कोरोनाको असर : खाली रंगशालामा फुटबल


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, फाल्गुन १३, २०७६

  • इटालियन क्लब इन्टर मिलानले युरोपा लिगको अन्तिम ३२ टिमको खेलमा बुल्गेरियन क्लब लुडोगोरट्स राज्गार्डविरुद्ध खेल्दैछ। तर, बिहीबार राति इन्टर मिलानको घरेलु मैदानमा हुने खेलमा दर्शक भने हुने छैनन्। यसको कारण हो कोरोना भाइरसको डर।

    गएको आइतबार नै इटालियन सिरी ए अन्तर्गत हुनुपर्ने चार खेल पनि कोरोनाकै डरले स्थगित गरिएको थियो। जसमध्ये इन्टर मिलानमै हुनुपर्ने इन्टर मिलान र साम्पोडोरियाबीचको खेल पनि हो। त्यस्तै टोरिनो र पार्मा, भेरोना र काग्लिएरी साथै सासुओलो र एटलान्टाबीचको खेल पनि स्थगित गरिएको थियो।

    अहिले युरोपा लिग अन्तर्गतकै खेल पनि कोरोनाको डरले प्रभावित हुने देखिएपछि विभिन्न क्लब, सरकारी अधिकारी र युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएबीच कुराकानी भइरहेको छ।  अहिलेसम्म १ सय ६५ बिरामी भेटिएको इटाली युरोपमा कोरोना भाइरसका सबैभन्दा बढी बिरामी भेटिएको देश हो। कोरानाकै कारण मिलानमा धेरै विद्यालय र क्याम्पसहरु बन्द भए पनि सार्वजनिक यातायातका साधन भने सञ्चालनमा नै छन्।

    यसले कोरोना भाइरस सुरुमा भेटिएको चीन र अहिले इटालीमा मात्रै होइन अरु विभिन्न देशमा खेलकुद गतिविधिमा असर पुर्‍याइरहेको छ।  च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत इटालियन क्लब नापोली र स्पेनिस क्लब बार्सिलोनाबीच नापोलीको मैदानमा हुने खेलका लागि इटाली जानुअघि बार्सिलोनाका सबै खेलाडीले कोरोना परीक्षण गरेका थिए। इटालीले आफ्नो देश आउने हरेकले जाँच पूरा गर्नुपर्ने उल्लेख गरेको छ।

    इटालीमा देखिएका कोराना संक्रमितले गर्दा खेलबारे नै विभिन्न प्रश्नहरु उठिरहँदा बार्सिलोनाका प्रशिक्षक क्विके सेटियन भने आफूले कोरोनाबारे चिन्ता नलिएको बताएका छन्। ‘कोरोनाका कारण मेरो टिमलाई लिएर मलाई चिन्ता छैन। अहिलेसम्म जो जतिलाई संक्रमण भएको छ उनीहरुका लागि मेरो साथ छ। यो जोकसैलाई हुन सक्ने संक्रमण हो, आश गरौँ यसबाट छिटो सबैलाई छुटकारा मिलोस्’ उनले भनेका छन्।

    दक्षिण कोरियामा स्केटिङ च्याम्पियनसिप हेरिरहेका दर्शक। 

    अहिलेका खेल गतिविधि मात्रै होइन २४ जुलाई २०२० देखि हुने तय भएको टोकियो समर ओलम्पिकलाई पनि कोरोनाले असर गर्ने डर विश्व खेलकुदमा देखिएको छ।

    विश्व खेलकुदमा कोरोनाका कारण कस्तो असर भइरहेको छ? केही उदाहरण हेरौँ,
    – रग्बीका लागि अस्प्रेस र अल्सटरको टिम २९ फेब्रुअरीमा हुने खेलका लागि २४ फेब्रुअरीमा इटाली जानुपर्ने थियो तर स्थगित भयो। इटालियन रग्बी फेडेरेसनले २८ फेब्रुअरीदेखि मार्च १ सम्म हुने राष्ट्रिय च्याम्पियनसिपका खेलहरु पनि स्थगित गरेको छ।

    • दक्षिण कोरियाको लिग फुटबल ‘के लिग’का खेलहरु पनि सरेका छन्। त्यसमध्ये एफएफसी च्याम्पियन्स लिगमा खेल्ने चार टिमहरु बन्द रंगशालामा खेले।

    • इटालीमा सिरी ए का केही खेलहरु पनि स्थगित भएका छन्। यस्तै सिरी बी र सिरी डी का खेलहरुका साथै केही युवा टिमका खेलहरु पनि कोरोनाकै कारण स्थगित गरिएका छन्।

    • रग्बीमा नै स्कटल्याण्ड महिला टिम र इटालीबीच हुने भनिएको खेल पनि स्थगित भयो।

    • २०२२ को विश्वकप फुटबलका लागि भइरहेको छनोटमा चीनले घरेलु मैदानमा खेल्नुपर्ने माल्दिभ्स र ग्वामसँगको खेलहरु थाइल्याण्डमा सारिएको छ। जहाँ बन्द रंगशालमा नै फुटबल खेलाउने तयारी छ।

    • टेबल टेनिस विश्व च्याम्पियनसिप अन्तर्गत पहिलो चरणमा हुनुपर्ने खेलहरु दक्षिण कोरियाले स्थगित गरेको छ। विश्व स्वास्थ्य संगठनको सुझाव लिएर खेलका लागि नयाँ स्थान तोक्ने तयारी भइरहेको छ।

    इटालियन क्लब रोमाका दर्शकहरु खेल हेर्दै। 
    • टेनिस अन्तर्गत चीनमा हुने महिला सिआन ओपनका खेलहरु पनि स्थगित भएका छन्। विश्व टेनिस एशोसियसनले अवस्थाको निरीक्षण र अनुसन्धानपछि खेल कसरी हुने भन्नेबारे निक्यौल गर्ने जनाएको छ।

    • टेनिस अन्तर्गत नै डेभिस कपको खेल खेल्न चीनको पुरुष टिम रोमानिया जान असमर्थ रह्यो। जसले गर्दा चीनको प्लेअफ खेल नै छुट्यो।

    • बीच भलिबल अन्तर्गत याङजाओमा हुनुपर्ने प्रतियोगिता २०२० को टोकियो ओलम्पिकसम्मका लागि स्थगित गरिएको छ।

    • फेब्रुअरी २९ देखि सिंगापुरमा हुने भनिएको एसियन मिक्स मार्सल आर्टका खेलहरु पनि दर्शकबिना बन्द कभर्ड हलमा हुने भएको छ।

    • अस्ट्रेलियाको मेलबर्नमा जिम्न्यास्टिक विश्वकपमा पनि चीनको टिम सहभागी हुन पाएन।

    • मार्चमा काजकिस्तानमा हुने भनिएको एसियन भारोत्तोलन च्याम्पियनसिप अन्तर्गतका खेलहरु उज्बेकिस्तानमा सारिएको छ।

    • गल्फ अन्तर्गत युरोपियन टुर मेब्यान्क च्याम्पियनसिप र भोल्भो चाइना ओपनका खेल अप्रिलमा हुने तय भए पनि अहिलेलाई स्थगित भएको छ।

    • बास्केटबलमा फिबा एसिया कप बास्केटबलको छनोटमा जापान र चीन, फिलिपिन्स र थाइल्याण्ड साथै चीन र मलेसियाबीच हुनुपर्ने खेलहरु स्थगित भएका छन्।

    थाइल्याण्डको बुरीराम युनाइटेडका खेलाडी अभ्यासका लागि मैदानमा जाँदै। 
    • अप्रिलमा हुने तय भएको रग्बी अन्तर्गत सिंगापुर र हङकङबीचको विश्व रग्बी सेभेन्स सिरिजका खेलहरु अक्टोवरसम्मका लागि भनेर स्थगित गरिएको छ।

    • गल्फ अन्तर्गत चीनले पिजिए टुर सिरिजका दुई छनोट प्रतियोगिता नै हालका लागि स्थगित गरेको छ। यस्तै नियमित हुनुपर्ने अन्य प्रतियोगिताहरु पनि हुन सकेका छैनन्।

    • कोरोनाकै कारण भन्दै फर्मुला वान अन्तर्गत सांघाइमा हुनुपर्ने चाइनिज ग्रान्ड पिक्सका खेल पनि सारिएको छ। सरेको खेल कहिले हुने भन्ने यकिन छैन।

    • गल्फ अन्तर्गत होन्डा एलपिजिए थाइल्याण्ड इभेन्टका खेलहरु स्थगित भएका छन्। साथै एचएसबिसी महिला विश्व च्याम्पियनसिपका खेलहरु सिंगापुरमा हुने भनिए पनि स्थगित भएका छन्। यस्तै थाइल्याण्डमा हुने एम्योचर एसिया प्यासिफिक गल्फ च्याम्पियनसिपका खेलहरु थाइल्याण्डमा १२ देखि १५ फेब्रुअरीमा हुने भनिए पनि स्थगित भएको छ।

    • हक्की अन्तर्गत हक्की प्रो लिगमा चीन र अस्ट्रेलियाबीच हुनुपर्ने खेल स्थगित भएको छ।

    • एएफसी कप फुटबल अन्तर्गतका खेलहरु गर्न नसकिने भनेर भियतनामले घोषणा गरेको छ। यस्तै एसियन च्याम्पियन्स लिगमा चीनका क्लबहरु संलग्न सबै खेलहरु सारिएको छ। तर कहिले हुने भन्ने यकिन छैन।

    • चीनको सान्यामा फर्मुला इ मोटर रेसिङ सिरिजका खेलहरु हुने तय भए पनि स्थगित भएको छ।

    • ब्याडमिन्टनमा चाइना मास्टर टुर्नामेन्टबाट केही खेलाडीले आफ्नो नाम झिकेपछि प्रतियोगिता नै स्थगित भयो। अप्रिलमा हुने भनिएको ब्याडमिन्टन एसिया च्याम्पियनसिप पनि अन्योलमा छ।

    • चीनको महिला राष्ट्रिय फुटबल टिमले मार्चमा दक्षिण कोरियासँग घरेलु मैदानमा खेल्नुपर्ने खेल अस्टे«लियाको सिड्नीमा सारिएको छ। त्यसका सहभागिताका लागि चीनका खेलाडीलाई अहिलेदेखि नै क्वारेन्टाइनमा राखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार