आज राति एल क्लासिको, को पुग्ला शीर्ष स्थानमा?


  • Frontline Nepal

विश्वकै बहुतप्रतिक्षित बार्सिलोना र रियल म्याड्रिडबीचको एल क्लासिको भिडन्त बुधबार राति हुँदैछ। गत महिना नै हुनु पर्ने प्रतिस्पर्धा क्याटालोनिया क्षेत्रमा भएको गिरफ्तारीले स्थगित भएको थियो।

स्पेनिस ला लिगा अन्तर्गतको प्रतिस्पर्धा रोमाञ्चक हुने पक्का छ। खेलमा जित हात पार्ने टिम लिगको अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ। दुवै टिमले लिगका १६–१६ खेल खेल्दा ३५–३५ अंक जोडेका छन्। गोलअन्तरमा बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा छ।

खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नेउमा नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ। एल क्लासिकोको भिडन्त पछिल्लो पटक गत मार्च १९ मा भएको थियो। सो खेलमा बार्सिलोनाले रियलको मैदानमा १–० को जित निकालेको थियो।

बार्सिलोनाविरुद्धका पछिल्ला ६ ला लिगाका भिडन्तमा रियलले जित निकाल्न सकेको छैन। लिगका ६ मध्ये ४ खेलमा बार्सिलोना विजयी भएको छ भने २ खेल बराबरीमा सकिएका छन्। एल क्लासिकोका सबैभन्दा बढी गोलकर्ता बार्सिलोनाका लिओनल मेसीले पछिल्ला तीन खेलमा गोल वा एसिस्ट गर्न सकेका छैनन्। मेसीले रियलविरुद्ध अहिलेसम्म २६ गोल गरिसकेका छन्।

खेलमा रियलका कप्तान सर्जियो रामोसले एल क्लासिको बढी खेल्ने रेकर्ड बनाउन सक्नेछन्। बुधबार उनले मैदान उत्रिएमा उनको एल क्लासिको खेल संख्या ४३ पुग्नेछ। उनले यसअघि नै मनोलो सान्चित फ्रान्सिस्को गेन्टो र जाभीको नाममा रहेको ४२ खेलको रेकर्ड बराबरी गरिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट