 
                            ओलम्पियन एवं एथलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायालाई लकडाउनको एक महिनासम्म खासै चिन्ता लागेन । जुम्ला सदरमुकाम खलङ्गामा उहाँ नियमितरूपमा व्यायाम गर्दै आउनुभएको छ । खेलाडीलाई पनि व्यायाम गराउँदै आउनुभएको छ । रोकायाले लकडाउनको ख्याल गर्दै बिहानको समयमा व्यायाम गराउँदै आउनुभएको हो । अब भने प्रशिक्षक रोकायालाई कोरोना भाइरस सङ्क्रमणको खतरा आभास हुन थालेको छ । उहाँ भन्नुहुन्छ, “अब खतरा बढ्यो, बाहिरबाट मान्छे गाउँमा ह्वारह्वारती आउन थाले ।” बाहिरबाट नयाँ मान्छे कोही नआउँदासम्म गाउँमा कोरोना भाइरस भित्रिन नसक्ने रोकायाको बुझाइ छ । एक सातायता जिल्लाभर बाहिरबाट सर्वसाधारण आउने क्रम ह्वात्तै बढेको उहाँले बताउनुभयो ।
“अहिलेसम्म त सुरक्षित नै थियौँ, अब खतरा बढ्यो”, जुम्लाको खङ्गाबाट रोकायाले फोनमा भन्नुभयो । देशका विभिन्न ठाउँ तथा भारतबाट घर फर्कनेको सङ्ख्या बढेकामा उहाँ चिन्तित हुनुहुन्छ । अहिलेसम्म ढुक्कसित व्यायाम गर्दै आएकामा अब भने यसबारे उहाँलाई सोच्न बाध्य बनाएको छ । गाउँमा बाहिरबाट सोझै नयाँ व्यक्तिलाई आउन दिन नहुने ओलम्पियन रोकायाको धारणा छ । यसरी नयाँ व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिने उहाँको बुझाइ छ । “गाउँमा ढुक्कसित बसेकालाई समस्या भयो, अहिलेसम्म राम्रैसित दिन बितेका थिए, अब भन्न सकिन्न”, उहाँले भन्नुभयो । भारतबाट घर फर्कनेलाई सीमामै क्वारेन्टाइनमा राख्नुपर्ने रोकाया बताउनुहुन्छ । सीमामा आएर अलपत्र परेकालाई नेपाल भित्र्याउनु पर्ने तर क्वारेन्टाइनमा राखी अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सीमाको क्वारेन्टाइन सकिएपछि गाउँमा यत्रतत्र जानबाट रोक्नुपर्ने उहाँको सुझाव छ ।
अहिले काठमाडौँ तथा देशका अन्य ठाउँबाट सर्वसाधारण धमाधम घर फर्कन लागेका छन् । गाउँपालिका र नगरपालिकाका प्रतिनिधिबीच होडबाजी नै चलेको छ । यसरी घर फर्केकाहरु गाउँको क्वारेन्टाइनमा बस्न मानेका छैनन् । उनीहरु घुमघाममा ब्यस्त छन् । ओलम्पियन रोकाया यसलाई अबको खतराको सूचक मान्नुहुन्छ । “सरकारले घोषणा गरेको लकडाउनको सबैले पालना गर्नुपर्छ”, उहाँले भन्नुभयो । गाउँमा नयाँ मान्छे आए नआएको रोकायाले आफ्ना खेलाडीबाट जानकारी लिन बिर्सनु हुन्न । “नयाँ व्यक्ति आए क्वारेन्टाइनमा अनिवार्य राख्न लगाउन खेलाडीलाई भन्दै आएको छु”, रोकायाले भन्नुभयो । खेलाडीलाई सकभर घरमै व्यायाम गर्नका लागि उहाँको सल्लाह रहने गरेको छ । “घरमा बस्दा बस्दा दिक्क भयो भन्दै बिहान केही बेर खुला ठाउँमा व्यायाम गर्न आउने गरेका छन्”, उहाँले भन्नुभयो, “पहिला जस्तो अभ्यास गरेका छैनौँ, खेलका लागि तयारी अवस्थामा राख्न व्यायाममा जोड दिएका छौँ ।” रोकाया वर्षभरि प्रशिक्षणमै व्यस्त रहने प्रशिक्षक हुन् ।
उहाँ कहिल्यै त्यत्तिक्कै बस्नुहुन्न । हत्तपत्त जुम्ला छाड्नुहुन्न । छोडी हाले पनि आफ्नो नियमित व्यायाम भने गरिरहनु हुन्छ । खेलाडी सधैँ उहाँको सम्पर्कमा रहन्छन् । लकडाउनपछि भने रोकायाको दिनचर्या अलिक फेरिएको छ । बिहानको बाहेक अन्य समय उहाँ खेतबारीमै बिताउनुहुन्छ । “दिनमा कोही पनि सकभर सुत्न हुन्न”, रोकाया भन्नुहुन्छ, “करेसाबारीमा काम गरेर भए पनि आफुलाई फुर्तिलो बनाउनु पर्छ ।” केही समय घरछेउमै सञ्चालन गरिएको मिलका लागि खर्चिनु हुन्छ । कर्णाली स्पोर्ट्स क्लबका सदस्यहरुले मिलेर उक्त मिल सञ्चाल गरेका हुन् । त्यहाँ सातु र धान कुटानी पिसानी गरिन्छ । “यो काम पनि दूरी कायम गर्दै आएका छौँ”, रोकायाले भन्नुभयो । यसबाट सङ्कलन भएको रकम खेलाडीका लागि खर्च गरिन्छ । क्लबको आफ्नै चार कोठे भवन छ । जहाँ खेलाडीलाई बस्ने खाने व्यवस्था गरिएको छ ।
अहिले लकडाउनका कारण रोकायाले यहाँ बस्दै आएकालाई घर पठाउनुभएको छ । कीर्तिमानी धावक रोकायाले सन् १९८८ मा दक्षिण कोरियाको सोल र सन् १९९२ मा स्पेनको बार्सिलोनामा सम्पन्न ओलम्पिकमा नेपालबाट भाग लिनुभएको थियो । उहाँ २०५२ सालदेखि भने जुम्लामा एथलेटिक्स प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । लकडाउनअघि उहाँले सात वर्षदेखि २२ वर्ष उमेरका झण्डै ४५ खेलाडीलाई अभ्यास गराउँदै आउनुभएको थियो । हाल श्रीमतीका साथ बस्दै आउनुभएका उहाँका जेठो छोरो यज्ञबहादुर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सक हुनुहुन्छ भने कान्छो छोरो हिक्मतबहादुर श्री एयरलाइन्समा पाइलट हुनुहुन्छ । “घरमा लकडाउनको पूर्ण पालन गरेको छु, कोही पनि नयाँ व्यक्ति घरमा आउजाउ गर्न दिएको छैन”, रोकायाले भन्नुभयो । लकडाउनको पालना गरे कोरोना भाइरसको महामारीबाट जोगिन सकिनेमा उहाँ विश्वस्त हुनुहुन्छ

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    