कोरोना सङ्क्रमित १५ जना आइसोलेशनमा


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख २२, २०७७

  • बाँके, २२ वैशाख । नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितहरुको उपचारको व्यवस्था मिलाइएको छ ।

    बाँकेको नेपालगञ्जमा पहिलो पटक भेटिएका सङ्क्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा रहेकामध्येबाट स्वाब सङ्कलन गरी परीक्षण गर्दा आइतबार थप १५ जनामा सङ्क्रमण देखिएको थियो ।

    ती सबै जनालाई कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताए । बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमितमा सातजना महिला रहेका छन् ।

    सङ्क्रमितको उमेर समूहमा ७, ३०, ४०, ५०, ५५, ५८ र ६० वर्षका रहेका छन् । अन्य सङ्क्रमित आठजना पुरुषमध्ये १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ वर्ष उमेर समूहका रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा शनिबार सङ्कलन गरिएको स्वाब नमूनामध्ये ५५ जनाको मात्र नतिजा आएको ३५ जनाको नतिजा आउन बाँकी रहेको छ ।

    आइतबार थप चारजनाको स्वाब सङ्कलन गरिएको र त्यसको पनि नतिजा आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले राससलाई जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार