरुसँगको तीव्र प्रतिस्पर्धाका कारण फिटबिटलाई पनि बजारमा टिक्न गाह्रो भइरहेको छ । पछिल्लो सम्झौताले गुगललाई वेयरेबल प्रविधिको क्षेत्रमा प्रवेश गराउनेछ ।

    यो घोषणा सार्वजनिक भएपछि शुक्रवारको कारोबारमा फिटबिटको शेयर मूल्य १६ प्रतिशतले बढेको थियो । अल्फाबेटको शेयर पनि शून्य दशमलव ८ प्रतिशतले बढेको थियो ।
    गुगलले फिटबिटको प्रतिकित्ता शेयरलाई ७ डलर ३५ सेन्ट नगद तिरेर किन्ने फिटबिटले बताएको छ ।

    सन् २०१६ मा शेयर बजारमा ‘डेब्यू’ गर्दा फिटबिटको शेयर मूल्य प्रतिकित्ता ३० डलर ४० सेन्ट थियो । त्यसको केही महीना पछि अगष्ट ५ मा फिटबिटको शेयर मूल्य प्रतिकित्ता ५१ डलर ९० सेन्टको कीर्तिमानी उचाईमा पुगेको थियो ।

    अल्फाबेटले कम्पनी किन्ने प्रस्ताव गरेको समाचार सर्वजनिक भएपछि सोमवार फिटबिटको शेयर मूल्य ३० प्रतिशतले बढेको थियो ।

    पछिल्लो समय यसको शेयर मूल्य ७ डलर आसपास रहेको छ । सम्झौता सन् २०२० सम्पन्न हुने अपेक्षा गरिएको छ । फिटबिटसँगको यो सम्झौताले गुगललाई वेयर ओएसको महत्वकांक्षा पूरा गर्न मद्दत गर्ने गुगलका हार्डवेयर प्रमुख रिक ओस्टेर्लो एक ब्लगपोष्टमा बताएका छन् ।

    यसले विश्वभरका मानिसहरुलाई मद्दत गर्ने वेयरेबल निर्माणमा उत्कृष्ट हार्डवेयर, सफ्टवेयर र एआईलाई एकै ठाउँमा ल्याउन समेत सघाउने ओस्टेर्लोको भनाई छ ।

    फिटनेश ब्याण्डहरुलाई लोकप्रिय बनाउने शुरुआती कम्पनीहरुमा फिटबिट पनि पर्दछ । तर बजारमा एप्पल लगायत कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसकेपछि कम्पनी ओझेलमा परेको छ ।

    बजार अनुसन्धाता संस्था आईडीसीले सार्वजनिक गरेको सर्वेक्षण प्रतिवेदनअनुसार सन् २०१९ को दोस्रो त्रैमासमा वेयरेबल मार्केटमा फिटबिट चौथो स्थानमा रहेको छ । यो बजारको शीर्ष स्थानमा चिनियाँ कम्पनी साओमी रहेको छ ।

    दोस्रो र तेस्रो स्थानमा भने एप्पल र हुवावेई छन् । फिटबिटले आफ्नो पहिलो स्मार्टवाच सन् २०१७ मा ल्याएको थियो । तर एप्पल वाचसँग प्रतिस्पर्धा गर्न नसक्दा विस्तारै यो ओझेलमा पर्‍यो ।

    इन्टरनेट सर्च इञ्जिनमा गुगलको वर्चश्व छ । तर विश्वभरका नियामकहरुबाट दबाब बढेपछि यसले हार्डवेयर, स्मार्टफोनलगायत क्षेत्रमा बढी चासो दिन थालेको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार