कोरोना भाइरस फैलिने त्रासबीच इटालियन लिग अन्तरगत इन्टर मिलान र साम्पडोरियाबीचको खेलसहित अन्य दुई खेल स्थगित गरिएको छ । इटालीका प्रधानमन्त्री जिउसेप्पे कोन्टेले शनिबार पत्रकार सम्मेलन गर्दै खेलहरु स्थगित गरिएको जानकारी दिएका हुन् ।
‘खेलकुद मन्त्री स्पाडाफोराले आइतबार भेनेटो र लोम्बार्डी क्षेमा खेलाइने सबै खेल स्थगित गर्न सुझाव दिएका छन्,’ कोन्टेले भनेका थिए । योसँगै भेरोना र काग्लियारी तथा एटलान्टा र सासुलोबीचको खेल पनि रद्द भएको छ । इन्टर मिलानले आफ्नो ट्वीटरबाट सान सिरोमा खेलिने खेल स्थगित भएको जानकारी दिएको थियो । लोम्बार्डीमा कोरोना भाइरसबाट संक्रमित महिलाको मृत्यु भएपछि खेलहरु स्थगित गर्ने निर्णय लिएको हो । २४ घण्टाको अन्तरमा इटालीमा कोरोनाभाइरस संक्रमित दुई जनाको मृत्यु भएको छ ।