पर्यटनमन्त्रीले राजीनामा दिनुपर्छ


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, जेष्ठ २४, २०७७

  • किरण तिम्सेना

    पर्यटन मन्त्री नियुत्त हुनुअघि योगेश भट्टराईसँग धेरै अपेक्षाहरू थिए । युवा, जुझारू, लामो राजनीतिक जीवन बोकेका, प्रष्ट वक्ता, उर्जा र उत्साह बोकेका व्यक्ति भएर पनि उहासँग जनअपेक्षा बढी नै थिए ।

    सत्ताले सबैको परीक्षा लिन्छ । योगेश भट्टराई हुन् या घनश्याम भुसाल । समयले त्यो देखाईसकेको छ । यहाँ चर्चा गर्न लागिएको पर्यटन मन्त्री योगेश भट्टराईका बारेमा हो ।

    यतिबेला कोरोना कहरका कारण सबै क्षेत्रमा प्रत्यक्ष असर परेको छ । त्यसमा पनि नेपालको पर्यटन क्षेत्र अझ कोमामा पुगेको अवस्था छ । बर्तमान परिस्थितिमा पर्यटन क्षेत्रमा आबद्ध श्रमिक, साना तथा मझौला व्यवसायी या समग्र रूपमा पर्यटनमा आबद्ध सवै पर्यटनकर्मीहरूका समस्याहरू नयाँ नयाँ रूपमा अगाडी आईरहेका छन् । समस्याहरूलाई पहिचान गरि समस्याको समाधान बेलैमा नखोज्दा पर्यटन क्षेत्रबाट दक्ष व्यावसायी र श्रमजीवीहरु पलायन हुने अवस्था देखिएको छ । जसको प्रत्यक्ष असर यो क्षेत्रमा लामो अबधिसम्म रहनेछ ।

    “पुँजि हुनेले पुँजी लगानी गर्छ, पुँजी नहुनेले मानसिक वा शारीरिक श्रम लगानी गर्छ । राज्यले पुँजिपतिको संगठनको संरक्षण गर्ने र श्रमिकहरुको संगठनको घाँटी निमोठ्ने कामले पर्यटन क्षेत्रमा सन्तुलन कायम गर्न सकिदैन । राज्यले बजेटमार्फत केहि ठूला घरानाका ब्यापारीलाई मात्र फाइदा हुने गरी राहत प्याकेजको घोषणा गरेको छ । प्याकेजले पर्यटन क्षेत्रका महत्वपूर्ण अंग साना र मझौला व्यवसायी, औपचारिक तथा अनौपचारिक श्रमजीवीलाई समेट्न सकेको छैन । राज्यले राहत पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्दा अनि लकडाउन सुरु हुनुभन्दा दुई महिनाअघि देखि नै बेरोजगार रहनुपरेकोले अनौपचारिक श्रमिकहरुको स्थिति दयनीय भएको छ । औपचारिक श्रमजीवीहरूले पनि तलब नपाएको गुनासो गरेका छन् ।

    कतिपयले त जागिरबाट हात धुनुपरेको स्थिति छ । यस्तो विषम परिस्थितिमा आफुले नेतृत्व गरेको मन्त्रालय अनि आफ्नो दायित्वबाट पर्यटनमन्त्री पुर्ण रुपमा पन्छिएका छन् । उहाको भिजन कार्यशैली, तौर तरिका आन्द्रा भुँडी सबै केलाएर हेरिसकेका छन् । जनताले भद्रगोल पाराको राहत प्याकेज घोषणा भैसकेपछी यो प्याकेजमा सबैलाई किन समेट्न सकिएन भनेर प्रश्न गर्दा उनी मौन छन् ।

    जिम्मेवार व्यक्ति नै मौन रहँदा लाखौंको मनमा आशलाग्दा भनिएका युवा मन्त्री माननिय योगेश भट्टराई अहिले सबैको नजरमा निरासाको पात्र बनेका छन् । अर्थमन्त्री सँग ट्युनिङ नमिलेको भन्दै पन्छिन खोज्दा उनको गैरजिम्मेवारीपना स्पष्ट झल्किएको छ ।

    भिजनको नाममा दुई चार थान दलाल पुँजिपतिहरुले दिएका साना र मझौला व्यावसायी र श्रमजीवी वर्गलाई अप्ठ्यारोमा पार्ने नालायक तिकडम मात्रै राखेर राहत प्याकेज घोषणा गर्नु भनेको समग्र पर्यटन क्षेत्र माथी अन्याय हो । धोका हो । अहिले बजेटमार्फत सम्बोधन गरिएको राहत प्याकेजले श्रमजीवी, साना र मझौला ब्यबसायी या जो पर्यटनमा आश्रय लिएर जिबिकोपार्जन गरिरहेका छन् । उनीहरुको भलाइ हुदैन । यो पाराले पर्यटन उद्योग नै समाप्त हुन सक्छ । मजदुर डुबिसके, ब्यापारी सबै चौपट हुन्छन् । बेलैमा सोचौं । पर्यटनको नेतृत्व अनाडीको हातमा छ ।

    लाखौ बेरोजगार जनशक्तिलाई उचित सम्बोधन नहुनु, साना र मझौला व्यवसायी मुखी राहत घोषणा नहुनु अनि सिमित ठूला व्यवसायीलाई मात्र लाभ हुनेगरी कार्यक्रम घोषणा गर्नुमा कतै न कतै नियतमा खोट देखिन्छ । नियतमा खोट हुने जनप्रतिनिधीले गर्ने निर्णयहरु अक्सर समाजका लागि घातक हुन्छन् । जिम्मेवारी निभाउन नसक्ने र उत्तरदायी हुन नसक्ने नेताले नेतृत्वमा रहनुको कुनै औचित्य हुँदैन । समस्याहरुको समयमै उचित सम्बोधन गर्न नसक्नेले कुर्सी ओगट्नुको कुनै अर्थ रहदैन ।
    चीनको वुहानमा कोरोना कहरले लकडाउन गर्दा होस् या विश्वका अरु देशमा कोरोना संक्रमण फैलिदा होस्, नेपाल कोरोना फ्री जोन हो, नेपाल भ्रमण गरौं भन्ने जस्ता अभिव्यक्ति दिने, कहिले २० लाख मानिस उतारेर बिमानस्थलको उद्घघाटन गर्छु भन्ने त कहिले अब लकडाउनको स्वरूपबारे सोच्नुपर्छ, लकडाउनसँग लिभिङ टुगेदरमा बस्न पर्छ भनेर अब्यबहारिक भनाइहरुबाटै पटक पटक बिबादमा आइराख्छन् ।

    जनताले स्थिरता र उचित विकासका लागि समर्थन गर्नुपर्छ मुर्खता, निष्क्रियता र अहंकारको लागि हैन । त्यसैले अब समय खेर फाल्नु हुँदैन । नयाँ बोत्तलमा पुरानो रक्सी बनिसकेकाबाट परिवर्तनको आस गर्नु बेकार हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार