सबैभन्दा चर्चित पाँच भिडिओहरु…


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन ११, २०७६

  • ‘डेस्पासितो…’ स्पेनी भाषाको यो गीत आएको तीन वर्ष कट्यो। ड्याडी यांकी र लुइस फोन्सीले गाएको यो गीतलाई आजसम्म पनि युट्युबमा कुनै गीतले उछिन्न सकेको छैन। आजसम्म साढे छ अर्ब पटक हेरिएको यो गीत अझै एकाध वर्ष सबभन्दा धेरै हेरिने सूचीको नम्बर एकमै रहने अनुमान छ।

    डेस्पासितो’लाई पछ्याउँदै दोस्रो नम्बरमा सफल गीत हो एड शरिनको ‘सेप अफ यु’। यो गीत ‘डेस्पासितो’ सँगसँगै रिलिज भएको हो। यसले हालसम्म चार अर्ब ६३ करोड बढी भ्युज पाएको छ।

    पहिले खासै अगाडि नभए पनि पछिल्लो समय भ्युज बढेर तेस्रो नम्बरमा पर्न सफल गीत हो ‘बेबी सार्क डान्स’। सन् २०१६, जुनमा रिलिज यो गीत ‘पिंकफङ किड्स सङ्स एन्ड स्टोरिज’ले राखेको हो। जनावरसम्बन्धी यो बालगीतले ‘सेप अफ यु’ लाई एकदमै नजिकबाट पछ्याइरहेको छ। केही दिनमा यसले दोस्रो स्थान ओगट्ने सम्भावना छ।

    चौथो नम्बरमा रहन सफल हो ‘सि यु अगेन।’ फिल्म ‘फास्ट एन्ड फ्युरियस’को यो गीत दिवंगत अभिनेता पल वाकरका सम्झनामा बनाइएको हो। विज खालिफा र चार्ली पथको स्वर दिएको यो गीत‍ले युटयुबमा पाँच वर्ष राज गर्न सफल ‘गङनम स्टाइल’ लाई पछि पारेको थियो। सन् २०१५ मा आएको यो गीतको एक नम्बर स्थान ‘डेस्पासितो’ कै कारण गुमेको हो। यसको भ्युज झन्डै साढे चार अर्ब छ।

    सन् २०१२ मा को एउटा भिडिओ अहिले युट्युबमा सर्वाधिक हेरिएकाको सूचीमा उक्लिँदै पाँच नम्बरमा परेको छ। गेट मुभिजको कार्टुन श्रृंखला ‘माशा एन्ड द बियर’ को ‘रेसिपी फर डिजास्टर’ भागमा चार अर्ब २३ करोड भ्युज छ।

    सबभन्दा धेरै हेरिएकाको सूचीमा यसपछिका भिडिओले भने अहिलेसम्म चार अर्ब भ्युज पुर्‍याएका छैनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार