 
                            पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो करिअरको उत्तरार्द्धमा छन् । यद्यपि, उनी अहिले पनि फुटबल मैदानमा सक्रिय नै छन् । ३४ वर्षको उमेरमा पनि उनी विपक्षी पोस्टमा दनादन गोल गरिरहेका देखिन्छन् । सामान्यतया खेलाडीले ३० वर्ष काटेपछि सन्न्यास लिने गर्छन् ।अपवादका रूपमा रोनाल्डोलगायत केही चर्चित खेलाडी वर्तमान समयमा उत्कृष्ट लयका साथ प्रदर्शन गरिरहेका छन् । रोनाल्डाले इटालीको सिरिए लिगमा दोस्रो सिजन बिताइरहँदा युभेन्टसका लागि धेरै गोल गर्ने खेलाडीको सूचीमा आफूलाई उभ्याएका छन् । रोनाल्डोले कहिले सन्न्यास लिन्छन् भन्नेभन्दा पनि उनको सन्न्यासपछिको करिअर कस्तो हुन्छ भन्ने चासोको विषय बनेको छ । रोनाल्डोले दुबईमा स्पोर्टस् अवार्ड कार्यक्रममा सहभागी हुँदै आफ्ना समर्थकलाई यस प्रश्नको उत्तर दिएका छन् ।
‘सन्न्यासपछिको जीवन चलचित्र हो,’ दुबई ग्लोबे अवार्डमा सहभागी भएका रोनाल्डोले भने, ‘मेरो करिअरको त्यो क्षेत्र महत्वपूर्ण छ ।’ रोनाल्डोले सन्न्यासपछि धेरै योजना बनाएका छन् । यसमध्ये अध्ययन पनि पर्छ । फुटबलमा व्यस्तताले आफूले अध्ययन पूरा गर्न नसक्दा दुःख लागेको उनले बताए ।
‘मैले आफ्नो अध्ययन बीचमै छाडेँ, त्यो पनि पूरा गर्नु छ,’ फुटबलबाट सन्न्यासपछि एक विद्यार्थीका रूपमा प्रस्तुत हुन सक्नेतर्फ इंगित गर्दै उनले भने । ‘यो उमेरमा अध्ययन गर्न सक्दिनँ पनि होला,’ हाँस्दै रोनाल्डो भन्छन्, ‘अध्ययनका क्रममा दिमाग केन्द्रित पार्नुपर्छ, यो उमेरमा मलाई अलि गाह्रै पर्छ, यसैकारण चलचित्र नै उत्तम लाग्छ ।’
ग्लोबे अवार्डको आधिकारिक टिभी कार्यक्रममा भविष्यको योजना बताइरहेका रोनाल्डोले तत्कालै फुटबलबाट सन्न्यास नलिने सोच बनाएको स्पष्ट पारेका छन् । फुटबलमा अहिलेसम्म पनि नराम्रो सिजन नगएकाले सन्न्यासै लिनुपर्ने आवश्यकता नरहेको उनको तर्क छ ।
‘समग्र फुटबल करिअरमा सबै सिजन उत्कृष्ट नै रहे र मलाई चुनौती सामना गर्न मन पर्छ,’ उनले भने, ‘मेरो योजना नै आफू आबद्ध क्लबलाई जित दिलाउनु नै हो ।’ शरीरले खेल्न नसक्ने बताएपछि मात्र सन्न्यास घोषणा गर्ने उनले जनाए ।
‘जब मेरो शरीर थाक्छ, त्यसवेला म आफ्नो बुट बिसाउनेछु,’ सन्न्यासको समयबारे उनी भन्छन्, ‘पहिला–पहिला खेलाडीले ३० वा ३२ वर्षको उमेरमै सन्न्यास लिने गर्थे । अहिले हेर्नुस्, ४० वर्षको उमेरमा पनि मजाले खेलिरहेका छन् ।’ नयाँ पत्रिकामा खबर छ ।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    