कवि यज्ञराज ओझाको कृति ‘जीवन चेतना’ लोकार्पण


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ १७, २०७४

  • काठमाडौं, १७ माघ– कवि यज्ञराज ओझाको कविता सङ्ग्रह ‘जीवन चेतना’ आज सार्वजनिक भएको छ । यसमा छन्दका ५८ कविता संग्रहित छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भूतपूर्व गभर्नर डा. गणेशबहादुर थापा, प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरे लगायतले संयुक्त रूपमा यस कृतिको लोकार्पण गरेका थिए ।

    ‘जीवन चेतना’ कविता सङ्ग्रहमाथि भूतपूर्व माननीय मन्त्री नारायणदत्त भट्ट, तारिणीदत्त चटौत तथा वरिष्ठ साहित्यकार आर.डी प्रभास चटौत, कवि भालचन्द्र भण्डारी ‘ब्रह्मगोल’, समालोचक गिरिराज जोशी र उपप्राध्यापक दिव्येश्वरी जोशीले कृतिमाथि समीक्षा गर्नुका साथै कविता वाचन पनि गरेका थिए ।

    डोटेली समाजका अध्यक्ष माधवप्रसाद भट्ट, प्रशंसा समूहका अध्यक्ष अम्बादत्त भट्ट, प्रा.डा यज्ञराज पन्त, भूतपूर्व सचिव श्रीमान् श्रेष्ठ, डा.नरबहादुर रजवार, डा.पुष्करराज भट्टलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । कवि तथा साहित्यकार सुभाषचन्द्र भण्डारीले सञ्चालन गरेको कार्यक्रममा कृतिका प्रकाशक डा.एकराज ओझाले विनायक पुस्तकालयका तर्फबाट स्वागत मन्तव्य राखेका थिए ।

    ८४ वर्षअघि डोटीको सिलगढी बजारमा जन्मिनुभएका कवि यज्ञराज ओझाको मूल घर डोटीको मौवा गाउ हो । वि.सं. २०७२, आश्विन २१ गते धनगढी, कैलालीमा उहाँको निधन भएको हो । कविको वार्षिक पुण्य तिथिको अवसर पारेर उहाँका छरिएर रहेका फुटकर कविताहरूलाई कृतिको रुप दिईएको हो । यस काममा रचनाकारका भाइ तथा छोराहरूले महत्वपूर्ण योगदान पुर्‍याएका थिए ।

    यस ‘जीवन चेतना’ कृति प्रकाशनका क्रममा रचना छनौट तथा सम्पादन कार्य कवि सुभाषचन्द्र भण्डारीले गरेका हुन् । डा.प्रेम चौलागाईं र युवाकवि हेमन्त ‘विवश’ ले यसमा विशेष सहयोग पुर्‍याएका थिए । यो कृतिको प्रथम संस्करणलाई विनायक पुस्तकालय मौवा नगरदह, डोटीले प्रकाशन गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार