अन्योलमा छन् इटालीमा रहेका नेपाली


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १८, २०७६

  • इटाली । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको सङ्क्रमण नदेखिए पनि इटलीको राष्ट्रिय सङ्कटकालअन्तर्गत घरमै बसिरहँदा उनीहरुमा एक प्रकारको छटपटी छ ।

    युरोपेली मुलुक इटलीमा कोभिड–१९ को सङ्क्रणका कारण हालसम्म ११ हजार ५९१ को दुःखद निधन भइसकेको छ भने उपचाररतमध्ये झण्डै ४०० गम्भीर अवस्थामा छन् । चीनबाट फैलिएको सो भाइरसका कारण हालसम्म विश्वमा ३७ हजारभन्दा बढीको मृत्यु हुँदा इटालीपछि स्पेनमा सबैभन्दा बढी सात हजारभन्दा बढीको मृत्यु भएको छ । वल्र्ड ओमिटर्स डट इन्फोका अनुसार इटालीमा कूल एक लाख एक हजार ७२९ लाई सङ्क्रमण देखिएकामा इटालीमा सङ्क्रमितमध्ये १४ हजार ६२० जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ जनवरी २९ मा पहिलो सङ्क्रमित भेटिएका थिए । बाहिर आएको भन्दा अझ बढी तथ्याङ्कमा सङ्क्रमित हुन सक्ने पनि जनाइएको छ । इटालीमा शुरुमा १७ वर्षका एक नागरिकको निधन भएको थियो भने करीब छ हजारको सङ्ख्यामा स्वास्थ्यकर्मीकै मृत्यु भइसकेकाले त्यहाँ जनताले ठूलो सङ्कट व्यहोरिरहेका छन् । इटालीको उत्तरी भागमा रहेको लोभागियामा सबैभन्दा बढी असर परेको छ, त्यहाँ पनि नेपाली रहेका छन् । इटालीको अनुभवमा नियमित व्यायाम र दैनिक काम गर्ने पनि सङ्क्रमित र मृत्यु भएका छन् । पहिला अन्य रोग लागेकालाई अन्य मुलुकमा झैँ बढी असरमा पारेको छ ।

    इटाली सरकारले जरुरी काममा बाहेक त्यहाँको एक पालिकाबाट अर्काे पालिकामा मानिसलाई जान रोक लगाइएको छ । ‘लकडाउन’ उलङ्घन गर्नेलाई ४०० देखि तीन हजार युरोसम्म कारवाही तोकेको छ । त्यहाँ गत ४ मार्चदेखि राष्ट्रिय सङ्कट घोषणा गरिएको थियो । पछिल्ला दिनमा इटालीलाई सघाउन रुस र चीनबाट स्वास्थ्य टोली आएका छन् । स्थिति भयावह भए पनि इटालीको सरकारले भाइरसको महामारीसँग जुध्नबाट हात उठाएको भन्ने सत्य होइन । प्रधानमन्त्री ग्युसेप्पे कोन्तेले त्यहाँका संसद्मा बोल्दै सरकारले महामारी रोक्न चालेका कदम र भावी नीतिबारे अवगत गराउँदै आएका छन् । इटालीमा रोमसहित मिलान, पेनिस, आवोस्ता, तोरिनो, पिसा आदि शहरमा नेपाली रहेका छन् ।

    इटालीको राजधानी रोमस्थित एक स्टार होटलमा कार्यरत रामहरि खकुरेलले सबैतिर भइरसको समस्या हुँदा त्यहाँका होटेल व्यवसाय कहिले सञ्चालन हुने कुनै सुनिश्चितता नहुँदा नेपालीमा मानसिक तनाब पैदा भएको राससलाई बताउनुभयो । नुवाकोट घर भएका खकुरेलले भन्नुभयो, “यहाँको अवस्था नाजुक छ । पछिल्ला दिनमा सङ्क्रमितको सङ्ख्यामा कमी आए पनि पूर्णत घटेको मान्न सकिँदैन । इटलीको सम्पूर्ण भागमा भाइरस पुगेको छ । सबै भागमा सङ्कटकाल लगाएको छ । हामी नेपाली एकापसमा सम्पर्क र समन्वयमै रहेका छौँ ।” गैरआवासीय नेपाली सङ्घ (एनआएनए) का इटाली शाखाका पूर्वसचिव खकुरेलले इटालीका जनतालाई सरह आफूहरुलाई पनि आवश्यक पर्दा स्वास्थ्य परीक्षण र उपचार गर्न सरकारले प्रतिबद्धता जनाएको जनाउँदै सरकारले त्यहाँका नागरिक कसैको पनि रोजीरोटी नगुमोस् भनेर आर्थिक सहायताको घोषणा गरेको तथा व्यवसाय र रोजगार बन्द हुने कम्पनी र व्यक्तिलाई सहायता दिने जानकारी दिनुभयो ।

    उहाँका अनुसार एनआएरएन शाखाले दुई हजार दुई सय युरोको आपत्कालीन कोष बनाएर आर्थिक समस्यामा परेका नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ तर हालसम्म नेपाली आर्थिक सङ्कटमै भने परेका छैनन् । मिलान शहरमा कार्यरत नेपाली आशा लामा हालसम्म कुनै नेपालीलाई सङ्क्रमण नभए पनि आफूहरु त्रसित अवस्थामा रहेको जनाउनुभयो । नेपाली समुदायलाई कुनै समस्या परेको खण्डमा इटालीस्थित नेपाली दूतावासले पनि आवश्यक समन्वय गर्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार