फिफा वर्ष खेलाडीमा भोट चलखेल


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस ९, २०७६

  • फिफा वर्ष खेलाडी २०१९ को अवार्ड बार्सिलोनाका स्टार लियोनल मेसीले जिते । केही प्रतिनिधि र प्रशंसकले भोट हेराफेरीको आरोप पनि लगाएका थिए । जसमध्ये एक थिए, सुडानका प्रशिक्षक ड्राभको लुगारिसिक । उनको दाबीअनुसार पहिलो रोजाइमा लिभरपुलका मोहमद सलाहलाई भोट हालिएको थियो ।

    तर, पछि नतिजा मेसीको नाममा आयो । सलाह फिफा अवार्डको शीर्ष तीनभित्र नै परेनन् ।  लुगारिसिकको दोस्रो रोजाइमा सलाहकै साथी साडियो माने र तेस्रो रोजाइमा पीएसजीका केलियन एम्बाप्पे थिए । तर, अन्त्यमा उनको भोट क्रमशः मेसी, भान डाइक र साडियो मानेलाई गएको देखिन्छ ।

    त्यसै गरी, सलाहले आफ्नै देशका सहकर्मी र प्रशिक्षकको समेत भोट नपाएको चर्चा चलेको थियो । दुवैले उनीहरूको भोट दर्ता नगरिएको आरोप लगाए । इजिप्सियन तथा एस्टनभिल्लाका स्टार अहमद एलमोहामदीले सलाहलाई दिएको भोट सूचीकृत नै नभएको आरोप लगाए ।  अहमदसँगै इजिप्टका ओलम्पिक प्रशिक्षक सक्की घरिवले पनि भोट दर्ता नभएको आरोप लगाए ।

    सलाह शीर्ष तीनभन्दा बाहिर भए पनि मिलानमा अवार्ड समारोह हुनुभन्दा पहिले नै बाहिरिएका थिए । लिभरपुलका सहकर्मी भर्जिल भान डाइक मेसी र क्रिस्टियानो रोनाल्डोभन्दा अगाडि पुरस्कार जित्ने अभियानमा थिए । मेसीले विश्वभरका प्रशंसकको अपेक्षाविपरीत डाइकलाई पछि पारिदिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार