कुवेतसँग फेरि हार्‍यो नेपाल


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर ३, २०७६

  • काठमाडौं ।  विश्वकप छनोट फुटबलमा नेपालले अर्को पराजय भोगेको छ। एसियाली क्षेत्रको छनोटअन्तर्गत समूह ‘बी’को मंगलबार भएको खेलमा कुवेतले नेपाललाई १-० गोलले हरायो। दोस्रो चरणको विश्वकप छनोटमा नेपालले खेलेको यो पहिलो ‘होम गेम’ हो। यसअघि कुवेतको मैदानमा खेलिएको ‘अवे’ खेलमा नेपाल ७-० गोलको ठूलो अन्तरले पराजित भएको थियो।

    सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि यो छनोट खेल खेलिएको हो। कुवेतविरुद्घको यो खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने थियो। तर, नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशालाको पुनर्निर्माण कार्य निर्धारित समयमा नसकिएकाले यो खेल भुटानको राजधानी थिम्पुस्थित रंगशालामा खेलाइएको हो। घरेलु मैदानमा खेलाउन सम्भव नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले नै भुटानमा खेलाउने प्रस्ताव अघि सारेको थियो।

    खेलका २८औं मिनेटमा कुवेतका लागि बादेर अल मुतवाले निर्णायक गोल गरेका थिए। खेलको प्रारम्भदेखि नै कुवेतले नेपालमाथि दबाब सिर्जना गरेको थियो। खेलका क्रममा नेपाली खेलाडीले पाएको केही गतिला अवसरलाई सदुपयोग गर्न सकेनन्।

    नेपाली टोलीमा केही अनुभवी खेलाडी सहभागी थिएनन्। टोली भुटान प्रस्थान गर्नुभन्दा एक दिनअघि अनुशासनविपरीत कार्य गरेको आरोपमा एन्फाले विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई टोलीबाट हटाउने निर्णय लिएको थियो। यी खेलाडीले राति नाइट क्लबमा गएर मादक पदार्थ सेवन गरी झगडा गरेका कारण एन्फाले कारबाही गरेको हो।

    दोस्रो चरणको विश्वकप छनोटमा नेपालले भोगेको यो चौथो हार हो। हालसम्म पाँच खेल खेलेको नेपालले एक खेलमा भने जित हात पारेको थियो। नेपालले चाइनिज ताइपेईलाई उसैको मैदानमा २-० गोलले हराएको थियो। उक्त खेलमा दुवै गोल हाल कारबाहीमा परेका अञ्जन विष्टले गरेका थिए।

    नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग उसैको मैदानमा ५-० गोलले पराजित भएको थियो। चौथो खेलमा पनि नेपाली टोली जोर्डनसँग उसैको घरेलु मैदानमा ३-० गोलले पराजित भएको थियो। अब नेपालले घरेलु मैदानमा तीन खेल खेल्न बाँकी छ। नेपालले चाइनिज ताइपेईसँग सन् २०२० को मार्च २६ मा, जोर्डनसँग सन् २०२० को जुन ४ मा र अस्ट्रेलियासँग सन् २०२० को मार्च ३१ मा खेल्नेछ।

    समूह ‘बी’मा हालसम्म चार खेल खेलेको अस्ट्रेलिया अपराजित रहँदै १२ अंकसहित पहिलो स्थानमा छ। पाँच खेलबाट १० अंक बटुल्दै कुवेत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। चार खेलबाट सात अंक हात पारेको जोर्डन तेस्रो स्थानमा छ। पाँच खेलबाट तीन अंक जोडेको नेपाल चौथो स्थानमा छ। तालिकाको पाँचौं स्थानमा आसीन चाइनिज ताइपेईले भने चारवटै खेलमा हार भोगेको छ।

    छनोट खेलका लागि एसियाली फुटबल महासंघ (एएफसी)ले एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा पाँच÷पाँच टोली सहभागी छन्। होम एन्ड अवेका आधारमा खेलाइने खेलमा दोस्रो चरणको छनोटबाट आठवटै समूहका विजेता र चारवटा उत्कृष्ट उपविजेता गरी १२ टोली तेस्रो चरणका लागि छनोट हुनेछन्। तेस्रो चरणमा छनोट हुने टोलीले सन् २०२३ को एसियन कप पनि खेल्न पाउने छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार