जाभी हर्नान्डेज भन्छन् : “बार्सिलाेनाकाे प्रशिक्षक हुन पाउनु मेराे साैभाग्य हाे ।”


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, पुस २७, २०७६

  • काठमाण्डाै ।  पूर्व खेलाडी जाभी हर्नान्डेजले बार्सिलोनाको प्रशिक्षक हुन पाउनु आफ्ना लागि सपना भएको प्रतिक्रिया दिएका छन् ।

    पछिल्लो समय क्लबले खराब प्रदर्शन गर्न थालेपछि अर्नेस्तो भाल्भार्डेको पद धरापमा पर्न लागेका बेला जाभी र क्लबका पदाधिकारीबीच बैठक भएको छ । जाभी बार्सिलोनाको जर्सीमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् । १७ वर्षे करियरमा उनले २५ वटा उपाधि जितेका थिए ।

    दुई दिनअघि स्पेनिस सुपर कपको सेमिफाइनलमा एट्लेटिको मड्रिडसँग पराजित भएपछि भाल्भार्डेको चर्को विराध हुन थालेको छ भने जाभीलाई नियुक्त गर्ने चर्चा पनि चल्न थालेको छ । स्पेनिस सुपर कपमा पराजित हुनअघि बार्सिलोना ला लिगामा रेलिगेसन जोनमा संघर्ष गरिरहेको स्पान्योलसँग २–२ गोलको बराबरीमा रोकिएको थियो ।

    जाभीले बार्साका स्पोर्टिङ डाइरेक्टर इरिक अबिदल र प्रमुख कार्यकारी ओस्कार ग्राउसँग भेट गरेका थिए । जाभीले बार्सिलोनाको प्रशिक्षक हुन पाउनु आफ्नो सौभाग्य हुने बताउँदै आएका छन् ।

    अहिले जाभी कतारी क्लब अल सादको प्रशिक्षण सम्हालिरहेका छन् । बार्साका पदाधिकारीहरु उनलाई भेट्न कतार नै पुगेका थिए । केही दिनअघि अल सादका स्पोर्टिङ डाइरेक्टर मोहम्मद गुलामले पनि जाभी बार्सिलोना जाने कसरतमा रहेको बताएका थिए ।

    ‘बार्सिलोना र जाभीबीच कुरा भइरहेको छ । उनी जहाँ भए पनि हाम्रो शुभकामना छ,’ गुलामले कतारका सञ्चारमाध्यमसँग भनेका थिए । यो पटकको भेटमा उनलाई प्रशिक्षकको जिम्मेवारीको प्रस्ताव गरिएको पनि बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार