रहेनन् ‘कट, कपी, पेस्ट’कमान्डका जन्मदाता…


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन १०, २०७६

  • काठमाडौं। कागजका पानामा कलमले लेख्ने चलन हराउँदैछ। लेखकहरू त मसीको जमानाबाट भर्च्युअल युगमा आइसके जहाँ अक्षरहरू कम्प्युटरको स्क्रिनमा दौडिरहन्छन्। किबोर्डमा औंला दौडाउँदै स्क्रिनमा अक्षर खिपाउने प्रविधिका धेरै फाईदा छन्। लेखिसकेका अक्षर यताको उता गर्न मिल्छ। काम लाग्ने वाक्यहरू यो फाइलबाट त्यो फाइलमा सार्न मिल्छ। कति चोर बुद्धि भएकालाई त यही नै गरिखाने मेलो भएको छ। अरूले लेखेका सामग्री ‘कट’ ग‌र्‍यो, आफ्नो फाइलमा ‘पेस्ट’ गर्‍यो।

    लेखनमा सहजता ल्याउने यो विधिका जन्मदाता थिए ल्यारी टेस्लर। उनैले भित्र्याएका थिए – ‘कट’, ‘कपी’ र ‘पेस्ट’ कमान्ड।  सिंगो कम्युटिङ पद्धति नै सहज बनाउने यी कमान्डका जन्मदाता अब हामीसँग भने रहेनन्। ७४ वर्षको उमेरमा उनको निधन भएको छ। टेस्लरले आफ्नो करिअरको सबैभन्दा धेरै समय बिताएको कम्पनी ‘जेरोक्स’ले ट्वीट गर्दै उनीप्रति सम्मान जनाएको छ।

    “कट/कपी र पेस्ट, फाइन्ड एन्ड रिप्लेस जस्ता कमान्डका आविष्कारक ल्यारी टेस्लर जेरोक्सका पूर्व अनुसन्धानकर्ता थिए”, कम्पनीले ट्वीटमा भनेको छ, “उनका क्रान्तिकारी विचारले हाम्रो काम सजिलो भएको छ। उनलाई धन्यवाद छ।”

    सन् १९६० को दशकमै टेस्लरको कम्युटर जगतमा प्रवेश भएको थियो जतिबेला विश्वका बहुसंख्यक मानिसले कम्प्युटर देखेका पनि थिएनन्।  सन् १९४५ मा न्यू योर्कमा जन्मिएका टेस्लरले ‘स्ट्यान्डफोर्ड युनिभर्सिटी इन् क्यालिफोर्निया’ बाट ग्य्राजुएट गरेका थिए। ग्य्राजुएसनपछि उनले कम्प्युटरलाई प्रयोग मैत्री बनाउने अनुसन्धानहरूमा लागिपरे।

    आफ्नो लामो करिअरमा उनी विभिन्न प्रविधि उद्योगका लागि काम गरे।  शुरूमा उनले जेरोक्स कम्पनीमा काम गरे त्यसपछि एप्पलमा। एप्पल छोडेपछि उनले शिक्षा सम्बद्ध स्टार्ट-अप शुरू गरे। त्यही बिचमा अमेजन र याहुका लागि पनि काम गरे।

    कट र पेस्ट कमान्डको आविष्कार टेस्लरले सम्पादनको पुरानो पद्धतिबाट ग्रहण गरेको अनुमान गरिन्छ। पहिला सम्पादनको क्रममा मानिसहरूले कागजमा लेखिएका विभिन्न अंश काट्थे र चाहिएको ठाउँमा गुँदले टाँस्थे।  उनले आविष्कार गरेको कमान्ड एप्पल सफ्टवेयरले पहिलोपल्ट ‘लिजा कम्प्युटर’मा प्रयोग गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार