महिलापुरुष काम एकैः ज्याला चाहिँ भिन्दै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, बैशाख १७, २०७७

  • कपिलवस्तु, १७ बैशाख । बन्दाबन्दीका समयमा पनि कपिलवस्तु जिल्ला वाणगङ्गा नगरपालिका–८ मोर्मीकी शुभावती थारु घर निर्माणका काममा व्यस्त हुनुहुन्छ । काम नगरे छाक टार्न धौधौ पर्ने भएकाले उहाँ दैनिक पर्खाल लगाउने र प्लाष्टर गर्ने काम गर्नुहुन्छ । सोह्र वर्षदेखि सिमेन्ट, बालुवा, छड र गिट्टीसँगै खेल्ने थारुलाई बानी परेको छ । थारु अहिले निर्माण क्षेत्रमा घर बनाउने दक्ष मिस्त्री भइसक्नुभएको छ ।

     

    पुरुष मिस्त्रीसरह काम गरे पनि ज्यालामा विभेद हुने गरेको थारुको गुनासो छ । “शुरुमा काम गर्दा पुरुष मिस्त्री मात्रै थिए । अहिले उनीहरुजत्तिकै काम गर्छु तर ज्याला कम पाउँछु,” थारु भन्नुहुन्छ, “पुरुष भएकै कारण सँगै काम गर्नेले रु ८ सयदेखि ८५० सम्म पाउँछन्, म रु पाँच सय मात्रै पाउँछु ।” पटकपटक काम एउटै भएपछि ज्याला समान दिन माग गरेपनि सुनुवाइ नभएको थारुको गुनासो छ । घरमा श्रीमान्को मृत्युपछि आम्दानीको बाटो हराएकाले तीन छोरीको लालनपालन र शिक्षाका लागि घर निर्माणको काम गर्न थालेको उहाँको भनाइ छ । थारु भन्नुहुन्छ, “धेरै भनिरहँंदा कामबाटै हात धुनुपर्छ कि भन्ने डर लाग्छ, अहिले त ठेकेदारले दिएको लिएर जानुबाहेक विकल्प छैन । ” दिनभरि कमाएको पैसाले घरखर्च चलाउनसमेत गाह्रो भएको थारु बताउनुहुन्छ ।

     

    अन्य आम्दानीको स्रोत नहुँदा श्रीमान्को अभावमा उहाँलाई परिवार धान्न निकै समस्या छ । “घरमा छोरीहरु छन्, उनीहरुको पढाइ खर्च बढिरहेको छ, आफूले कमाएअनुसार ज्याला पनि पाइन्न”, थारु भन्नुहुन्छ, “कमाएको जति पैसा छोरीहरु पढाउन र घरखर्चमै सकिन्छ । ” घर निर्माणकै क्षेत्रमा मजदूरी गर्दै आउनुभएका गौरी चौधरीको पनि गुनासो उस्तै छ । दिनभरि पुरुषसरह खटेर काम गर्दा पनि चौधरीले कहिल्यै समान ज्याला पाउनुभएको छैन । एउटै श्रम गर्ने पुरुषले दैनिक ज्याला रु ५१० पाउँदा चौधरीको हातमा रु ४७० मात्र पर्छ । सात वर्षदेखि निर्माण क्षेत्रमा मजदूरी गर्दै आउनुभएका चौधरी घरको तीनचार तला माथिसम्म सिमेन्ट बोक्ने र अन्य सामग्री पु¥याउनुहुन्छ ।

     

    “दिनभरि ५० किलोका सिमेन्टका बोरा बोक्नुपर्छ तर दिनेबेलामा मलाई थोरै पैसा दिन्छन्, साह्रै चित्त दुख्छ”, उहाँ भन्नुहुन्छ, “ महिलालाई हेपेर त होला, होइन भने पैसा बुझ्ने बेला ४० रुपैयाँ कम दिन्छन् ।” त्यस्तै समस्या वाणगङ्गाकी मजदूरी गर्ने विष्णु थारुले पनि वर्षाैँदेखि भोगिरहनुभएको छ । पुरुषसरह काम गरे पनि ज्याला कहिल्यै समान नपाएको उहाँको गुनासो छ । “मेरो इमानदारीको फाइदा उठाएर ज्यालामा शोषण गर्छन्, यो मैले राम्रोसँंग बुझेकी छु तर कसलाई भन्ने, ठेकेदारलाई भन्यो भने कामबाटै निकालिदिने हो कि भन्ने डर लाग्छ ”, थारु गुनासो गर्नुहुन्छ । महिला भएकै कारण ज्यालामा विभेद हुँदा मजदूर संघसंगठनले पनि खासै आवाज उठाएको पाइँदैन । नेपाल ट्रेड युनियन महासंघ वाणगङ्गाका अध्यक्ष भोजराज थारुले विभेदविरुद्ध सबैले आवाज उठाउनुपर्ने प्रतिक्रिया दिनुभयो । “महिलाले धेरै काम गर्न सक्दैनन् भन्ने कमजोर मानसिकताले गर्दा विभेद भएको हो, अब त्यस्ता मजदूरहरु संगठित भएर आवाज उठाउनुपर्छ ।”

     

    यस्तो असमानता शहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमा धेरै रहेको उहाँको भनाइ छ । वडा नं १ का वडाध्यक्ष बालकुमारी पन्त पनि विश्व श्रम सङ्गठन र नेपालको संविधानले श्रम विभेद नगरेको उल्लेख गर्दै विभिन्न वडामा भएको यो समस्याबारे आफूले आवाज उठाउँदै आइरहेको जानकारी दिनुभयो । महिला अधिकारकर्मी इन्दिरा भट्टराईले पटकपटक आफूहरुले आवाज उठाइरहेको तर पीडित श्रमिक महिलाले सम्बन्धित निकायमा आफ्नो गुनासो नराखेकाले समस्या जहाँको तहीँ रहेको हो भन्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार