आरती बराल
यतिबेला सम्पुर्ण मानवजगत् कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ। मानिसहरुलाई कैयौं दिनसम्म घरभित्र थुनिन बाध्य बनाएर यो भाइरस आफू भने संसारभर डुलिरहेको छ । यसको सम्पर्कमा आउने हजारौंको ज्यान गएको छ । लाखौं संक्रमित भएका छन् ।
कोरोनाको कहरले हामी सबै त्रसित छौँ । चीन, इटाली, स्पेन, फ्रान्स, संयुक्त राज्य अमेरिका र अन्य देशहरुमा कोरोनाले गरेको मानव क्षति कहालीलाग्दो छ । त्यहाँको अवस्था, रोदन र क्रन्दनका प्रत्यक्षदर्शी नभए पनि आउँदा दिनमा त्यस्तै अवस्था हामीले पनि भोग्नु पर्ने पो हो कि भन्ने कुराले ज्यान गलाउँछ । भोकनिन्द्रा हराउँछ । अनायासै शरीर तातेर ज्वरो आएजस्तो हुन्छ र पटक पटक निधार छाम्ने बानी बस्छ ।
यो भाइरस र यसले गर्नुपरेको लकडाउनका बारेमा हामीले कहिल्यै कल्पना पनि गरेका थिएनौं । तर आज यो तितो यथार्थलाई हामी सबैले स्विकार्न परेको छ। यसले हाम्रो भूत, वर्तमान र भविष्यको प्रलय बोकेर आएको छ । केही दिन अघिसम्म सामान्य रहेको स्थिति अहिले आएर यति विकराल होला र त्यो सूक्ष्म जिवाणुसामू मानवजातिले यसरी घुँडा टेक्नु पर्ला भन्ने सोचिएको पनि थिएन । त्यस्ता घटना केबल किताबमा पढिएको थियो । फिल्ममा हेरिएको थियो ।
असमर्थ भएपनि मैले अहिले कोरोनाले भित्र्याएको तिक्ततालाई नकार्न कोसिस गरिरहेकी छु । सामाजिक सन्जाल र अनलाइन पत्रपत्रिकामा समाचार पढ्न कम गरेकी छु । टिभीमा पनि मनोरञ्जन र ज्ञानगुनका कुरा बढि हेर्ने गर्छु । धेरैका लकडाउन डायरीज पढ्छु। सहरमा बस्ने साथीहरूको दिनचर्याका बारेमा सोध्छु । ती कुरा पढ्दा र सुन्दा लाग्छ, यो समयमा धेरै कुराहरु मेरा लागि उनीहरूको भन्दा सहज छन् । शहरमा बस्नेलाई भन्दा मलाई दिन काट्न अलि सजिलो छ। बाहिर निस्कन छुट छ ।
मेरो घर बजार क्षेत्रबाट अलि पर पर्छ । चराहरुको चिरबिर र भाले बासेको आवाजले यहाँका मानिसहरुको दिन सुरु हुन्छ । गाईबस्तु भएका छिमेकीहरु हातमा बाल्टी लिएर दूध दुहुन गोठतिर जान्छन् । चैतमासको घाम पोल्ने नहुँदै घाँसदाउरा काट्न खरबारी र वनतिर लाग्छन् । मकै लगाउन मल र हलोजुवा लिएर गोरु खेद्दै खेतबारी जोत्न कस्सिन्छन् । करेसाबारीमा तरकारी लगाउन तल्लिन हुन्छन् ।
कोरोनाको त्रास भएतापनि यहाँ कोहीले सपना देख्न छोडेका छैनन् । यहाँका मानिसको दिनचर्या र जीवन देख्दा मर्नुको डर कसैलाई पनि छैन ।
र, कोरोनाले यो ठाउँलाई छुनै सक्दैन कि जस्तो लाग्छ । खेती गरेर जीवन गुजारा गर्ने मेरो ठाउँका सबैलाई कोरोनाले भन्दा असिना र बाँदरले गर्ने क्षतिले बढि सताउँछ । असिनाले तरकारी छियाछिया पारिदिँदा रातदिन खटेर, पसिना बगाएर तरकारी उब्जाउनेहरुको मुटु छियाछिया हुन्छ ।
हामीले पनि केही दिन अगाडि खेतमा मकै लगायौँ । बारीमा काँक्रा, घिरौँला, लौका, करेला, इस्कूस र सिमि सार्यौँ । अब केही दिनपछि ती लहरेबालीलाई थाँक्राको सहारा दिन जुट्नुपर्छ । ममीका लागि यो लकडाउन स्कुलको वार्षिक परिक्षा पछि हुने बिदा सरह नै छ । बारीमा जानु उहाँको लागि समय बिताउनु र समयको सदुपयोग गर्नु हो ।
त्यसैले दिनमा एक पटक त बारीमा गएर केही गर्नु हुन्छ नै । काँक्रा वरपर उम्रिएका झार उक्काउनु हुन्छ । गोडमेल गर्नु हुन्छ। तरकारीमा पानी हाल्नु हुन्छ । समाचार मात्र हेर्दा उहाँपनि दिक्क पर्नु भएको छ। त्यसैले भाइ र मैले जे हेर्छौँ त्यही हेर्नु हुन्छ । यो बेला ‘तारक मेहेताका उल्टा चस्मा’ भने तिनै जनाले हेर्न रुचाउने कार्यक्रम बनेको छ ।
यतिबेला मलाई बिहानमा क्याम्पस जानु परेको छैन तर अहिले त्यो समय सुतेरै बित्ने गरेको छ। यो समयले मलाई अझ बढी अल्छी बनाएको छ। मरिन्छ कि भन्ने कुराले आजकल ज्यादै पिरोल्ने भएकोले एकचित्त भएर लेख्न र पढ्न पनि सकिरहेकी छैन । अरु समयमा जस्तो घुम्न, साथीहरुसँग जमघट गर्न र रमाइलो गर्न पाएकी छैन । नजिकै भएकी साथीकहाँसम्म पनि गएकी छैन । जानु पनि भएन । भाइको एस्ई .ई. स्थगित भयो ।
सरकारले अन्तिम घडिमा आएर त्यो निर्णय गरेको साँझ ऊ परीक्षाकै तयारीमा थियो । मैले समाचार हेरेर स्थगित भएको खबर सुनाउँदा उसलाई विश्वास गर्नै मुस्किल भएको थियो । उसको मलिन अनुहार देखेर थाहा हुन्थ्यो कि ऊ त्यो खबरले खुसी थिएन । भाइ भन्दा धेरै चिन्तित र दुखी ममी देखिनु हुन्थ्यो । परीक्षा सकिएपछि घरमा इन्टरनेट जोड्ने सोचेका थियौँ । तर न परीक्षा भयो न इन्टरनेट । भाइलाई अहिले समय बिताउनै मुस्किल भइरहेको छ ।
इन्टरनेट नहुनाले मैले धेरै कुराहरु मिस गरिरहेकि छु जस्तो महसुस हुन्छ । मैले मलाई मन पर्ने अमेरिकी सिरिज ‘द ट्वाइलाइट जोन’ हेर्न पाउँदिन । बुक क्लबका साथीहरूले बेलाबेलामा मुभी, नाटक र किताबका लिङ्कहरु सेयर गरिरहन्छन् । भिडियो कलमार्फत बुक डिस्कसन गर्छन् । मैले यी सबै कुराहरु गर्न, हेर्न र टचमा रहन पाउँदिन । समयसँग चलिरहेकी छु जस्तो पनि लाग्दैन । तर यी सबै बेफाइदावाला कुराहरु हुन् । इन्टरनेट नहुनुका फाइदा पनि त धेरै छ्न् । र, सायद म नहुनुमा बढि खुसी छु ।
प्रकृतिमा रमाउने कुरामा लकडाउन मेरा लागि अन्य दिनहरु भन्दा भिन्न छैन । मैले आफूलाई बाहिर निस्कनबाट रोक्न सकिरहेकी छैन किनकी यतिबेला प्रकृति हद भन्दा धेरै रमाइरहेछ । सायद हामी घरभित्र बसेर ? कारण जे होस्, मिठास पहिलेको भन्दा बेग्लै छ । मेरो घर वरपर थुप्रै रुखहरु छन् । तिनको शितल छहारीमुनि बसेर पुस्तक पढ्नु र डायरी लेख्नुको मज्जा नै बेग्लै छ । यो लकडाउन डायरी पनि मैले तिँजुको रुखमुनि बसेर लेखेकी हुँ ।
कहिले भर्खरै पालुवा पलाएर सजिएका रुख, रङ्गीविरङ्गी फुलमा डुलेका चरा, पुतली र माहुरी, हरियाली वातावरण र निलो आकाश नियाल्दै र फोटो खिच्दै दिन जान्छ । कहिले मकैका फुलाजस्ता बादलहरुमा कल्पनाका अनुहार खोज्दा समय बितेको पत्तै हुँदैन । मलाई हावाले बाँसका पात हल्लाउँदा निस्किएको आवाज र कोइलीको कु‘।।हुञ्कु‘।। हु सुन्न निकै मन पर्छ । यसरी म एकान्तमा बसेर प्रकृतिमा हराउँछु र केहिबेर सबै कुरा बिर्सने कोशिस गर्छु । कोरोना पनि ।
यो मौसममा ऐंसेलु, काफल, तिँजु र कुटुलकोसाले बजारबाट किनेर ल्याउनु पर्ने फलफूलको अभाव मेटाइदिन्छन् । ऐसेलु खान जाँदा सानी बहिनी लिना मसँगै आउँछे । कोरोनाको त्रासले गर्दा ऊ पनि घरबाट त्यति निस्किन पाएकी छैन । उसलाई कोरोनाको बारेमा त त्यति थाहा छैन तर घरबाट बाहिर ननिस्कने र मानिसहरुसँग दूरी राख्नु पर्छ भन्नेचाहिँ थाहा छ।
यतिबेला म पनि उसका लागि अन्य मानिस जस्तै भएकी छु। सँगै हिँड्दा सुरुमा त, ‘मलाई नछुनु है, म पनि तपाईंलाई छुन्नु’ भन्छे । ति साना हातले भेटुन्जेल ऐसेलु आफैँ टिप्छे तर नसके पछि मैले नै टिपेर दिनु पर्छ । मसँग हिँड्दा, मेरा कुरा सुन्दा र आफ्ना कुरा सुनाउँदा उसले आफूले सुरुमा भनेको कुरा बिर्सिन्छे । या भनौँ, बिर्सिदिन्छे। ऐसेलु खानका लागि । मसँग खेल्नका लागि । फोटो र भिडियो खिच्नका लागि । छुट्ने बेला, ‘घर गएर हात धुनु है’ भन्छे । म हाँस्दै, ‘हवस् हजुर’ भन्छु। यसरी ऊ मसँग रहँदा मलाई मेरो बाल्यकालको स्मरण गराइदिन्छे । उसँग खेल्दा र बस्दा म फेरि सानी हुन्छु । उसमा मैले आफ्नै छायाँ देख्छु ।
मेरो ठाउँमा लकडाउनको पूर्ण रुपमा पालना भएको छ त म भन्न सक्दिन तर छरछिमेकमा सामाजिक दूरी भने कायम गरिएको छ ।
पहिला बिदा र फुर्सदको समयमा वरपर सबैका घरहरुमा जाने, गफ गर्ने, छ्लफल गर्ने गरिन्थ्यो तर आजकल त्यो सबै बन्द भएको छ ।
हामीहरु कोहि पनि अति आवश्यक परेको समयमा बाहेक अरु बेला एकअर्काको घरमा जाँदैनौ । दूध र तरकारी लिन र पसलमा जाँंदा थप सतर्क हुन्छौँ ।
शारीरिक दूरी कायमै राखेर देश विदेशका परिस्थितिका बारेमा छलफल गर्छौँ जहाँ धेरै जस्तो कुरा कोरोना कै हुन्छन् ।
यो महामारीको बेलामा सरकारले उपयुुक्त कदम चाल्न नसकेको कुरामा असन्तुष्टि पनि व्यक्त गर्छौँ । टाढैबाट कुरा गरेर एकअर्कालाई ढाडस दिने काम गर्छौं ।
च्याटमा मेरा साथीहरुले बेलाबेलामा गुनासाहरु पोखिरहन्छ्न् – थ्रेडिङ गर्न नपाएको, मस्म खान नपाएको, मोटाएको, भित्र बस्दा बस्दा वाक्क परेको, मोबाईल धेरै हेरेर आँखा र टाउको दुखेको आदि इत्यादी । मलाई भने मेरा दाँतको बडो पिर परेको छ। डिप बाइटिङ्गको समस्याले गर्दा दुई महिना अघिमात्र यिनलाई तारले बाँधिएको थियो। लकडाउन सुरु भएको केही दिन पछि फलो अप थियो। तर, अहिले डेढ महिना भयो क्लिनिक नगएको। बेलाबेलामा दुखेको जस्तो लाग्छ। बढी दुख्यो भने खपेर बस्नु हुँदैन।
असहज परिस्थितिमा हामी सबैलाई आफ्नै समस्या ठूला लाग्छन् । आफ्नै कथा र अवस्था महत्त्वपूर्ण भएजस्तो लाग्छ। मलाई पनि त्यस्तै लाग्छ र यो कुरा स्वभाविक पनि हो। तर मेरो विचारमा कोरोनाले हामीमाझ उत्पन्न गराएको त्रास र भावना एउटै छ जुन हरेक मानवजाती चाहे त्यो अमेरिकाजस्तो विकसित मुलुकको होस् या नेपालजस्तो विकासोन्मुख देशकै किन नहोस्, एकअर्कासँग साट्न सकिन्छ। कथन गर्न सकिन्छ। बुझ्न सकिन्छ। र, एउटै कामना गर्न सकिन्छ- कोरोनाबाट उन्मुक्तिको।
अहिले हामी सबैजना त्यो दिनको पर्खाइमा छौँ जुन दिन कोरोनाले पिँजडा जस्तो बनेको हाम्रो घरको ढोका उघारिदिनेछ र स्वयम् यो संसारबाट बिदा हुनेछ । त्यो दिन, यो पृथ्वी र हामी मानवजातिका लागि स्वतन्त्रता दिवस हुनेछ। हाम्रो फेरि जन्म हुनेछ। हामी नयाँ विश्वमा प्रवेश गर्नेछौँ । यो सताब्दिकै सबैभन्दा कठिन समय पार गर्नेछौँ । यो समयले सिकाएको पाठलाई बुझेर फेरि आफ्ना प्रियजनसँग रमाउनेछौँ । घुम्न निस्कनेछौँ ।
स्थिति सामान्य भएपछि मचाहिँ सर्वप्रथम दाँत देखाउन क्लिनिक जानेछु। त्यसपछि मम: खाएर घर फर्किनेछु ।